चितवन विशेष
उद्योग वाणिज्य संघ चितवनको दुई वर्षे कार्ययोजना बनाउन गोष्ठी

चितवन, माघ २३-
उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वले कार्ययोजना बनाउन गोष्ठी गरेको छ ।
संघले नेतृत्व परिवर्तन पश्चात दुई वर्षे कार्यकालको लागि योजना तर्जुमा गर्न वस्तुगत संघहरुसँग कार्ययोजना तर्जुमा गोष्ठी गरेको हो ।
संघमा आवद्ध रहेका ३६ वस्तुगत संघहरुको सहभागितामा योजना तर्जुमा गोष्ठी गरेको छ । गोष्ठीलाई सम्बोधन गर्दैै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले वस्तुगत संघबाट प्राप्त सुझावलाई मध्यनजर राख्दै संघले आगामी २ वर्षको लागि तयार गर्ने योजनामा राखिने बताए । उनले वस्तुगत संघहरुले आफ्ना सदस्यहरुको माग र आवश्यकतालाई मध्यनजर राख्दै कार्यक्रम चयन गर्न अनुरोध गर्दैै कार्यक्रमहरु संघको गुणस्तर नीति सँग मेल खाने हुनुपर्ने बताउँदै प्राप्त सुझावहरुलाई लिपिबद्ध गरी योजनामा राखिने बताए ।
सोही कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले योजना छनौट गर्दा त्यसको आयोजना गर्न सकिने मात्र कार्यक्रमलाई छनौट गर्नुपर्ने बताए । संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले वस्तुगत संघले कार्यक्रम छनौट गर्दा आफूले गर्न नसक्ने तर उद्योग वाणिज्य संघ मार्फत गर्न मिल्ने कार्यक्रम मात्र छनौट गर्न अनुरोध गर्दै कार्यक्रमको सफलताको कामना गरे ।
गोष्ठीमा आफ्नो मन्तब्य राख्दै संघका उपाध्यक्ष एवम वस्तुगत संघ समन्वय समितिका संयोजक नारायण प्रधानले यस वर्षको संघको कार्ययोजनामा प्राथमिकताको आधारमा सबै वस्तुगत संघका कार्यक्रमलाई समेटिने बताए । संघमा आवद्ध ३६ वटा वस्तुगत संघबाट सहभागी रहेको उक्त कार्यक्रममा संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सहजीकरण गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।
कर शिक्षा कार्यक्रम
उद्योग वाणिज्य संघ चितवनले पूर्वयोजना तर्जुमा गोष्ठीको अवसरमा कर शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ ।
३६ वटा वस्तुगत संघका प्रतिनिधको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गदैै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यवसायीले सरकारले लिएका करसम्बन्धी नयाँ नीति, छुटको व्यवस्थालगायतका विषयमा व्यवसायीलाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले आन्तरिक राजश्व कार्यालयमा आफ्ना उद्योगी व्यवसायीका करसम्बन्धी समस्या समधान गर्न हेल्प डेक्स राख्न लागिएको समेत जानकारी गराए ।
सोही कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत निरन भट्टराईले उद्योगी व्यवसायीको करसम्बन्धी समस्या समाधान गर्न हेल्प डेक्स सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै उनले करसम्बन्धी कुनै जटिलता सिर्जना भएमा सहजीकरणको लागि आफू सहयोगका लागि सदैब तत्पर रहेको बताए ।
सोही काय्र्रक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले कर शिक्षासम्बन्धी कार्यक्रमहरु आन्तरिक राजश्व कार्यालयको समन्वयमा आगामी दिनमा निरन्तर गरिने बताए ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भरतपुरका तर्फबाट कर अधिकृत खडानन्द पाण्डे र भरतपुर महानगरपालिकाको तर्फबाट कर अधिकृत रमेश जोशीले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापनसहित सम्पन्न भएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गरेका थिए ।
























