देश/प्रदेश

आधुनिक कृषि यन्त्रको बढ्दो प्रयोगले दाइँ लगाउने चलन हट्यो

Banner

कञ्चनपुर, माघ २८-

शुक्लाफाँटा नगरपालिका–३ का ६६ वर्षीय पर्शुराम डगौरालाई बिहानै उठेर गोरुको सहायताले दाइँ लगाउनु पर्ने झन्झट छैन । ट्रयाक्टर, पावर टिलर लगायतका कृषि कार्यमा प्रयोग हुने यन्त्र र उपकरणले काममा सहज बनाइदिएपछि डगौरालाई गोरुको दाइँ लगाउनुपर्ने झन्झट नभएको हो ।

“दुई तीन महिना लगाएर धान, गहुँ दाइँ (गहनी) लगाउनुपर्ने कार्य विगत भइसक्यो”, उहाँले भन्नुभयो, “दुई महिनासम्म गोरु जुटाएर गरिने दाइँ अब लगाउँदैनौँ, एक दुई घण्टामै थ्रेसरको सहायताले धान, गहुँ, मसुरो, तोरी लगायतको बाली थ्रेसिङ गरी भित्र्याउने गरिन्छ ।” कृषिमा आधुनिक यन्त्र र उपकरणको प्रयोग हुन थालेपछि गोरु, राँगाको सहायताले दाइँ लगाउनुपर्ने चलन हटेको उहाँले बताउनुभयो ।

“बिहान कुखुराको डाँकमै दाइँ लगाउनका लागि पुरुषले उठनु पर्दथ्यो, महिलाहरु ढिकीमा धान कुट्नका लागि उठने गर्दथे”, सोही ठाउँका रामबहादुर डगौराले भन्नुभयो, “विगतको जस्तो कष्ट अब छैन, धान कुट्न ‘राइसमिल’मा जान्छौं, दाइँको कार्य आधुनिक थ्रेसरले गर्न थालेपछि किसानलाई खेती गर्न सहज भएको छ ।”

उहाँका अनुसार गहुँ, मसुरो खेतमा छरेपछि बढी जग्गा हुनेले चार–पाँच जोडी गोरु, राँगा जुटाएर तीन चार महिनासम्म आँगनमा राखिएको धानमा दाइँ लगाउने गर्दथे । थोरै जग्गा हुनेसँगै एकै जोडी गोरु तथा राँगा हुने भएकाले त्यसकै सहयोगमा एक महिना बढी समय लगाएर दाइँ लगाउँथे ।

“दिनभर दाइँ लगाउथ्यौँ”, उहाँले भन्नुभयो, “ककटी (परालको भूस) मा मकै भुटेर खाथ्यौं, परालभित्रै सुत्ने, दाइँ लगाउने गोरुलाई माली (रस्सीले एक अर्कालाई बाँध्ने) लगाइ दाइँ लगाउथ्यौँ ।” दाइँ लगाउने क्रममै परालको पिर्का बुन्ने कार्य पनि हुने गरेको उहाँले सुनाउनुभयो ।

“दाइँ लगाउँदै थाकेकाहरुले कुवाको पानी चिसो बनाउनका लागि माटोका गाग्रीमा राख्थे”, स्थानीय रामकिसन डगौराले भन्नुभयो, “त्यसैबाट पिउँथे केहीले सिधैँ कुवाबाट पानी निकालेर तुम्बा सुकेको लौकामा भरेर खाने गर्दथे ।” ती सबै चलन आधुनिक परिवेशसँगै हराएको उहाँले बताउनुभयो ।

दाइँका लागि प्रयोग हुने गोरु, राँगाको खुट्टाले धान, गहुँ, मसुरो लगायतको अन्नबाली झार्ने गरिन्थ्यो भने माथिल्लो हिस्साको अन्नबाली झारिएपछि काठमा फलामको प्रयोग गरी बनाइएको अखैनको प्रयोगले पराल, गहुँको डाँठमा अडकेका दानालाई झार्ने कार्य हुन्थ्यो ।

केहीले त्यो कार्यका लागि बाँसबाट बनेको अखैन प्रयोगमा ल्याउने गरेका थिए । झारेको अन्नलाई एक ठाउँमा थुपार्दै नझरेको अन्नलाई झार्नका लागि अखैनको सहायतले पुनः आँगनमा फिजाएर दाइँ लगाउने गरिन्थ्यो । त्यो क्रम डाँठबाट अन्न नझर्दा सम्म जारी रहन्थ्यो ।

“पहिले घर–घरमा गोरु, राँगा दाइँ लगाउन, खेत जोत्न, गाडा गुडाउने लगायतका कार्यका लागि पालिने गरिन्थ्यो”, शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भन्नुभयो, “एक दशकयतादेखि गोरु, रागाँ पाल्ने कार्यसँगै कार्यमा लगाइने कार्यमा निकै कमी आएको छ, त्यसको ठाउँ ट्रयाक्टर, पावर टिलरलगायतले लिएका छन्, गोरु राँगा पाल्ने किसानको सङ्ख्या थोरै मात्र रहेको छ ।”

दुर्गम क्षेत्रका विपन्न बस्तीहरुमा भने पुरानै दाइँ लगाउने चलन भने विद्यमान रहेको उहाँले बताउनुभयो । जिल्लाका ९० प्रतिशत बढी किसानले अन्न बाली स्याहार्न, चुटन, सफा गर्नका लागि कृषियन्त्र र उपकरणकै प्रयोग गर्ने गरेका छन् । महिनौं लगाएर हुने काम एक दुई घण्टामै हुन थालेपछि परम्परागत रुपमा चल्दै आएको दाइँ लगाउने कार्य हट्दै गएको स्थानिय किसानहरुको भनाइ छ ।

किसानका लागि कृषि ज्ञान केन्द्र, कृषि निर्देशनालय र पालिकामा रहने कृषि विकास शाखामार्फत कृषि यन्त्र र उपकरण अनुदानमा उपलब्ध हुन थालेपछि किसानले गोरु तथा राँगा पाल्ने कार्य छाडेका हुन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>