चितवन विशेष

रत्ननगर नगरपालिका भर्ती केन्द्र बन्न खोजेको अनेरास्ववियुको आरोप, गल्ती सच्याउन माग

Banner

चितवन, माघ २४–

रत्ननगर नगरपालिका राजनीतिक आस्थाको आधारमा कार्यकर्ता भर्ती केन्द्र बन्न खोजेको भन्दै एमाले निकट अनेरास्ववियुले आपत्ति जनाएको छ ।

अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गर्दै स्वयंसेवक शिक्षकको सूचिकरणमा नगर शिक्षा अधिकारीको बदमासी रहेको भन्दै भर्ती केन्द्र बनाउन खोजिएको आरोप लगाएको हो ।

स्वयंसेवक शिक्षक सूचिकरणको लागि पुस ३ गते सूचना प्रकाशित गरेर आवश्यक संख्या ‘केही’ राखिएकोमा अनेरास्ववियुले संख्या स्पष्ट खुलाउनु पर्ने भन्दै सो सूचनाको विरोध गरेको थियो । तर, सो सूचना तत्काललाई स्थगित भए पनि गत माघ १६ गते स्वयंसेवक शिक्षक सूचिकरणको लागि परीक्षा सञ्चालनको सूचना सार्वजनिक गरिएकोमा अनेरास्ववियुले विज्ञप्तिमार्फत आपत्ति जनाएको छ ।

अनेरास्ववियुले नगरपालिकाका नगर शिक्षा अधिकारीले बिगतमा गरेको गल्ती नसच्याई पुन परीक्षा सञ्चालनको सूचना सार्वजनिक गरिएको विज्ञप्तिमा जनाएको छ । अनेरास्ववियुले विज्ञप्तिमा भनेको छ, ‘ त्रुटी नसच्याई स्वयंसेवक शिक्षक सूचिकरणको लागि परीक्षा सञ्चालन सूचना प्रकाशित हुदा नगर शिक्षा अधिकारीको कार्यक्षमता र कार्यकुशलतमाथि नै प्रश्न चिन्ह खडा भएको छ । पटकपटकको ध्यानाकर्षणपछि पनि नगर शिक्षा अधिकारीबाट भएको नियोजित गैरजिम्मेवारीपनको अनेरास्ववियु जिल्ला कमिटी चितवन खेद प्रकट गर्छ । राजनीतिक अभिष्ट पूरा गर्न राजनीतिक आस्थाको आधारमा कार्यकर्ता भर्ती केन्द्र बनाउने दुस्साहस तथा दुश्प्रयास नगर्न र प्रष्ट निष्पक्षरुपमा संख्या खुलाएर मात्र पक्रियामा जान पनि अनुरोध गर्दछौं ।’

अनेरास्ववियु चितवनका कार्यवाहक अध्यक्ष सरोज तिमिल्सिनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा तत्काल समस्याको समाधान नभएमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी सशक्त संघर्षमा उत्रने पनि जनाइएको छ । त्यसबाट सिर्जित परिस्थितिबाट नगर कार्यपालिका र नगर शिक्षा अधिकारी नै जिम्मेवार रहने पनि विज्ञप्तिमा चेतावनी दिइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>