राजनीति
सरकारलाई घुँडा टेकाउने आन्दोलनका कार्यक्रम ल्याउँदै एमाले

काठमाडौँ, फागुन ०७-
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गठबन्धन सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुने भएको छ । मंगलबारदेखि सुरु हुने सो पार्टीको केन्द्रीय कमिटी बैठकमार्फत निर्णय गर्दै सरकारविरोधी आन्दोलनको तयारीमा जुटेको एमालेले सदनदेखि सडकसम्मका आन्दोलनका कार्यक्रमहरु तय गर्ने भएको हो ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकमा पेस हुने ६ वटा एजेण्डा तय भएको जानकारी दिए । सचिवालयको निर्णय र सुझाव अनुसार केन्द्रीय कमिटी बैठकमा पेस हुने मुख्य ६ वटा एजेण्डा तय गरेको गौतमको भनाइ छ ।
गौतमका अनुसार पहिलो एजेण्डामा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीति परिस्थितिबारे जानकारी दिनेगरी सम्बोधन गर्ने, दोस्रो सांगठानिक कामको समीक्षा, एजेण्डामा समग्र सांगठानिक कामको समीक्षा, तस्रोमा संगठन शुद्धीकरण तथा सुदृढीकरण कार्यक्रमको अवधारणा, चौथोमा जनआधारित कार्यकर्ता पार्टी निर्माणमा देखिएको समस्या र समाधानका उपाय,पाँचौँमा जनपरिचालन र जनदबाबका एजेण्डा रहेका छन् ।
एमाले केन्द्रीय समितिको छैटौँ एजेण्डामा समसामयिक प्रस्तावमाथिको छलफल रहेको गौतमको भनाइ छ ।

























