विचार/ब्लग

अमेरिकी जीवनलाई बिर्सेर देवघाटमा बस्न मन लाग्यो

Banner

डा. चन्द्र गिरी

काँकरभिट्टा–काठमाडौं आउजाउ गर्ने क्रममा रात्रिबसमा यात्रा गर्दा धेरैचोटि नारायणगढमा खाना खाएको थिएँ । थप एक पटक रामपुर क्याम्पसमा जाँदा र अर्को पटक टाँडीमा रुपेश भाञ्जाको जन्ती जाँदा यो शहर टेकेको थिएँ । नजिकै रहेको पवित्र तीर्थस्थल देवघाट जाने वर्षौं पुरानो इच्छा भने पूरा हुनसकेको थिएन ।

सन् २०२४ को जनवरीमा पारिवारिक भेटघाटका लागि चितवनको टाँडी जाने योजना बन्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलबाट हवाईजहाज निर्धारित समयभन्दा दुई घण्टा ढिलो उड्यो । प्रतिक्षालयमा पर्खिने क्रममा टी ब्यागवाला चिया मात्रै पाइने । भकभकी उमालेको मसला चिया खाने बानी, यस्तो चियाले के धीत मर्थ्यो !

जहाज भरिभराउ थियो। हिमाल देखिन्छ कि भनेर घाँटी तानी–तानी हेरेँ । मौसम त्यति क्लियर थिएन तर पनि झल्याक–झुलुक हिमालको दर्शन गर्ने सौभाग्य मिल्यो। मन प्रसन्न भइगयो। हिमाल हेरेर को मन्त्रमुग्ध नहोला र ?

जहाज करिब २० हजार फिटको उचाइमा उडिरहेको थियो। महाभारत पर्वत शृङ्खला नाघ्न लाग्दा बादलको मुस्लोले गाँज्यो । जहाज ढिकीच्याउँ ढिकीच्याउँ गर्न थाल्यो । सातो नै जाने गरी भने हैन । अलिअलि डर भने लागिरह्या े। उडेको २० मिनेटजतिमा भरतपुर विमानस्थल ओर्लेपछि बल्ल ढुक्क भयो। टाँडीका सम्धीज्यू नारायण बन एयरपोर्टमा लिन आउनुभएको थियो ।

योपालि जसरी भए पनि देवघाट दर्शन गर्न जान्छु भनेर प्रण गरे अनुसार चितवन पुगेको भोलिपल्टै हामी सपरिवार देवघाटतिर लाग्यौं । टाँडीबाट गुडेको गाडी महेन्द्र राजमार्ग हुँदै नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जलाई चिरेर अघि बढ्न थाल्यो । निकुञ्ज सकिएर भरतपुर नगरपालिका क्षेत्रमा प्रवेश गर्नासाथ महेन्द्र राजमार्ग एकाएक फराक भएको रहेछ वा फराक बन्दै रहेछ । धन्यवादकी पात्र रहिछन् महानगर मेयर रेनु दाहाल ।

भरतपुर र नारायणगढको ट्राफिकलाई उछिन्दै गाडी अघि बढिरहेको थियो । देवघाट कतिबेला हेर्न पाउँछु भन्ने उत्सुकता थियो मनमा । नारायणगढ बजारबाट महेन्द्र राजमार्गलाई बिदा गरेर गाडी दाहिने मोडियो, नारायणगढ–मुग्लिन सडकमा।

गफगाफमा मस्त थियौं हामी । नारायणगढ चोकबाट करिब ६ किलोमिटरको दूरी पार गरेको पत्तै भएन। सडकको देब्रेतिर पर्ने देवघाट जाने गेटभित्र प्रवेश ग¥यौं हामी । गेटभित्र छिर्नासाथ सानो तर चिल्लो ‘देवघाट मार्ग’ सुरु भयो ।

‘देवघाट मार्ग’को दुवै किनारमा सालका बोटहरुले ठिङ्ग उभिएर स्वागत गरे । बाटो बनाउँदा सकेसम्म थोरै रूख काट्नु परोस् भनेर बाटै छेउका रूख पनि काटिएको रहेनछ । लाग्थ्यो– तिनीहरु पनि देवघाटको प्रवेशद्वारमा ध्यान गरिरहेका छन् । ती रूखले हामी जस्ता कति तीर्थयात्रीलाई स्वागत गरे होलान् र अझै कतिलाई गर्लान् ! मान्छेभन्दा तीन गुणा बढी बाँच्ने र कैयौं गुणा अग्ला सालका ती रूखहरूले हामीले भन्दा धेरै देखेका वा भोगेका छन् वा भोग्नेछन् । धेरै वर्ष बाँच्ने भएर होला, मान्छेजति हतारमा छैनन् ती सालका रूख ।

जंगल छिचोल्नासाथ एकपछि अर्को मठमन्दिर, आश्रम, वृद्धाश्रम र पसलहरु देखिन थाले । अधिकांश यात्रु यही चितवनको आँपटारी हुँदै देवघाट आउने रहेछन् । गाडी पार्क गरेर हामी झोलुङ्गे पुल त¥यौं । अब हामी चितवनबाट तनहुँ जिल्लामा प्रवेश गरिसकेका थियौं । २०३७ सालमा निर्मित यो पुल जीर्ण भइसकेको रहेछ । सामान्य दिनमा करिब ६ हजार र मेला लागेको बेला दैनिक हजारौं तीर्थयात्रीले प्रयोग गर्ने यो पुलमा मोटरसाइकल पनि चलाइँदो रहेछ । हरेकपल्ट मोटरसाइकल आउँदा पुलको बारमा टाँस्सिएर बाटो छोड्नुपर्दो रहेछ ।

सबैभन्दा पहिले हातमुख धोएर शुद्ध हुनलाई हामी दोभानतिर लाग्यौं । हिन्दूहरु कुनै पनि दोभानलाई पवित्र स्थल भनेर मान्दछन् । त्रिवेणी अझ विशेष मानिन्छ । बाटोमा दुईजना महिला डोकोमा राखेर नजिकैको गाउँमा फलाएको केरा र सुन्तला बेचिरहेका रहेछन् । अलिकति केरा र सुन्तला किनेर प्लास्टिकको झोलामा लिएर दोभानतिर लम्कियौं । निधारमा चन्दन र धोती लगाएका १०–१२ वर्षे केटाहरु स्कुल अगाडिको चौरमा फुटबल खेलिरहेका थिए ।

खोलामा जान ओरालो झर्दै थियौं, सफलले बोकेको झोलाबाट केराको काइँयो पछाडिबाट आएर एउटा बाँदरले खोसेर लग्यो र अलिपर पुगेर खान थाल्यो । हामी हेरेको हे¥यै भयौं ।

ओरालो कटेपछि बगर सुरु भयो । यहाँको सुन्दरता र आध्यात्मिक वातावरणको शब्दमा वर्णन गर्न मुस्किल नै पर्छ । आधाजसो जीवन विदेशमा व्यतित गरेको र हाल अमेरिकामा स्थायी रुपमा बसोबास गर्ने म मनुवालाई देवघाट पुगेपछि सारा संसारको माया–मोह बिर्सेर त्यहीं बसुँ बसुँ जस्तो लाग्यो ।

चारैतिर आँखा घुमाएर हेरें । पहाड छोडेर तराई सुरु हुने यो ठाउँमा विभिन्न प्रजातिका बोट–बिरुवा छन् । देब्रेतिर त्रिशूली र दाहिनेतिर कालीगण्डकी बगिरहेका छन् । यो ठाउँ चितवन, तनहुँ र नवलपुर जिल्लाको सिमाना पनि रहेछ । पारिपाटी नवलपुर जिल्लाको पहाडको टुप्पोमा मौला कालिकाको मन्दिर देखिन्छ । त्यही पहाडको बीचतिर सेतो रंगमा ठूला अक्षरले ‘देवघाट’ लेखिएको रहेछ । बगरबाट त्यता फर्केर इन्स्टाग्रामको लागि फोटो खिच्न अति उत्तम हुने रहेछ ।

हामी दोभानमा पुगिसकेका थियौं । रसुवाको गोसाइँकुण्डबाट बगेको त्रिशूली र मुस्ताङको दामोदर कुण्डबाट बगेको कालीगण्डकीको दोभान हो, यो । कालीगण्डकीको पानी अलि कालो रहेछ । दुई फरक रंगका नदी मिलेर एउटै रंग बन्दै नारायणीको पहिचान बनाएर बगेको दृश्य अद्भुत लाग्यो । नारायणी नदी बग्दै गण्डकी हुने रहेछ र अन्त्यमा भारत बिहार राज्यको पटना शहर नजिक पुगेर गंगा नदीमा समाहित हुने रहेछ ।

यी दुवै नदीको आ–आफ्नै महत्व रहेछ । विश्वको कुनै पनि नदीमा नपाइने शालिग्राम कालीगण्डकी नदीमा मात्र पाइँदो रहेछ । बगरमा हिंड्दै गर्दा बाटोको दुवै किनारमा ३–४ वटा पसल थिए । खासगरी उनीहरु शालिग्राम बेच्दै थिए । हिन्दू धर्मावलम्बीहरु शालिग्रामलाई भगवान् विष्णुको अवतार मान्दछन्।

यही तनहुँ जिल्लाको त्रिशूली र कालीगण्डकीको संगम क्षेत्रलाई देवघाट भनिँदो रहेछ । देवघाट विश्वकै सर्वोत्तम तीर्थस्थलमध्ये एक मानिँदो रहेछ । माघेसंक्रान्तिको दिन यहाँ ठूलो मेला लाग्दो रहेछ । नेपालको सबैभन्दा ठूलो धार्मिक मेला यही हो भन्ने पनि सुनियो । नेपाल र भारतबाट तीर्थालुहरु आउने र नदीमा डुबुल्की मार्दा रहेछन् । यो दोभानमा नुहाए शरीरका रोगहरु निको हुने विश्वास गरिन्छ ।

हिन्दु धर्मका ग्रन्थहरुमा देवघाटको उल्लेख पटक–पटक गरिएको रहेछ । उदाहरणको लागि यहाँ स्वर्गका देवताहरु स्नान गर्न आउँथे भन्ने कुरा स्कन्दपुराणमा लेखिएको रहेछ । त्यसैगरी बराह पुराणमा भगवान् महादेवले यहाँ आएर गाई चराउनुभएको कुरा वर्णन गरिएको रहेछ । महादेवले गाई चराएको हुनाले यो क्षेत्रलाई हरिहर क्षेत्र पनि भनिँदो रहेछ । बनारस गई गयामा पिण्ड दान गर्नुभन्दा देवघाटमा पिण्ड दान गर्दा पितृहरु बढी खुसी हुन्छन् भन्ने मान्यता पनि रहेछ ।

संगममा पुगी हातमुख धोएर नजिकै भएको शिवलिंगमा जल चढायौं। केहीबेर त्यहीं दोभानमा टहलिन मन लाग्यो ।

फर्कंदा बगर काटेर देब्रेतर्फ लागेर उकालो लाग्यौं हामी । देब्रे लाग्नासाथ पगला बाबा अघोर आश्रम रहेछ । १०८ वटा शिवलिंग रहेछन् यहाँ । छेवैमा शिव, गणेश, सरस्वती, महाकालीका मूर्तिहरु रहेछन् । सूर्य नमस्कार पनि १०८ चोटि गर्नुपर्छ भन्ने सुनेको थिए ँ। त्यसैगरी १०८ वटा फूल वा फल भएको माला पनि बारम्बार देखेको थिएँ । जप गर्दा त्यही माला लिएर जप गर्छन् हिन्दु र बौद्ध धर्मावलम्बी ।

त्यसैगरी १०८ वटा उपनिषद् लेखिएका रहेछन् । संस्कृत वर्णमालामा ५४ वटा अक्षर छन् र हरेक अक्षरको पुरुष र स्त्रीलिंगी गरेर १०८ अक्षर हुँदा रहेछन् । योग गर्दा शरीरमा भएका १०८ चक्रहरूमा केन्द्रित गरिने रहेछ र बाँकी चार आफैं सक्रिय हुन्छन् भनिन्छ । यी सबै कारणले गर्दा हिन्दु र बौद्ध धर्म तथा योगामा १०८ लाई पवित्र संख्या मानिंदो रहेछ।

नम्बर १०८ नै किन उपयोग गरियो होला भन्ने जिज्ञासा जाग्यो । खोतल्दै जाँदा १०८ को वैज्ञानिक अर्थ पनि रहेछ । यो अंक पृथ्वी, सूर्य र चन्द्रमासँग जोडिएको रहेछ । पृथ्वी र सूर्यको दूरीलाई सूर्यको ब्यासले भाग गर्दा वा पृथ्वी र चन्द्रमाको दूरीलाई चन्द्रमाको ब्यासले भाग गर्दा १०८ नै आउने रहेछ । अरु पनि कारण होलान् मैले नबुझेका ।

देवघाटका अन्य घुम्नैपर्ने ठाउँहरुमा मुकुन्देश्वर महादेव चक्रवर्ती मन्दिर, हरिहर आश्रम, महेश आश्रम, प्राणनाथ अनाथ आश्रम, कालिका मन्दिर, पशुपतिनाथ मन्दिर, सूर्यकुण्ड देवपुर, नेछेन थार्बलिङ बौद्ध गुम्बा, सत्यनारायण मन्दिर, केदारनाथ मन्दिर, बद्रीनाथ मन्दिर, साई आश्रम आदि गरेर ४० भन्दा बढी आश्रम र मन्दिरहरु रहेछन्

अलि माथि आएपछि सप्त ऋषिमध्येका एक वशिष्ठ ऋषिको गुफा र सीता गुफा रहेछन् । वशिष्ठ ऋषि भगवान् रामका कुलगुरु पनि थिए जसले यही गुफामा वर्षौंसम्म तपस्या गरेका रहेछन् । गुफामा तपस्या गर्दा एकान्त वातावरण हुने र बाहिरी दुनियाँबाट टाढा भइन्छ । गुफाको वरिपरि जंगल हुने भएकोले सुन्दर प्राकृतिक वातावरण पनि हुने भयो । गुफामा अक्सिजनको मात्रा र कम्पन पनि कम हुने हुनाले ध्यानमा केन्द्रित हुन सकिन्छ भन्ने मान्यता छ ।

सीता गुफा नजिकै फाटेको धर्ती पनि रहेछ । धर्म ग्रन्थ अनुसार भगवान् रामले लंकाको राजा रावणलाई मारेर अयोध्या फर्केपछि धोबीको अपमानका कारण सीतालाई छोडेपछि वाल्मीकिले आश्रम दिनुपरेको रहेछ । पछि सीतालाई भेट्न आएका रामले भेटको प्रस्ताव गर्दा आफूलाई गर्भावस्थामा यस्तो घनघोर जंगलमा छोड्ने निष्ठुरी रामलाई किन हेर्नु भनेर धर्ती फाटेको र सीता त्यहीं अलप भएको कथा छ ।

सीता गुफाबाट बाहिर निस्कँदा करिब ४० वर्षे साधुलाई भेटें । उनीसँग कुरा गर्न मन लाग्यो । तपाईं कसरी साधु हुनुभयो भनेर सोद्धा उनले आफू सानैदेखि आध्यात्मिक भएको र यसमै खुसी देखेको हुनाले साधु भएको सुनाए । घरपरिवारले सम्झँदैन त भनेर जिज्ञासा राख्दा उनले भने, ‘पहिले–पहिले म पनि सम्झिन्थें, उहाँहरुले पनि सम्झनुहुन्थ्यो होला तर अहिले हामीले खासै सम्झिन छोड्यौं।’

हामी उकालो कटेर जलेश्वर आश्रममा पुग्यौं। त्यहाँ काठमाडौं पशुपतिनाथको ‘रेप्लिका’ मन्दिर रहेछ जसलाई सिद्धेश्वर मन्दिर भनिंदो रहेछ । दर्शन गरिसकेर बाहिर निस्कँदा मन्दिरको ढोका बाहिर धार्मिक पुस्तकहरु बेच्न राखिएको रहेछ । मैले दुइटा किताब किनेर झोलामा हालें ।

मन्दिरकै प्रांगणमा ७–८ जना साधु कुर्सीमा बसेर घाम ताप्दै गफ गरिरहेका रहेछन् । हामीलाई पनि उनीहरुसँग गफ गर्न मन लाग्यो । छेउको खाली कुर्सी तानेर बस्यौं हामी । अघिल्लो दुई कुर्सीमा अलि पाका र पछाडि अलि कम उमेरका साधुहरु थिए ।

कुरैकुरामा एकजना साधुले स्कुलको बारेमा बताए । यहाँ धर्मशाला र गुरुकुल भनेर चिनिने स्कुल÷कलेज पनि रहेछ । हाल यहाँ शास्त्रीसम्मको पढाइ हुँदोरहेछ । हरिहर आश्रममा भएको विद्यापीठमा भने आचार्यसम्म पढाइ हुँदोरहेछ । यी दुवै स्कुल÷कलेजमा गरी करिब ५०० विद्यार्थी रहेछन् । ती सबै बाहुन जातिका पुरुष मात्र हुने रहेछन् । ‘बाहिर स्कुलमा शिक्षा दिइन्छ, यहाँ हामी शिक्षा र संस्कृति दुवै दिन्छौं’ उनले भने । ती साधुहरु निकै खुसी देखिन्थे । पछि बसेका साधु भने केही बोलेनन् ।

गलेश्वर आश्रमका वर्तमान पिठाधीश्वर स्वामी आत्मानन्द गिरी हुनुहुँदोरहेछ । हामी गफ गरिरहेको बेला उहाँ र उहाँका एक सहयोगी हिंडेर जाँदै थिए । स्वामीजीले दाहिने हातमा माला जप गरिरहनुभएको थियो । सबै साधुहरु एकाएक सतर्क भए । ‘उहाँले देश–विदेश गएर रकम संकलन गरी आश्रमको व्यवस्थापन गर्नुहुन्छ’, एक साधुले भने ।

उनीहरुले हामीलाई भोजनका लागि निम्त्याए तर हामीलाई अलि हतार भएको हुनाले त्यो सम्भव भएन । मलाई त्यही दिन काठमाडौं फर्कनुपर्ने थियो । दिनमा दुईपल्ट निःशुल्क भोजन र दुईपल्ट खाजा बाँडिंदो रहेछ । करिब ३०० जनालाई एकैपल्ट भोजन खुवाउने व्यवस्था रहेछ । भविष्यमा ५०० जनालाई खुवाउने लक्ष्य रहेछ । केहीबेर कुरा गरेर हामी बिदा भयौं ।

गलेश्वर आश्रम मुख्य आश्रम रहेछ, जसले विविध कार्यक्रम गर्दो रहेछ । बिहान ४ बजे सिद्धेश्वर महादेव मन्दिरमा पूजा गरेर दिनचर्या सुरु हुने रहेछ । दिउँसो १२ देखि २ बजेसम्म भजनकीर्तन र त्यसपछि अखण्ड भागवत पाठ तथा हवन गरिंदो रहेछ । बेलुका ६ बजेदेखि ८ बजेसम्म आरती र आध्यात्मिक विषयमा स्वाध्याय प्रवचन र ८ देखि ९ बजेसम्म विद्वानहरुबाट वेदान्त विषयक प्रवचन गरिंदो रहेछ ।

देवघाटका अन्य घुम्नैपर्ने ठाउँहरुमा मुकुन्देश्वर महादेव चक्रवर्ती मन्दिर, हरिहर आश्रम, महेश आश्रम, प्राणनाथ अनाथ आश्रम, कालिका मन्दिर, पशुपतिनाथ मन्दिर, सूर्यकुण्ड देवपुर, नेछेन थार्बलिङ बौद्ध गुम्बा, सत्यनारायण मन्दिर, केदारनाथ मन्दिर, बद्रीनाथ मन्दिर, साई आश्रम आदि गरेर ४० भन्दा बढी आश्रम र मन्दिरहरु रहेछन्। गलेश्वर आश्रमले गर्ने दैनिक गंगा आरती हेर्न भने योपालि जुरेन।

बाटोमा पैदल हिंड्दा मन्दिरमा बजेका घण्ट, मन्त्रहरु र भजन सुन्न पाइने रहेछ । बिन्दास घुमिरहेका साधुसन्त, जोगी, भक्तालु र केही पर्यटक पनि देखिए । कतिपय नेपालीले हिउँदमा बस्न भनेर बनाएका घर रहेछन् । गिफ्ट किन्नको लागि पसलहरु पनि प्रशस्ते ।

यो आश्रमले खाना र खाजा खुवाउनुको साथै अस्पताल, स्कुल, वृद्धाश्रम, पुस्तकालय र किरियापुत्री भवन पनि सञ्चालन गर्दो रहेछ । निःशुल्क स्वास्थ्य सेवा सहित १५ शय्याको अस्पताल पनि रहेछ । दान दिनको लागि सुलभ व्यवस्था गरिएको रहेछ। २५ हजारभन्दा बढी दिनेको नाम शिलालेखमा लेखिने व्यवस्था रहेछ ।

वृद्धाश्रममा २०० भन्दा बढी वृद्धवृद्धा बस्दा रहेछन् । यहाँ अन्तिम सास फेरेमा स्वर्ग पुगिन्छ भन्ने मान्यता छ । वृद्धाश्रममा कोही आफ्नै खुसीले आएका छन् भने कोही बाध्यताले । होमनाथ चालिसेले २०१४ मा प्रकाशित गरेको अनुसन्धानात्मक लेखअनुसार करिब ५८ प्रतिशत वृद्धवृद्धा डिप्रेसनको सिकार रहेछन् । यहाँ खुसीखुसी आउनेहरु पनि केही समयपछि बेक्कार आएछु भनेर पछुताउने पनि गर्दा रहेछन् ।

फर्कंदा झोलुङ्गे पुल नभएर फेरि दोभान नजिक गएर डुंगा लिई पारि चितवन जाने सल्लाह भया े। पहिले–पहिले प्रयोग हुने काठका साना डुंगाहरु नदीको किनारमा थन्किएका रहेछन्। अहिले रबरले बनेका डुंगा चल्ने रहेछन् । एउटा डुंगा लिएर पारि गयौं । पारिपट्टि नारायणी नदीको किनारमा दाहसंस्कार गर्ने ठाउँ रहेछ पशुपतिमा जस्तै ।

घर फर्कंदा बाटोमा सधैंको झैं उही जिन्दगीको हुण्डरी सुरु भइहाल्या े। सोच्दै थिएँ– टाँडी गएर खाना खानु छ, दुईजना आफन्तलाई भेट्नु छ, भरतपुर आएर काठमाडौं जाने तीन बजेको उडान लिनु छ र बेलुका एक जना आफन्तको घरमा खाना खान जानु छ आदि–इत्यादि । भागदौड त बाँचुन्जेल छँदैछ।

(गिरी अमेरिकाको ड्युक विश्वविद्यालयका एड्जन्क्ट प्रोफेसर हुन् । अनलाइन खबरबाट उनको लेख साभार गरिएको हो । )

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>