चितवन विशेष

भरतपुरमा नमुना युवा नगर सभा, युवाको क्षमता प्रष्फुटन

Banner

चितवन, माघ २३-

भरतपुरमा नमुना युवा नगर सभा सम्पन्न भएको छ ।

महानगरका गतिविधिबारे जानकारी दिएर युवालाई आकर्षित गर्नको लागि महानगरको शैक्षिक प्रशासन महाशाखाको आयोजनामा मंगलबार नमुना युवा नगर सभा गरिएको हो ।

युवालाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ । नमुना युवा नगर सभामा भरतपुर युवा सञ्जालका अध्यक्ष अञ्जान दवाडीले नगर अध्यक्ष र सहसचिव विभा पाण्डेले नगर उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए । बाँकी सहभागीले नगर सभासद्को भूमिका निर्वाह गरेक थिए । नमुना युवा नगर सभाका लागि महानगर सभाहलमा संसदीय मामिलाका विज्ञ रमाकान्त पौडेलले तीन दिनको प्रशिक्षण दिएका थिए । कार्यक्रममा महानगरका २९ वटा वडाबाट १६ वर्षदेखि २४ वर्ष उमेर समूहका ३९ जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।

महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरमा गरिएको नमुना युवा नगर सभामध्ये अहिलेसम्मकै उत्कृष्ट नमुना सभा भएको बताइन् । उनले युवालाई आर्कषित गर्नको लागि यस्तो किसिमको कार्यक्रम गरिएको बताइन् । उनले भनिन्, ‘हामीले युवा लक्षित कार्यक्रम गर्दैै आइरहेका छौँ । युवाका हरेक खालको क्षेमतालाई प्रस्फुटन गर्नको लागि महानगर सधैँ युवाको साथमा छ ।’ महानगर युवाको पक्षमा जिम्मेवारीपूर्ण ढङगले अगाडि बढेको उनको भनाइ छ ।

मेयर दाहालले अहिलेका युवा देशका भोलिका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी भएकाले अहिलेबाटै जिम्मेवार बनाउन कार्यक्रम महत्वपूर्ण रहने उल्लेख गरिन् । युवा सञ्जाल महानगरको एक निकाय भएकाले हरेक गतिविधिमा जिम्मेवार र उत्तरदायित्व भएर अगाडि बढ्न मेयर दाहालले अनुरोध पनि गरिन् । भरतपुर महानगरपालिकाले युवाहरुको विकासका लागि वार्षिक रुपमा ठूलो रकम बिनियोजन गर्दै आइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले नमुना सभामा सहभागी युवाले महत्वपूर्ण भूमिका नर्वाह गरेको बताए । उनले भने, ‘अहिलेका युवाहरु महानगरको समृद्ध विकास, वर्तमानको साझेदारी, भविष्यका कर्णधार हुन् । राष्ट्र सेवकको रुपमा नेतृत्वगर्न सकून् भन्दै शुभकामना दिन चाहान्छु ।’ नमुना संसदीय अभ्यासको पहलमा युवालाई देशको संविधान नियम कानुन, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि कार्यक्रमको आयोजना गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्र पौडेलले जानकारी दिए ।

मेयर दाहाल, उपमेयर अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत पौडेल र महानगरका जनप्रतिनिधिको उपस्थितिमा सहभागीहरुले नमुना नगर युवा सभाको प्रस्तुति दिएका थिए । वागमती प्रदेशका युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाँई, राष्ट्रिय युवा परिषद्का उपसचिव कर्णबहादुर कुँवर, नमुना नगर सभाका अध्यक्ष अञ्जान दवाडी, उपाध्यक्ष विभा पाण्डे लगायतले मन्तव्य राखेका थिए । सभाका युवा सदस्यहरुले महानगरको समस्या र गुनासोहरु सभाध्यक्ष सामु राखेका थिए । गत माघ १२ गते महानगरस्तरीय ११ सदस्यीय कार्यसमिति गठन भएको थियो । वडा क्लब गठन तथा नमुना युवा संसद कार्यविधि–२०७५ अनुसार प्रत्येक दुई–दुई वर्षमा नमुना नगर सभा गर्नुपर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>