चितवन विशेष

भरतपुर भ्रमण वर्षले व्यापार बढ्ने प्रतिक्षामा नारायणी किनारका व्यापारी

Banner

पुजा ढकाल

चितवन, माघ २२-

कोरोना र आर्थिक मन्दीको मारमा परेका नारायणी नदी किनारका व्यापारी भरतपुर भ्रमण वर्ष सुरु भएपछि व्यापार बढ्ने आशामा छन् ।

भ्रमण वर्षको उद्घाटनको लागि नदी किनारलाई सिगार्न थालेपछि पर्यटक बढ्ने आशामा व्यापारी उत्साही बनेका हुन् ।

महानगरले भ्रमण वर्षको लागि नदी किनारमा दुबो सारेर सुन्दर बनाइरहेको छ भने फागुन १८ गतेको उद्घाटन समारोहमा ५० हजार नागरिक जम्मा गर्ने जनाएको छ । यस्ता समाचारले नदी किनारका ठेलामा सामान बेच्ने व्यापारी थप उत्साहित भएका छन् । भ्रमण वर्षले गर्दा नदी किनारमा चहलपहल बढ्दै गएको व्यापारीहरु बताउँछन् ।

नदी किनारमा खाजाका परिकार बेच्दै आएका केउरेनीका शिवप्रसाद भट्टराईले सोचेको जस्तो नभएको व्यापारमा भ्रमण वर्षले थप उत्साहित बनाउने आशा गरेका छन् । उनले भने, ‘ १३ वर्ष विदेशमा बगाएको पसिनालाई आफूनै देशमा बगाएर सिकेको सिप नेपालमा उपयोग गरेँ । परिवारसँगै बसौं भनेर नारायणी किनारमा व्यापार सुरु गरेको हुँ । तर, व्यापार सोचेको जस्ता चलायमान भने छैन ।’ उनले आफूले यस क्षेत्रमा दुई वर्षदेखि खाजा पसल सञ्चालन गरेको र सुरुवाती चरणमा दैनिक तीन हजारसम्म व्यापार भए पनि अहिले खासै राम्रो व्यापार नभएको जानकारी दिए । उनले पर्यटकीयरुपमा नदी किनारको विकास गर्नलाई महानगरपालिकाले शौचालय, पानी, रातको समयमा बत्ती र सेकुरिटी गार्डको व्यवस्था गर्नुपर्ने विचार राखे । उनले आवश्यक पूर्वाधार तयार गरेमा रातको समयमा पनि व्यापार राम्रो हुने आशा व्यक्त गरे । उनी भन्छन्, ‘देशको परिस्थितिले व्यापार गरे पनि राम्रो छैन र यस्तै अवस्थामा व्यापार चल्ने हो भने पुनः विदेश जाने सोच नआउला भन्न सकिँदैन । ’ तर, फागुन १८ गतेदेखि भ्रमण वर्ष सुरु हुने हुँदा, पर्यटकको आगमन बढ्न गई व्यापार सुधार हुन्छ कि भन्ने आशामा आफू रहेको उनले बताए ।

त्यस्तै कोरोना समयमा होटलको भाडा तिर्न नसकेपछि थोरै लगानीमा केही गरौँ भन्ने आशाले कतिपय व्यवसायी नदी किनारलाई रोजाइमा पारेका छन् । त्यसैमध्येका एक हुन् किनारमा खाजा पसल सुरु गरेका गैँडाकोट नगरपालिका–१४ का मधु पौडेल । उनी बिगत १५ महिनादेखि यसै क्षेत्रमा व्यापार गरे पनि आम्दानी राम्रो नहुँदा घर खर्च चलाउन कठिन भएको गुनासो गर्छन् । उनले भने, ‘यही अवस्थामा व्यापार हुने हो भने हामीले अन्य पेसा रोज्नुपर्छ । राज्यले १२ पासपछि विदेश जाने युवाको लर्को नरोक्ने हो भने अन्य पेसा रोज्न पर्ने अवस्था नआउला भन्न सकिदैन ।’ उनले यहाँको आम्दानीले ठेलाको मासिक ३५ सय रुपैयाँ महानगरपालिकालाई राजस्व, कोठा भाडा, खाना खर्च र दुई छोरी पढाउन कठिन भएको जानकारी दिए । उनको अनुसार प्रत्येक महिना ३५ सय राजस्व बुझाउँदा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न गाडी पठाउँछ तर नदी किनारमा अत्यावश्यक पूर्वाधार शौचालय, पानीको धारा, बत्तीलगायत पूरा गर्न सकेको छैन ।

सार्वजनिक बिदाको दिनमा ६ देखि ८ हजार रुपैयाँ र अन्य दिन १५ सयदेखि दुई हजारसम्मको व्यापार हुने गरेको अर्की व्यापारी सोनी चौधरीले बताइन् । उनले विरगञ्जदेखि चितवन आएर नारायणी किनारमा खाजा पसल गरेको दुई वर्ष भयो । आफूले पसल सञ्चालन गरेको दुई वर्ष भए पनि खर्च र आम्दानी बराबर हुँदा घर खर्च चलाउन कठिन भएको उनले जानकारी दिइन् । श्रीमान् र आफू मिलेर सञ्चालन गरेको पसलमा उनले चटपट पानीपुरी, चियालगायत विभिन्न परिकार बनाएर बेच्दै आएकी छन् । यस्तै पसलबाट निस्किएको फोहरको व्यवस्थापन भने महानगरपालिकाले नै गर्ने गरे पनि यस क्षेत्रमा सार्वजनिक धारा, शौचालय र बिजुलीको व्यवस्था भइदिए अझै सहज हुने उनको भनाइ छ ।

समुन्द्री किनारकै जस्तो अनुभूति हुने भएकोले नारायणी नदी किनार चितवनको लोकप्रिय क्षेत्र हो । बढ्दो शहरीकरणसँग कोलाहलबाट शान्त ठाउँमा रमाउने हरेक मानिसको चाहना हुन्छ । यस क्षेत्रमा दैनिक सयौं संख्यामा आन्तरिक पर्यटक आउने गर्छन् । भ्रमण वर्ष सुरु भएसँगै प्रसारप्रसारले यस क्षेत्रमा पर्यटक बढ्ने व्यापारीको आशा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>