कृषि

राम्रो चेकजाँच नहुँदा अवैधरुपमा पशु ढुवानी बढेको भन्दै पशु अधिकारकर्मी चिन्तित

Banner

पूजा ढकाल

चितवन, माघ १५-

बोइलर कुखुरा मोटरसाइकलको लेगार्डमा झुन्ड्याउँदै ओसारपसार गर्ने गरेको दृश्य हामी दैनिकरुपमा देख्छौं । खोरदेखि बधशालासम्म यसरी कुखुरा ओसारपसार गर्दा उनीहरुलाई यातना हुने गरेको छ । कुखुरामात्र होइन अन्य पशुपन्छीको पनि ओसारपसार गर्दा पनि यसरी नै यातना दिने गरिएको छ । यसरी पशुपन्छी ओसारपसार गर्दा पशु अधिकारको हनन हुने गरेको भन्दै अधिकारकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

भरतपुरमा सोमबार भएको कार्यक्रममा एनिमल नेपालका सुपरभाइजर रामचन्द्र आचार्यले किसानले बाच्छाको उचित व्यवस्थापन गर्न नसक्दा पशु सेवा ऐन–२०५५ को निमावली पालना हुन नसकेको बताएका छन् । उनले महानगरसँग बाच्छा व्यवस्थापन गर्न माग पनि गरे ।
एनिमल नेपाल चितवनले जिल्लाको दूध उत्पादक किसानले गाईको बाच्छाको व्यवस्था गर्न नसकेको बताउँदै महानगरपालिकाले किसानलाई बाच्छा व्यवस्थापन गर्न पनि अनुदान दिनुपर्ने बताएको छ । साथै भरतपुर–१ को रामनगरमा रहेको पशु क्वारेन्टाइनमा समेत दुवानी गरेका पशुलाई झारेर चेकजाँच गर्ने ठाउँ अभाव रहेको उनले बताए । उनले भने, ‘हामीले भूमि आयोग, वन कार्यालय, महानगरलगायतका निकायमा तारबार लगाएर चेकजाँच गर्न मिल्ने सहज ठाउँको व्यवस्था गर्न अनुरोध गरेका छौँ ।’

त्यस्तै पशु सेवा ऐन–२०५५ तथा निमावली–२०५६, पशु दुवानी मापदण्ड–२०४६ अनुसार हरेक दुवानी गाडीमा कपास, टिक्चर वेन्जवाइन, व्यान्डेज, हिमेक्स चार्मिल मलम, बेटाडिन, सिजर, टिक्चर आयोडिन, ड्रेसिङ फोरसेफ, पोटासियम परम्याग्नेटसहितको प्राथमिक उपचार बाकस हुनुपर्ने नियम छ । तर, अधिकारकर्मीहरुले निमावली फोटोकपी गरेर दिँदा पनि गाडीले नियम पालना नगरेको उनले बताए । कानुनमा शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडीमा गर्नु हँुदैन । राँगाभैसीसँग पाडापाडी मिसाउन नहुने नियम छ । तर, फरक गाडीमा दुवानी गर्दा ढुवानी खर्च धेरै लाग्ने भन्दै नियम पालना नगरेको पशुअधिकारकर्मीले बताएका छन् । आचार्यले भने, ‘एउटै गाडीमा मिसाएर नियमावली विपरित पशु दुवानी गर्दा जरिवाना रकम निकै कम छ । ढुवानीकर्ताले जरिवाना रकम तिरेर एउटै गाडीमा पशु ढुवानी गर्छन् ।’

पशु अधिकारकर्मीका अनुसार ऐनमा सबै राँगाभैँसी, खसी बोकाको मुख, टाउँको ड्राइभर पट्टी फर्काउनु पर्ने, नाकमा र पुच्छरमा बाँध्न नहुने, राँगाभैँसी, बोका खसीले टेक्ने भूइँमा ६ इन्च बाक्लो भुस पराल वा सोत्तर हाल्नु पर्ने, पशुलाई चोट नलागोस् भनेर गाडीको साइडमा फम (नरम वस्तु) टाँसेको हुनुपर्ने नियमावली छ ।

त्यस्तै एनिमल नेपालका सुपरभाइजर आचार्यले दिएको जानकारी अनुसार कानुनमा ठूला पशुलाई प्रति पशु ०.८४ देखि १.२७ वर्ग मिटर स्थान उपलब्ध गराउनु पर्ने एउटा ट्रकमा २० वटा मात्र राँगा भैसी ढुवानी गराउने, दैनिक ८ घण्टा भन्दा बढी गाडीमा दुवानी गराउन नपाइने, गाडीमा घाँस, पराल र दाना राख्नुपर्ने, गाडीमा ८ घण्टा ढुवानी गरेपछि पशुलाई ओरालेर दाना पानी खुवाउनु पर्ने व्यवस्था छ । त्यस्तै, गाडी ४० किलोमिटर प्रति घण्टाको रफ्तारमा वा सो भन्दा बिस्तारै हाँक्ने र झ्याप्प ब्रेक लगाउन नपाउने नियम रहेको छ ।

तर, नेपालको निमावलीमा यस्ता ऐन भए पनि क्वारेन्टाइनमा राम्रो चेकजाँच नहुँदा र जरिवाना रकम कम हुँदा दैनिक ऐन विपरित पशु दुवानी हुने गरेको आचार्यले बताए । उनले यसरी ऐन विपरित दुवानी गर्दा पशुको मृत्यु हुने, सिङ भाँचिने, पुच्छर चुडिने, नाकमा घाउँ समेत हुने गरेको जानकारी दिएका छन् । उनको अनुसार विशेषगरी ऐन विपरित पशु ढुवानी गर्दा मुख्यतया भैँसी र राँगा सबैभन्दा धेरै पीडामा छन् ।
सन् २००८ बाट पहिलो पटक काम सुरु गरेको एनिमल नेपालले चितवनमा काम गरेको चार वर्ष भएको कार्यक्रम प्रमुख सुलक्षणा राणाले बताइन् । उनको अनुसार ललितपुरको धोवीघाटमा मुख्य कार्यालय रहेको एनिमल नेपालले अहिले काठमाडौँ, चितवन, गोरखा, पोखरा, बारालगायत देशका विभिन्न ठाउँमा रहेर काम गरेको छ । अहिलेसम्म एनिमल नेपाललेसामुदायिक कुकुरहरुको बन्ध्याकरण, जनावरहरुको कल्याणकारी कार्यक्रम, अण्डा उत्पादन गर्ने कुखुराहरुको लागि पिँजडा मुक्त अभियानकासाथै मासु खपतका लागि ढुवानी गरिने राँगाभैसी, कुखुरा, खसीबोकाहरुको कल्याण सुनिश्चितताको विषयमा वकालत गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>