स्वास्थ्य

मस्तिष्कको क्षमता बढाएर यसलाई स्वस्थ र तेजिलो कसरी बनाउने ?

Banner

काठमाडौँ, फागुन ७-

संसार द्रुत गतिमा बदलिरहेको छ, प्रविधिहरू दिनदिनै परिष्कृत बन्दै गइरहेका छन् भने हाम्रो दैनिक जीवनमा निरन्तर परिवर्तन भइरहेका छन् । अहिले हामी जेजे गरिरहेका छौँ त्यो सबैका लागि भनेर हाम्रो दिमाग बनाइएको थिएन । तर पनि हामीले आफूलाई यस आधुनिक संसारमा राम्रो ढालेका छौँ । लगातार भइरहने परिवर्तनअनुसार आफूलाई बदलिरहेका छौँ ।

यो सबै हाम्रो मस्तिष्कको कारणले सम्भव भएको हो । मस्तिष्क एउटा यस्तो अंग हो जोसँग स्थिति अनुसार आफैलाई ढाल्ने, सिकाउने र विकास गर्ने व्यापक क्षमता छ । तर यति बेला प्रश्न भने हामीले यो अद्भुत अंगलाई कसरी स्वस्थ राख्न सक्छौँ ? भन्ने उब्जिएको छ । के कुनै यस्ता उपाय छन् त जसबाट हामीले मस्तिष्कको क्षमता बढाएर यसलाई तेजिलो बनाउन सक्छौँ ? यी प्रश्नहरूको जवाफ खोज्न बीबीसीका विज्ञान पत्रकार मेलिसा होगेनबुमले नयाँ अनुसन्धान अध्ययन गरेकी थिइन् भने केही विशेषज्ञहरूसँग कुरा पनि भएको थियो ।

बेलायतको सरे विश्वविद्यालयमा क्लिनिकल मनोविज्ञानका प्राध्यापक थोरस्टेन बर्नहोफरका अनुसार मस्तिष्कको क्षमतालाई धेरै तरिकाले बढाउन सकिन्छ । “केही यस्ता प्रक्रियाहरू छन् जसले केही हप्तामै तनाव कम गर्छ अनि न्यूरोप्लास्टिसिटीलाई बढाउँछ । न्यूरोप्लास्टिसिटीलाई बढाएर डिमेन्सियाजस्ता रोगहरूलाई टार्न सकिन्छ । मनोवैज्ञानिक आघातबाट हुने मस्तिष्कको क्षतिलाई समेत कम गर्न सकिन्छ ।’ उनी भन्छन् ।

के हो न्यूरोप्लास्टिसिटी ?

प्लास्टिसिटी हाम्रो मस्तिष्कको त्यस्तो क्षमतालाई भनिन्छ जसमा यसले बाहिरबाट प्राप्त हुने सूचनाका आधारमा आफैमा परिवर्तन ल्याउँछ । न्यूरोप्लास्टिसिटी भनेको हाम्रो मस्तिष्कमा रहेको न्युरोन्स (जसलाई नर्भ सेल पनि भनिन्छ) मा निर्माण हुने र परिवर्तन हुने कनेक्सन हो । मानव मस्तिष्क एक न्यूरल वायरिङ सिस्टम हो । मस्तिष्कमा अरबौँ न्यूरोन्सहरू हुन्छन् । आँखा, कान, नाक, मुख र छालाजस्ता हाम्रा ज्ञानेन्द्रियहरूले मस्तिष्कसम्म बाहिरबाट आएका सूचनाहरू पुर्‍याउँछन् । यो सूचनाहरू न्यूरोन्सबीच कनेक्सन भएपछि जम्मा भएर बस्छ ।

हामी जन्मिएको बेलामा हामीमा यी न्यूरोन्समा निकै कम कनेक्सन हुन्छ । रिफ्लेक्स गर्ने कनेक्सन पहिलादेखि नै हुन्छन् । तातो वस्तुमा हात पर्‍यो भने एउटा सानो बालकले समेत हात पछाडि तानिहाल्छ । तर सर्पलाई भने समात्नै जान्छ वा समातेर मुखमा समेत हाल्न खोज्छन् । उसको दिमागमा सर्प खतरनाक हुन सक्छ भन्ने कनेक्सन बनेको हुन्न । बच्चाले बिस्तारै सिक्दै जान्छ अनि न्यूनरल कनेक्सन बन्दै जान्छ ।

नयाँ नयाँ अनुभवसँगै यी कनेक्सनहरू पनि परिवर्तन भइरहन्छन् । यो सम्पूर्ण प्रक्रियालाई न्यूरोप्लास्टिसिटी भनिन्छ । मान्छेहरूले सिक्ने, अनुभव बटुल्ने र यादहरूलाई थुपारेर राख्नुमा पनि यही प्रक्रियाले काम गर्छ ।

कसरी बढाउन सकिन्छ न्यूरोप्लास्टिसिटी ?

प्रोफेसर थोरस्टेन बर्नहोफरका अनुसार मन भड्किन थालेपछि तनाव बढ्छ । बारम्बार एउटै कुरा सोचेर चिन्ता गर्नु हानिकारक हुन्छ । यसो गर्दा कोर्टिसोल हर्मोनको स्तर बढ्छ । यो हर्मोन मस्तिष्कको लागि हानिकारक छ । यसले न्यूरोप्लास्टिसिटीका लागि बाधा उत्पन्न गराउँछ । यसबाट बच्ने उपाय भएको सजग रहनु नै हो ।

माइन्डफुलनेसको सीधा अर्थ आफ्नो वरपरको परिवेश, विचार र तपाईँको ज्ञानेन्द्रीयहरू (आँखा, कान, नाक, मुख, छाला) बारे सचेत रहनु हो । यसको मतलब, धेरै नसोची त्यस्तो समयमा आफूले के महसुस गरिरहेको छुँ भन्नेमा ध्यान दिने भन्ने हुन्छ । सरल भाषामा बुझ्ने हो भने, माइन्डफुलनेस भनेको हाम्रो ज्ञानेन्द्रियहरूबाट बाहिरबाट दिमागमा के–कस्ता सूचनाहरू आउँदै छ र भित्र रहेको जानकारी कसरी प्रयोग भइरहेको छ भन्ने कुराबारे सचेत हुनु हो । उदाहरणको लागि ध्यान । ध्यान ज्ञानेन्द्रियमा एकाग्र हुने प्रक्रिया हो । श्वासप्रश्वासमा ध्यान दिनु वा मौसम तातो छ कि चिसो, म राम्रोसँग सुन्न सक्छु कि सक्दिन, वरिपरि कुनै सुगन्ध छ कि आदिमा ध्यान केन्द्रित गर्न सकिन्छ ।

यसबाट पनि न्यूरन कनेक्सन बन्दछ । कुनै मान्छेले दिनभरमा १५ मिनेट मात्रै पनि ज्ञनेनिद्रयहरुमा ध्यान केन्द्रित गर्दछ भने उसको हिँड्ने, बोल्ने, हाँस्ने, मुस्कुराउने सबै तरिकामा परिवर्तन आउने विज्ञहरू बताउँछन् ।

न्यूरोप्लास्टिसिटीको प्रक्रियाको क्रममा मस्तिष्कको संरचना पनि परिवर्तन हुने हालै एक अध्ययनमा पाइएको थियो । यो परीक्षणका लागि मेलिसा होगेनबुमले एक पटक आफ्नो मस्तिष्क स्क्यान गराइन् । त्यसको छ हप्तासम्म उनले ध्यान गरिन् अनि फेरि स्क्यान गरिन् । अघिल्लो र पछिल्लो स्क्यानहरूको तुलना गर्दा छ हप्तामा मेलिसाको मस्तिष्कमा न्यूरोप्लास्टिसिटी बढेको पाइयो ।

मस्तिष्कको दाहिने अमिगडालाको आकार घटेको पाइयो । यो तनावमा कमीको कारण भएको थियो । चिन्ता र तनाव धेरै लिने मानिसहरूमा अमिगडालाको आकार ठुलो हुन्छ । दिमागसबन्धी तालिम दिएर पनि यसको आकार घटाइएको हामीले पहिला पनि देखेका छौँ ।

मस्तिष्कमा न्यूरोप्लास्टिसिटी बढाउन व्यायामले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् । इटालीको ‘सेन्ट्रो न्युरोलेसी’ इन्स्टिच्युटका निर्देशक प्रोफेसर एन्जेलो क्वाट्रोनका अनुसार दिनमा ३० मिनेट र हप्तामा चारदेखि पाँच दिन व्यायाम गर्ने हो भने यसले मस्तिष्कमा राम्रो प्रभाव पार्छ । युनिभर्सिटी अफ ससेक्समा तुलनात्मक संज्ञानका प्राध्यापक गिलियन फोरेस्टरका अनुसार मस्तिष्कमा हुने गतिविधि र परिवर्तनहरूको शारीरिक गतिविधिसँग नजिकको सम्बन्ध हुन्छ ।

कसैलाई बोल्न गाह्रो भइरहेको छ भने हातले इशारा गर्दै बोल्न सजिलो हुन सक्छ । बोल्न मद्दत गर्ने हाम्रो मस्तिष्कको हिस्सा हात, खुट्टा वा हातको मद्दतले काम गर्न मद्दत गर्ने हिस्साहरूसँग जोडिएको हुन्छ । भाषाको विकास इशाराबाट भएकोले पनि यस्तो हुन सक्छ ।

ध्यान बाहेक शारीरिक व्यायामले पनि तनाव कम गर्ने लन्डन विश्वविद्यालयको बर्कबेकको स्कूल अफ साइकोलोजीका डा। ओरी ओस्मीले भनेका छन् । उनी भन्छन्, ‘हाम्रो मस्तिष्कले हर समय आफूलाई परिवर्तन गरिरहेको हुन्छ । तर बच्चाहरूमा यो प्रक्रिया तीव्र गतिमा हुन्छ । सामान्य स्तरमा हात र खुट्टा चलाउने बच्चाहरू पछि राम्रोसँग बोल्न सक्ने देखिएका छ । त्यसो नगर्नेहरूमध्ये केहीलाई पछि बोल्न वा सामाजिक व्यवहारमा समस्या हुन सक्छ ।’

व्यायाम मात्र होइन, सङ्गीत वा भाषा सिक्ने जस्ता नयाँ कामले पनि न्यूरोप्लास्टिसिटी बढाउन सक्छ । जब हामी कुनै नयाँ कुरा देख्छौँ, सिक्छौँ वा सोच्छौँ तब मस्तिष्कमा नयाँ न्यूरल कनेक्सन बन्छन् । मानव मस्तिष्कले जीवनभर न्यूरल कनेक्सन बनाउन सक् छ। तपाईले ८० वर्षको उमेरमा पनि नयाँ भाषा सिक्न सक्नुहुन्छ । नयाँ ठाउँमा जानु, सधैँको एउटा दिनचर्या तोड्नु वा केही नयाँ गर्नुका धेरै फाइदाहरू छन् ।

बीबीसी हिन्दीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>