चितवन विशेष
भरतपुरमा सामुदायिक विद्यालयमा गुणस्तर सुधार्न शिक्षक संघले थाल्यो अभियान

चितवन, माघ १३-
नेपाल शिक्षक संघ भरतपुर महानगर समितिले शिक्षामा गुणस्तरको अभियान थालेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको लागि संघको महानगर समितिले बहस सुरु गरेको हो ।
सामुदायिक विद्यालयको समस्या र चुनौती पहिचानको लागि महानगरपालिकाका सरोकार पक्षसँग अन्तर््क्रिया गरेर सुझाव संकलन गरेको छ । संघमा आवद्ध शिक्षक , विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष , काँग्रेसबाट निर्वाचित भरतपुर महानगरका वडाध्यक्ष , भरतपुर महानगरपालिका उपप्रमुखसहित कांग्रेसका जिल्ला नेतृत्वसँग सामुदायिक विद्यालयको गुणस्तर बृद्धि गर्न सामुहिक छलफल गरिएको थियो । शिक्षक संघमा आवद्ध विद्यालयका प्राचार्य, कांग्रेसमा आस्थावान विद्यालयका अध्यक्ष र शिक्षकहरुले सामुदायिक विद्यालयमा अभिभावकको विश्वास बढाउनमा ऐक्यबद्धता जनाएका छन् । उनीहरुले शिक्षामा गुणस्तर बढाउन लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
शिक्षकहरुले विद्यालयको विकास र शिक्षकको मनोबलमा हस्तक्षेपलाई समस्या देखाएका छन् । समुदायको विश्वास नभएको स्वीकार गर्दै विद्यार्थीको आकर्षण बढाउन लाग्ने बताएका छन् । आदिकवि भानुभक्त माविका प्राचार्य डम्बरबहादुर शाहीले शिक्षामा कुनै पनि तरिकाबाट हस्तक्षेप नभए गुणस्तर बढ्ने बताए । चुनौती र समस्या भए पनि समन्वयबाट समाधान गर्न सकिने बताउँदै इच्छाशक्तिले मात्रै नतिजा आउने गरी काम गर्न कठिन नभएको बताए । ‘शिक्षामा हस्तक्षेप रोकिने हो भने भने अनुसारको नतिजा आउँछ , ’ उनले भने , ‘ समुदायको विश्वास फर्काउन अब पनि नलाग्ने हो भने पेशागत विश्वास नै धरापमा पर्छ । त्यसका लागी स्थानिय तहको समन्वय र सहयोगको खाँचो छ । ’
चितवन माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीले नाम र दामको लागि नभई कामको लागि अग्रसर भए गुणस्तर बढ्ने बताए । उनले तलबको लागि मात्रै विद्यालय जाने परिपाटी र सोच त्यागेर काम गरे परिणाम देखिने बताए । उनले शिक्षकलाई केबल तलबको लागि मात्र जागिर नभनी विद्यार्थीको सिकाईको उपलब्धिसँग जोडिनुपर्ने बताए । अधिकारीले शिक्षकको समयानुसार बृद्धिविकास र सुविधा बढाउन पन माग गरे । ‘ सामाजिक र विद्यार्थीप्रतिको दायित्व सम्झिए विद्यालय आफैं बन्छ , ’ अधिकारीले भने , ‘मेरो र तेरो मान्छे ल्याउने नाममा दरबन्दी राख्दा पनि विग्रेको छ । राम्रा र योग्य शिक्षक ल्याए विद्यालयको शैक्षिक अवस्था सुधारिन्छ । ’
नेपाल शिक्षक संघ भरतपुरका अध्यक्ष बटुकलाल तामाङले सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन शिक्षासँग सरोकार राख्ने पाँच पक्षसँग छलफल कार्यक्रम आयोजना गरेको बताए । उनले सहयोगसँगै गुणस्तरीय शिक्षा र संगठन विस्तार वारे बहस चलाएको बताए । ‘ सामुदायिक विद्यालयको अवस्था र हामीले नेतत्व गरेको भूमिकालाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हौं, ’ उनले भने , ‘ महानगरका वडा , विद्यालयका अध्यक्ष , र प्रधानाध्यापकको अवस्था वारे जानकारी होस् भनेर पनि कार्यक्रम गरेका हौ ।’
कार्यक्रममा नेपाल शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरी , नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष इन्दिरा मरहट्टठा , नेपाल शिक्षक महासंघका अध्यक्ष कोमलनाथ घिमिरेले शिक्षामा देखिएका चुनौती , समस्या र समाधानको पक्ष बारे सुझाव दिएका थिए । स्थानीय तहको तर्फबाट भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय तहबाट समन्वय र सहयोगको लागी आफूसंधै तयार रहेको बताए । ‘ सामुदायिक विद्यालयमा अभिभाबकको विश्वास छैन , सबै सुविधा भएर पनि पछाडि परेको छ , ’ उनले भने , ‘ शिक्षाको गुणस्तरका लागि थप के गर्ने हो हो आउनुहोस्, संगै मिलेर अब देखिने गरी काम गरौं । ’ कार्यक्रममा कांग्रेसका जिल्ला तहका नेताहरुले सहयोग र समन्वयको लागी प्रतिबद्धता जनाएका थिए ।























