Breaking News

पालिका र प्रधानाध्यापक द्वन्द्वमा रत्ननगरको नेपाल नमूना मावि,आठ महिनादेखिको तलब रोकियो

Banner

रत्ननगर,माघ १०-

रत्ननगर नगरपालिका–२ टाँडी बजारमा रहेको नेपाल नमूना माध्यमिक विद्यालय नगरपालिका र प्रधानाध्यापक द्वन्द्वमा परेपछि अभिभावकलाई शैक्षिक गुणस्तर खस्किने चिन्ताले पिरोलेको छ । लामोसमयदेखि प्रधानाध्यापकको रुपमा कार्यरत प्रधानाध्यापक बुद्धिराज सुवेदीलाई नगरपालिकाले सरुवा गरेर मोहना माविमा लगेसँगै द्वन्द्वको चपेटामा विद्यालय परेको हो । प्रधानाध्यापक र नगरपालिकाबीचको द्वन्द्व अझै समाधान हुन नसक्दा अभिभावक चिन्तित बनेका छन् । नगरपालिकाको दोष प्रधानाध्यापकलाई दिने गरेको छ भने उच्च अदालत हेटौंडा इजलाशको आदेशमा प्रधानाध्यापक बनेका सुवेदी नगरपालिकालाई दोष दिन्छन् । दुवैको घमण्डले विद्यालयमा समस्यामा परेको देखिन्छ ।

अंग्रेजीमा स्नातकोत्तर गरेका सुवेदी २०७७ साल माघ ९ गतेको विज्ञापनबाट छानिएर नमूना माविको प्रधानाध्यापक बनेका थिए । तर, उनलाई नगरपालिकाको शिक्षा समितिले भदौ १३ गते मोहना माविमा सरुवा गरेपछि विज्ञापनबाट छानिएर आएका प्रधानाध्यापक सुवेदी र नगरपालिकाबीच द्वन्द्व सुरु भयो । असोज २४ गतेसम्म प्रधानाध्यापक बन्ने समय हुँदाहुँदै असोज १७ गते विद्यालयमा रामहरि भण्डारीलाई नगरपालिकाले निमित्त प्रधानाध्यापक बनायो । तर, नमूना विद्यालय सञ्चालन निर्देशिका–२०७४ मा पूर्णअधिकारसहितको प्रधानाध्यापक नमूना विद्यालयमा हुनुपर्ने व्यवस्था छ ।

शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार रमाकान्त सापकोटाले अन्य विद्यालय र नमूना विद्यालयको हकमा प्रधानाध्यापक बन्ने प्रावधान केही फरक भएको बताउनुभयो । प्रधानाध्यापक छनोटको मापदण्ड पूरा गरेर मात्र नियुक्त गर्नुपर्ने उहाँले बताउनुभयो । विद्यालयको तालाचाबी प्रधानाध्यापक सुवेदीसँग हुँदाहुँदै उहाँसँग सल्लाहसम्म नगरी निमित्त प्रधानाध्यापक नियुक्त गरेसँग द्वन्द्वमा झनै घिउ थप्ने काम भयो ।

नेपाल माविबाट सरुवा भएर मोहना मावि गएका सुवेदी उच्च अदालतको फैसलाबाट फेरि नेपाल नमूना माविमा नै हाजिर भएका छन् । अदालतको आदेशले उनी प्रधानाध्यापकको रुपमा कुर्चीमा बसेका छन् तर काम गर्न सकेका छैनन् । अदालतले प्रधानाध्यापकको रुपमा काम गर्नु भन्ने आदेश दिए पनि नगरपालिकाले सहजीकरण तथा सहयोग नगर्दा उनी समस्यामा परेका हुन् ।

सुवेदीले विगत आठ महिनादेखिको तलब पनि पाउन नसकेको गुनासो गर्दै आएका छन । निमित्त प्रधानाध्यापकमा रामहरि भण्डारी नियुक्त भएसँगै उनले कागजपत्र राख्दै आएको दराज फोरेर सबै माइन्यूट र तालाचाबी कब्जा गरिएको छ । उनले अहिलेसम्म तालाचाबी पाएका छैनन् । अर्काेतिर आफूलाई सहयोग गरेको आरोपमा मोहना माविका निमित्त प्रधानाध्यापक राजु चापागाईंलाई पनि तलब रोक्का गरी नगरपालिकाले कारबाही गरेको सुवेदीले बताए ।

सुवेदीले भने, ‘एउटा सिंगो नगरपालिका मेरो पछि लागेको छ । म लड्दा लड्दा थाकिसकेँ, मैले निकै यातना भोगेको अनुभव गरेको छु । साउनदेखि तलब पनि पाएको छैन ।’ सुवेदीले अदालतको आदेश अनुसार प्रधानाध्यापकको काम गरिरहे पनि तालाचाबी, माइन्युट नपाउँदा समस्या भएको बताए । नगरपालिका र प्रधानाध्यापकको द्वन्द्वले गर्दा विद्यालयको शैक्षिक गुणस्तर निरन्तर ओरालो लाग्दै गएको छ । विषय शिक्षकको कक्षा मिलाउनै कठिन भएको छ । जथाभावी शिक्षक सरुवाले गर्दा नेपाली विषयको शिक्षकको अभाव नै भएको छ । विद्यालयका अभिभावक केशव श्रेष्ठले अपसी द्वन्द्वले नमूना विद्यालय नाम मात्रको नमूना हुने हो कि भन्ने चिन्ता लाग्न थालेको बताए । उनले भने, ‘प्रधानाध्यापकले काम गर्न नपाउने र नगरपालिकाले सहयोग नगर्ने प्रवृत्ति विद्यालय डुबाउने मेसो हो ।’

यसै द्वन्द्वमा परेर आईसीटी ल्याबको परियोजना सफल हुन सकेन । अन्य शैक्षिक गुणस्तरका कार्यक्रममा पनि प्रस्तावना पेस गर्न विद्यालय असफल बन्दै आइरहेको छ । रत्ननगर शिक्षा शाखाका प्रमुख नारायणप्रसाद वाग्लेले अदालतको आदेशपछि सुवेदीले पदस्थापनाको लागि नगरपालिकामा निवेदन नदिएकोले समस्या भएको बताए । प्रधानाध्यापकको रुपमा निवेदन दिएर माग गरेपछि सुवेदीले रोकिएको तलब पाउने वाग्लेले बताए ।

उनले सुवेदी मात्र नभई धेरै जना शिक्षक नगरपालिकाको शिक्षा समितिले सरुवा गरेको तर सुवेदीले सरुवा नमान्दा समस्या सिर्जना भएको बताए । यसरी नमूना माविमा देखिएको प्रधानाध्यापक र नगरपालिकाबीचको द्वन्द्वको मारमा विद्यार्थी र अभिभावक पर्ने हुन् कि भन्ने चासो र चिन्ता रत्ननगरमा बढ्दै गएको छ । नेपाल नमूना माध्यमिक विद्यालयको स्थापना वि.सं. २०१३ साल माघ २ गते महेन्द्र राप्रावि देबौलीको नामबाट भएको थियो ।

तत्कालीन समयमा टाँडी क्षेत्रको बढ्दो जनसंख्याले विद्यालयको आवश्यकता महसुस गरी यस विद्यालयको स्थापना भएको हो । विद्यार्थीहरूको बढ्दो चाप र स्थानीय अभिभावकको चाहनालाई कदर गर्दै स्थानीय व्यक्तिहरूको सक्रियतामा विसं. २०२१ जेष्ठ ३० गते निम्न माध्यमिक विद्यालय सञ्चालन गर्न स्वीकृति प्राप्त भयो । तत्पश्चात वि.सं. २०२३ साल साउन २४ गते अनुमति पाई त्यसै साल भदौ १५ गते स्वीकृति लिई अहिलेको मूल भवनमा नेपाल माध्यमिक विद्यालयको नामले माध्यमिक कक्षा सञ्चालन प्रारम्भ भएको थियो ।

शिक्षा विभागको मिति २०७४ असार २५ गतेको निर्णय अनुसार यस विद्यालयलाई नमूना विद्यालयको रुपमा छनोट गरिएको छ । यस अनुरुप विद्यालयले नमूना विद्यालय गुरुयोजना (२०७५) समेत निर्माण गरी कार्यक्रमहरू समेत अगाडि बढाइएको छ । प्रधानाध्यापक र नगरपालिकाबीच देखिएको टकराब अझै बढ्दै गएमा विद्यालय नमूना विद्यालय गुरुयोजनाको गतिबाट पछाडि फर्कने सम्भावना देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>