चितवन विशेष

चितवनको सानोगढीमा बढ्यो वनभोजको रौनक, दैनिक दुई दर्जन समूह सहभागी

Banner

निरुता विक

चितवन, माघ ७-

भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनभित्र रहेको सानोगढी वनभोजका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ ।

ज्ञानेश्वर सामुदायिक वन उपभोक्ता समूहद्वारा निर्माण गरिएको गढीमा वनभोज खानका लागि र घुम्न दिनहुँ सयौँको संख्यामा पर्यटकहरु आउने गरेका छन् । शनिबार मात्र २४ समूह वनभोज खान पुगेका थिए ।

प्रायजसो सोमबार, शुक्रबार र शनिबार वनभोजका लागि यहाँ पर्यटकहरु आउने गरेको समूहकी अध्यक्ष निर्मला श्रेष्ठले नारायणी अनलाइनलाई बताइन् । शनिबार तथा बिदाको दिनमा स्कुल, कलेज, कार्यालय, समूह तथा संघसंस्थाबाट पिकनिक खान तथा घुम्न आउने आन्तरिक पर्यटक संख्या बढी हुने गरेको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले भनिन्, ‘ यहाँ शनिबार २४ जनाको समूह वनभोज खाना आएका छन् । एउटा समूहमा विद्यार्थीको समूह १०० जना छन् भने अन्य समूह, क्लबबाट आउने समूहमा ३० देखि ३५ जना हुन्छन् ।’ उनले सार्वजनिक बिदाको दिनभन्दा अरु दिनमा वन भोज र घुम्नको लागि कम पर्यटक आउने गरेको जानकारी दिइन् । अध्यक्ष श्रेष्ठले मुख्यतया असोजदेखि फागुनसम्म वनभोज खानको लागि पर्यटकहरु आउने गरेको उनी बताउँछन् । गर्मीयाममा पर्यटकको चहलपहल कम हुने गरे पनि जाडो याममा भने पर्यटक बढ्ने गरेका छन् ।

वनभोज खानको लागि १५ ओटा स्टल रहेको छ । सबै स्टलमा पर्याप्त पिउने पानी, विद्युत्, दाउरा, भाँडाकुँडालगायतको सुविधा छ । घुम्न आउने पर्यटकलाई प्रतिव्यतिm २५ रुपैयाँ शुल्क लाग्छ । वनका उपभोक्ता सदस्यलाई भने प्रवेश शुल्क निःशुल्क गरिएको छ । साथै वनभोज खाना आउने उपभोक्ता सदस्यहरुलाई ५० प्रतिशत छुट गरिएको छ । अध्यक्ष श्रेष्ठले भनिन् ,‘चितवनबाट मात्रै नभई गोरखा, तनहँु, नवलपुर, विरगंज, मकवानपुरलगायत देशका विभिन्न ठाउँबाट वनभोजका लागि यहाँ पर्यटक आउने गरेका छन् ।’

वनभोजको लागि मानिसहरुको आकर्षण बढेको यस ठाउँमा नारायणी नदीको दृश्यावलोकन र जंगली जनावरको समेत अवलोकन गर्न पाइन्छ । नारायणगढबाट करिब ८ किलोमिटरको दूरीमा रहेको सानोगढीमा वन्यजन्तु उद्धार केन्द्र पनि छ । यहाँ ‘बाँदर, अजिङगर, मयुर, खरायो, मृगलगायत चराचुरुङ्गीहरु पनि उद्धार गरी राखिएको छ । जंगलभित्र भेटिने घाइते जनावर तथा आमाको मृत्यु भएर टुहुरा बनेका जनावर, मानवबस्तीमा प्रवेश गर्ने जंगली जनावरलाई उद्धार गरेर यहाँ राख्ने गरिएको छ । गढीमा शुक्रस्मृति पार्कसमेत बनाएर आन्तरिक पर्यटकलाई घुम्नका लागि उत्कृष्ट गन्तव्य बनाउँदै लगिएको छ । यहाँ वनभोज खान र घुम्न आउनेहरु पनि यहाँको वातावरण देखेर मोहित हुने गरेका छन् । उनीहरुले नदी किनारको दृश्य,जनावर अवलोकन र पार्कदृश्य रमाइलो लाग्ने गरेको प्रतिक्रिया दिने गरेका छन् ।
पाखुरी टोल सुधार समिति गीतानगरबाट वनभोज खान आएकी ऋतु अधिकारीले नदी किनारको दृश्य, जनावर अवलोकन र पार्क दृश्य निकै नै रमाइलो लागेको बताइन् । उनले भनिन्,‘ यहाँ पिकनिक खानको लागिर घुम्नको लागि व्यवस्थापन राम्रो गरिएको रहेछ । पार्कमा विभिन्न थरीका फूलबारीसमेत रहेछ । धेरै नै रमाइलो लाग्यो ।’

गरिबी निवारण साना किसान समिति गितानगरबाट वनभोज खान आएकी सीता ढकालले पहिला आउँदा र अहिले आउँदा निकै नै फरक पाएको सुनाए । उनले भनिन्,‘म पहिला आउँदा धारा, बिजुली, पार्क थिएन । अहिले सबै रहेछ । सफा अनि निकै नै रमणीय देखिने पार्कसमेत निर्माण गरिएको रहेछ । धेरै नै रमाइलो र खुसी लाग्यो ।’ उनले आफ्नै ठाउँमा व्यवस्थित तरिकाले वनभोज खाने स्थल र पार्क निर्माण गरिएकोमा खुसी लागेको बताइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>