चितवन विशेष

एमाले चितवनको प्रचारलाई व्यवस्थित गर्न सुझाव संकलन

Banner

चितवन, माघ १७-

नेकपा एमाले चितवनले प्रचारको कामलाई व्यवस्थित र मर्यादित एवम् प्रविधिमैत्री बनाउन सुझाव संकलन गरेको छ । एमालेको प्रचार विभागले प्रेस चौतारी चितवनसँगको समन्वयमा सुझाव संकलन गरेको हो ।

मंगलबार सौराहामा आयोजना गरिएको प्रचार योजना तर्जुमा गोष्ठीमा प्रेस चौतारीका नेताहरुले पार्टीले आगामी दिनमा गर्नुपर्ने काम र प्रचारको विषयमा सुझाव दिएका हुन् ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डिलले सार्वजनिक चासो र जनजीविकाका विषयमा एमालेले सबैभन्दा पहिला बोल्नुपर्ने बताए । प्रेस चौतारीका सबै सदस्यहरुबाट सुझाव संकलन गरेर पार्टी नेतृत्वलाई हस्तान्तरण गरिने उनले बताए ।

नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले प्राप्त सुझावलाई छिट्टै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले गरेका राम्रा कामको पनि प्रचार नभएको भन्दै उनले जनप्रतिनिधि र प्रेस चौतारीबीच बैठक राखेर प्रचारको कामलाई व्यवस्थित गर्ने बताए ।

त्यस्तै, अन्य सुझावको विषयमा पार्टीको पदाधिकारी बैठकमा प्रस्ताव लगेर कार्यान्वयन गरिने उनले बताए ।

एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले प्रचार विभाग र प्रेस चौतारी बीच नियमित बैठक बस्ने वातावरण बनाउने बताए । प्रेस चौतारीका सदस्यहरुबाट आएका सुझाव एकदमै महत्वपूर्ण र कार्यान्वयन योग्य रहेकाले सबै सुझावलाई क्रमश कार्यान्वयन गर्दै लगिने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>