Breaking News

सौराहामा फुड फेष्टिबल सुरु, दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने अपेक्षा

Banner

चितवन, माघ २८-

चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि भ्यालेन्टाइन डे (प्रणय दिबस) लक्षित १८औं सौराहा फुड फेस्टिबल सुरु भएको छ ।

रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा भएको फेस्टिबलको प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका हुन् ।

सो अबसरमा उनले सौराहाको पर्यटन विकासमा सरकारले ध्यान नदिएको बताएका छन् । सांसद ढकालले सौराहाको पर्यटनलाई उद्योगको मान्यता र पर्यटन बोर्डको कार्यालय स्थापनाका लागि आफूले एक वर्षदेखि प्रयास गरिरहेको बताए । उनले राज्य सौराहाप्रति जिम्मेबार नभएको आरोप लगाए ।

कार्यक्रमा बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद कृष्णप्रसाद खनालले निकुञ्ज ऐन लामो समयदेखि परिमार्जन हुन नसक्दा निकुञ्ज र मानिसबीच अविश्वासको खाडल बढ्दै गएको विचार राखे । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहा निकुञ्ज ऐनको चपेटामा परेको बताए । रेवानका केन्द्रीय उपाध्यक्ष संघर्ष विष्टले रेष्टुरेण्ट व्यवसायलाई पनि उद्योगको मान्यता दिन सरकारसँग माग गरे । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले सौराहाको पर्यटन पुरानै अवस्थामा फर्किने क्रममा रहेको भन्दै चालू आर्थिक वर्षमा मात्र दुई लाख २५ हजार पर्यटन चितवन भित्रिएको जानकारी दिए ।

उद्घाटन कार्यक्रममा फेस्टिबलका कार्यक्रम संयोजक सूर्यबहादुर रिमालले स्वागत मन्तब्य राख्दै फेस्टिबलको उद्देश्यका बारेमा जानकारी दिएका थिए । बसबार्क जाने सडकको दक्षित तर्फको खाली जमिनमा सुरु भएको फेस्टिबल फागुन तीन गते सम्म चल्ने रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

सौराहासहित चितवनको पर्यटन विकासको लागि प्रणय दिवसको अबसर पारेर फेस्टिबल आयोजना गरिएको गिरीले बताए । खाना, संगीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर फेस्टिबललाई विशेष बनाइएको छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिबलका गतिविधिलाई अगाडि बढाइएको छ । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातिका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवद्र्धन गर्ने, स्थानीय कलासंस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए ।

फेस्टिबलमा विभिन्न जातजातिहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको सांगीतिक प्रस्तुति, स्थानीय जनजातिका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिकास्तरीय भलिबल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुति रहेकोे छ ।

दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबार हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौले जानकारी दिए । फेस्टिबललाई भब्य बनाउन पर्यटकीय नगरी सौराहालाई सिंगारिएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिबलमा ५० वटा खानाका स्टलहरु रहने छन् । फेस्टिबल उद्घाटन पूर्वबिहान सौराहामा भब्य शोभायात्रा निकालिएको थियो । रेवानका अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, रेवानका संस्थापक अध्यक्ष बलराम दाहाल, रेवान महिला समूहकी अध्यक्ष लक्ष्मी बिडारीलगायतले मन्तब्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>