विचार/ब्लग

उज्यालो युगको लागि अमरत्व प्राप्त गर्ने सहिदहरूको स्मरण

Banner

रमाकान्त सापकोटा

‘ॐ असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मामृतं गमय ।’ यी यजुर्वेदका मन्त्रमा सहिदको गहन अर्थ भेट्न सकिन्छ । सहिदको अर्थ मृत्यु होइन अमरत्व हो उज्यालो युगको खोजी हो । राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षण गर्न साम्राज्यवाद, पृथकतावाद र एकाधिकारवादका विरुद्ध विद्रोहको शंखनाद गर्ने, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता तथा आफ्ना मौलिक संस्कृतिको जगेर्ना गर्न, देशभक्ति र जनआवाजलाई सम्मान गर्ने, मृत्युलाई नजिकबाट देखेर पनि आफैँलाई बलि दिन तयार हुने निडर आत्मा सहिद हुन् । पथभ्रष्ट भएर बाँच्नेहरु तथा सत्ता र शक्तिको स्वार्थको लागि युगलाई अध्यारोमा राख्न शक्ति खर्चनेहरू बाँचेर पनि इतिहासमा मरेका हुन्छन् । निरंकुश र स्वेच्छाचारी सत्ताले सत्ता शक्तिको दुरुपयोग गरी हत्या गरेका मुलुकका नायक , महानायक, देशभक्तहरू सहिदको रुपमा इतिहासमा अक्षर बनेर हाँसेका हुन्छन् । बाँचेका हुन्छन् । आकाशका नक्षेत्रको रुपमा जनताको आँखामा र मन मनमा बसेका हुन्छन् । सत्ता र शक्तिसँग सम्झौता नगरेर गरुङ्गो मृत्यु वरण गरेका हुनाले नै निर्विवाद रुपमा सहिदमा दर्ज भएका हुन्छन् । सहिद सम्बन्धित विश्वको मान्यता यही हो ।

नेपालको इतिहासले चिनेका वा नचिनेका तर राज्यले प्रमाणित गरेका सहिदहरूको सूची लामो छ । सूचीमा नाम र बिवरण थपिँदै गएको छ । सहिद घोषणा गर्ने प्रक्रिया, प्रचलन र प्रवृत्तिले गर्दा बास्तविक सहिदको अवमूल्यन भएको भनी व्यापक चर्चा हुने गरेको छ । सहिद परिवार समेतको गुनासो छ । विसं २०४८ सालदेखि २०७९ माघ १६ गते सम्मको गृहमन्त्रालयको अभिलेखमा सहिदको संख्या १२ हजार १९७ पुगेको देखिन्छ्र । यो वर्ष थप २६०१ जनालाई सहिद घोषणा गर्ने तयारी भएको बुझिन आए अनुसार अब यो संख्या १४ हजार ७९८ जना पुग्ने छ ।
मानव अधिकार आयोगको प्रतिवेदन सन् २०१२ तथा इन्सेकले प्रकाशन गरेको द्वन्द्वपीडित पाश्र्वचित्र अनुसार थप चार हजार ७७८ जना मारिएका र ९३१ जना बेपत्ता पारिएकाको विवरण समावेश छ । यो समेतको सत्य निरुपण भइसक्दा सहिदको सूची २० हजार नाघ्ने देखिन्छ ।
राजपत्रमा प्रकाशन भएको तथा विभिन्न मितिमा सरकारले निर्णय गरेको गृहमन्त्रालयको अभिलेख हेर्दा पाइएको सहिद सम्बन्धित विवरण यस प्रकार छ ।

१ ) २०५६ फागुन ९ गतेको मन्त्रिपरिषद्ले गोरखाका लखन थापा द्वितीय (१८९१–१९३३ )लाई नेपालका प्रथम सहिद भनी निर्णय गरेको थियो । देवी देवताप्रति आस्था र विश्वास गर्ने नेपाली समाजलाई मनकामनादेवीको आदेश भन्दै राणा विरुद्ध जनता जागरुक बनाउने अभियान चलाई रहेका लखन थापालाई मनकामना मन्दिर अगाडिको खिर्राको रुखमा झुण्ड्याएर छाला तरेर मृत्युदण्ड दिएको उल्लेख छ ( गृह पृष्ठ–लखन गाउँ पालिका ) । यही क्रममा अजय सिंह ,अछामी मगर , शुकदेव गुरुङ, मोटु सिंह बस्नेतले पनि साहदत प्राप्त गरेका थिए ।

२ ) २०४८ वैशाख ४ गते सरकारले चार जनालाई सहिदको सम्मान दिएको व्यहोरा प्रमाणित गरेको छ । २०१० माघ १६ गते तत्कालीन राजा त्रिभुवनले प्रजातन्त्र प्राप्तिको क्रममा सहादत प्राप्त गर्ने दशरथ चन्द, धर्मभक्त, शुक्रराज र गंगालाललाई सहिदको सम्मान दिएको व्यहोरा प्रमाणित भएको हो । राणाको विशेष अदालतले गरेको ज्यान सजाय र सर्वश्व हरणको आदेशपछि पनि निरंकुश सत्तासँग माफी नमागी चुनौती दिने चार जना वीर सहिदलाई १९९७ साल माघ १० गते राति शुक्रराज शास्त्री (४७ वर्ष )लाई टेकुको एक रुखमा र माघ १३ गते धर्मभक्त माथेमा (३१ वर्ष ) लाई सिफलको रुखमा झुण्डाइयो । दशरथ चन्द (३७ वर्ष ) र गंगालाल श्रेष्ठ (२२ वर्ष ) लाई शोभा भगवती पूर्वविष्णुमती किनारमा माघ १५ गते निर्ममतापूर्वक गोली ठोकेर मारियो ।

३) मन्त्रीपरिषद्को २०६३ जेठ २१ को निर्णय अनुसार जनआन्दोलनको क्रममा सहादत प्राप्त गर्ने २१ जना र २०६४ फागुन २१ को निर्णय अनुसार तराई आन्दोलनको घटना क्रममा सहादत प्राप्त गर्ने २४ जना गरी ४५ जनालाई सहिदको सम्मान दिने निर्णय गरेको पाइन्छ ।
४) मन्त्रिपरिषद्को २०६४ पुस ९ को निर्णय अनुसार ६ हजार ९४६ जना जनयुद्धका सहिद र २०६७ असार ९ को निर्णय अनुसार एक हजार ६२६ जना शसस्त्र द्वन्दका सहिद भनी आठ हजार ५७२ जनालाई सहिदको सम्मान दिने निर्णय भएको उल्लेख छ ।
५)२०६६ चैत १७ देखि २०७४ पुस २७ सम्म विभिन्न मितिमा बसेका बैठकले पटकपटकमा गरेको नौवटा निर्णय अनुसार तराई मधेस आन्दोलन, थरुहट आन्दोलनमा तथा तत्कालीन शासन विरुद्ध आवाज उठाउने क्रममा सहादत प्राप्त गर्ने समेत १२० जनालाई सहिदको सम्मान दिने निर्णय गरेको छ ।

६) मन्त्रिपरिषद्को २०७४ माघ २२ र २३ को निर्णय अनुसार छुट भएका २९७ जना, २०४८ मा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीति पीडित सहायता कोषले दिएको प्रतिवेदनमा उल्लेख भएका १९० जना गरी ४८७ जनालाई सहिदको सम्मान दिइएको छ ।

७) शसस्त्र द्वन्दको क्रममा सहादत प्राप्त गरेका राष्ट्रसेवकमा प्रहरी एक हजार ४४८ जना, सेना एक हजार १८ जना , सशस्त्र प्रहरी ३१८ जना , राष्ट्रिय अनुसन्धानका २३ जनालाई २०७५ माघ १४ को निर्णय र २०७६ असार ३ को निर्णय अनुसार ८७ जना समेत गरी दुई हजार ८९४ जनालाई सहिदको सम्मान दिने निर्णय छ । (नागरिक १६ माघ २०७५)

८) नेपाल राजपत्र २०७९ साल फागुन २९ संख्या ( ६४ ) मा नेपालको राष्ट्रहित ,लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि भएको शसस्त्र संघर्ष र क्रान्तिको क्रममा सहादत प्राप्त गर्ने ७५ जिल्लाका आठ हजार ४६४ जनालाई सहिद घोषणा गर्ने निर्णय भएको सूचना प्रकाशन भएको छ । राजपत्रमा ७७ जिल्लामध्ये मुस्ताङ र मनाङ बाहेक ७५ जिल्लाका सहिदहरुको विवरण समावेश छ । जसअनुसार सबैभन्दा बढी रोल्पामा ७५३ जना, रुकुमका ५८४ जना र कालिकोटमा ४३३ जना मारिएका छन् ।

९ ) अनौपचारिक क्षेत्र सेवा केन्द्र –इन्सेकले प्रकाशन गरेको मानव अधिकार वर्ष पुस्तक सन् १९९५ मा सहिद सम्बन्धित अध्ययन र वर्गीकरण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । सहिदको सम्बन्धमा भएको सो खोजमूलक प्रतिवेदन अनुसार इतिहासका विभिन्न मोडमा मुलुककको स्वाधिनता ,लोकतन्त्र र सामाजिक न्यायको लागि सहादत प्राप्त गर्नेहरूको विवरण यस्तो छ:
९.१) इतिहासको गर्भमा पुरिएका सहिदहरू विसं.( १८२४–१८५४-गौतम १९९५ ): नेपाल एकीकरणको कालमा अमरत्व प्राप्तगर्ने कालुपाण्डे, रामकृष्ण कुँवर, जगत जित पाण्डेलगायत थुप्रै देश भक्तहरू जसले ठूलो बलिदान गरेका थिए ।

९.२) राष्ट्रिय स्वतन्त्रताको लागि बलिदान भएका सहिदहरू (१८१९–१८४९ )–भक्ति थापा ,बलभद्र कुँवर ,अमरसिंहलगायत थुप्रै देशभक्तहरू मारिएका छन् ।

९.३) जंगबहादुर राणा विरुद्ध आन्दोलनको झण्डा उठाउने लखन थापा ,शुक्रराज ,धर्मभक्त ,दशरथ चन्द र गंगालाल र एक हजार ९३३ देखि एक हजार ९९७ सम्म राणा विरुद्ध बोले वापत थुप्रै जना मारिएका छन् ।

९.४) २००७ को क्रान्ति पछि पनि मारिने क्रम रोकिएन विसं २००८ देखि २०१७ साल सम्म चिनियाकाजी असर्फी यादव ,भीमदत्त पन्तलगायत ६ जना मारिएका छन् ।

१० ) पञ्चायती निरंकुशताको ३० वर्षमा पनि सहिदहरू ठूलो पंक्ति बनेको छ जो यस प्रकार छ:

१०.१ ) २०१८ माघ ५ मा जनकपुर काण्डका नायक दुर्गानन्द झा पक्राउ गरे पछि गोलीद्वारा हत्या गरियो । अरबिन्द र दलसिंहलाई आजीवन कारावास सजाय तोकियो ।

१०.२) विसं २०१८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न ठाउँमा शसस्त्र शंघर्ष सुरु भयो । विसं २०१८ माघ २७ गतेको भरतपुर कव्जा गर्ने योजनाका साथ भएको गेष्टहाउस काण्डमा १८ जनालगायत देशभर १०० जना भन्दा बढीको हत्या भयो ।

१०.३) २०२८ सालको झापा संघर्षमा सयौं जना पक्राउ परेका मध्ये नेत्र घिमिरे, रामनाथ दाहाल, बिरेन राजबंशी , कृष्ण कुइँकेल, नारायण श्रेष्ठ गरी ५ जनालाई जेल सार्ने क्रममा सुखानीको जंगलमा गोली हानी हत्या भयो । जन्म कैदको सजाय पाएका केही जनाले मृत्यु वरण गरेका थिए ।
१०.४) २०२९ सालमा जनकपुरको जदुकोहामा भएको विद्यार्थी आन्दोलनको क्रममा कामेश्वर मण्डल,कुशेश्वर मण्डल र कन्नी गोइत मारिएका थिए ।

१०.५) पञ्चायती व्यवस्था विरुद्ध योजनाकारको आरोपमा नक्खु जेलमा राखिएका लिलानाथ दाहाल , ठगी दाहाल, गोकर्णबहादुर कार्की र खगेन्द्रराज दाहालसमेत चार जनालाई २०३१ असौज १३ गते जेल सार्ने निहुँमा गोली हानी हत्या गरिएको थियो ।

१०.६) २०३१ सालमा क्याप्टेन यज्ञबहादुर थापाको नेतृत्वमा ओखलढुंगा कव्जा गर्ने योजनाकासाथ ओडारमा बसेको बेला सरकारी सेनाले बम प्रहर गरी ठूलो संख्यामा मुक्तिसेनालाई मारेको थियो । समातेर केन्द्रीय कारागारमा राखेका यज्ञबहादुर थापालाई र २०३१ को बिराटनगर बम काण्डको सिलसिलामा समातिएका भीमनारायण श्रेष्ठलाई २०३५ माघ ४ गते जेलबाट निकालेर गोली हानी हत्या गरिएको थियो ।

१०.७ )२०३६ सालमा धनकुटाको छिन्ताङमा भएको चर्चित काण्ड व्यवस्था विरोधी गुरिल्ला सखाप पर्ने योजनाका साथ चलाइएको राज्य आतंक थियो । शिक्षक बम देवान र गोविन्द विकलको अगुवाइमा सामन्त विरुद्ध विद्रोह हुन थालेपछि १५ जनालाई छानेर हत्या गरिएको थियो ।
१०.८) २०३६ साल जेठ १५ गते सुर्खेतमा किसान, विद्यार्थी र शिक्षकको विशाल जुलुस निस्केर जिल्ला प्रशासन कार्यालयमा माग प्रस्तुत गर्न जाँदै थियो । लुकेर बसेका प्रहरीले गोली चलाउँदा सात जनाको घटना स्थलमानै मृत्यु ।

१०.९ ) विसं २०४० सालको पिस्कर काण्ड इतिहासमा भुल्न नसकिने काण्ड हो । पिस्कर महादेवस्थानमा माघेसंक्रान्तिको मेलामा कलाकारहरूबाट आयोजित सांस्कृतिक कार्यक्रममा प्रहरीले गोली चलाउँदा तत्काल घटना स्थलमा इले थामी र बीरबहादुर थामीले सहादत प्राप्त गरे । पछिको दमनको क्रममा १५ दिनकी सुत्केरी कान्छी थामी र उनको छोराको ज्यान गएको थियो ।

१०.१० ) विसं २०४२ जेठ १० गतेबाट नेपाली कांग्रेसले अघि सारेको सत्याग्रह र असार ६ गते भएको नारायणहिटीलगायतका स्थानमा भएको बमकाण्डमा ७ जनाको मृत्यु भएको थियो भने ८ जना प्रहरी हिरासतबाट बेपत्ता बनाइएको थियो ।

१०.११ ) २०३६ –२०४१ सालको शिक्षक आन्दोलन निकै चर्चित र सशक्त आन्दोलन थियो । त्यो समय र त्यस पछिका समेत आन्दोलनले शिक्षा र शिक्षण पेसालाई ब्यबस्थित गर्न ठूलो योगदान दियो भने निरंकुशताको जरा हल्लाइदिएको थियो । तर, आन्दोलनले थुप्रै शिक्षकको बलिदान र जागिर गुमाएर ठूलो मूल्य चुकाउनु परेको थियो । मीनबहादुर चन्द, टंक भुसाल– अविकेशरी भारती, गोविन्द दाहाल, रामदेव पण्डित, सुरेश सेर्बुजा, कृष्ण पौडेल ,ईश्वरी दत्त शर्मा, लालबहादुर बम, विश्वबहादुर खड्का, छविलाल घिमिरे, शिव नेपाल , रामप्रसाद चौधरी , महेन्द्र यादव , भवानी शंकर कार्की, पुष्पा घिमिरे, रीता शिल्पकार, कालीबहादुर बस्नेत लगायत डेढ दर्जन बढी शिक्षक आन्दोलनका क्रममा मारिएका छन् । शिक्षक आन्दोलनलाई सघाउने क्रममा युवा विद्यार्थीहरू गाण्डिव श्रेष्ठ र मिना ढकालले पनि सहादत प्राप्त गरेका छन् । १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा राज्यबाट तथा विद्रोहीको तर्फबाट गरी २०० भन्दा बढी शिक्षकले सहादत प्राप्त गरेका छन् । थुप्रै शिक्षक बेपत्ता छन् । राज्यले सहिद घोषणा गरेको द्वन्द्वकालको सूचीमा पनि थुप्रै शिक्षकहरूको नाम सामेल छ ।

१०.१२) २०४६ सालमा ५० जनाको मृत्यु र सयौंको अंगभंग भएको, २०४६ मा प्रजातन्त्र प्राप्ति पछि जनसरोकारका सबालमा भएका आन्दोलनमा २०४८ देखि २०५० सम्म इन्सेकको अभिलेखमा ३२ जनाको हत्या भएको देखिन्छ ।

२०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदका परिवारलाई सरकारले तत्काल जनही एक लाख रुपयाँ र २०६२–६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई सहिद घोषणा गरी परिवारलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको थियो । १० वर्षे सशस्त्र द्वन्द्वमा मारिएका परिवारलाई जम्मा एक अर्ब ६१ करोड ९० लाख रूपैयाँ राहतस्वरूप उपलब्ध गराएको थियो ।

सहिदको मापदण्ड, परिभाषा तयार तथा विवरणसहित संख्या निर्धारण गर्न २०६६ सालमा मोदनाथ प्रश्रितको संयोजकत्वमा र २०६८ सालमा नवराज सुवेदीको अध्यक्षतामा गठन भएका आयोगले प्रतिवेदन बुझाए पनि सहिदका बारेमा हुने गरेका विवाद र गुनासो अन्त्य हुन सकेनन् । स्वतन्त्रता संग्राम, राजनीतिक उद्देश्य प्राप्ति, जनआन्दोलन, निरंकुशता विरुद्ध कुन क्रममा सहिद भएको भनी वर्गीकरण गर्न चाहेको र सकेको देखिएन । २०६४ जेठ ११ गतेको निर्णयअनुसार गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारक अझै अलपत्र छ भने सहिदगेट समेत आजभोलि ओझेलमा परेको देखिन्छ ।

सहिद घोषणा गर्ने विधि र प्रक्रिया ,सहिदको पटक पटक लम्बिदै गएको सूची र सहिदका सपना माथिका खेलबाड हेर्दा सहिदको अवमूल्यन भएको छ । परिवारको बिचल्ली भएको छ । जिउँदा सहिद भएर बचेकाहरू र सहिद परिवारको मन धर्धर्ती रोएको छ । सम्बन्धित विज्ञता भएका अध्येता/आयोगबाट खोज अनुसन्धान÷सत्य निरुपण गरी सहिदको सूची पुनरावलोकन ,निर्माण ,वर्गीकरण गर्ने काम हुन आवश्यक छ । सोही अनुसार ऐन नियम बनाएर सहिद सम्बन्धित मुद्दा टुंग्याउन सकेमा मात्र सहिद प्रति सम्मान हुने छ । साथै सहिदले जेको लागि बलिदान गरेका थिए त्यस्तो मुलुक किन बन्न सकेन भन्ने विषयमा निर्मम समीक्षा गर्ने र सहिदको रगत खेर जना नदिने राष्ट्रिय प्रतिबद्धता र कार्यान्वयनको समय बद्ध मार्ग चित्र बन्न सकेमा आश गर्ने ठाउँ हुने छ । सहिद प्रतिको सच्चा सम्मान हुनेछ ।

(लेखक सापकोटा शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार हुन् ।)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>