चितवन विशेष
भरतपुरमा न्यून आर्थिक अवस्थाका महिलाका लागि ४५ दिने व्युटिसिएन तालिम सुरु

चितवन, माघ ७-
भरतपुरमा ४५ दिने आधारभूत व्युटिसिएन तालिम सुरु भएको छ ।
उद्योग वाणिज्य संघ चितवनको तालिम कक्षमा उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका वडा नं १ को संयुक्तआयोजनामा आजबाट तालिम सुरु गरिएको हो ।
भरतपुर–१ का न्यून आर्थिक अवस्था भएका उद्यमी बन्न चाहने महिलालाई लक्षित गरी सञ्चालित तालिमको उद्घाटन भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जनले गरेका हुन् । उनले महिलाहरूले सिप सिकेर आत्मनिर्भर बन्दा महिला हिंसामा समेत कमी आउने बताए । उनले भने, ‘ तालिम सिकेपछि कमसेकम आम्दानीको क्षेत्रमा लाग्नुपर्छ ।’
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले महिला उद्यमशिलता विकासका लागि निरन्तर कार्यक्रम आयोजना गरिँदै आएको बताए । उनले सौन्दर्यकला व्यवसाय आफँैमा आत्मनिर्भर र स्वरोगजारमूलक व्यवसाय हुनुका साथसाथै मानव स्वास्थ्यसँग पनि सम्बन्धित भएकोले यसलाई थप व्यवसायिक र उत्तरदायी बनाउनुपर्ने बताउँदै थप तालिमको आवश्यकता भएमा आगामी दिनमा पनि यस किसिमको तालिम आयोजना गर्ने बताए ।
तालिमको उद्घाटन कार्यक्रममा चितवन ब्युटिपार्लर युनिटीका संस्थापक अध्यक्ष एवम् तालिमको मुख्य प्रशिक्षक योगिता पियाले तालिमका बारेमा जानकारी गराउँदै उनले तालिम लिँदै गर्दा तालिमबाट सिकेको सिपलाई आर्थिक उत्पादनमा जोड्छु भनी सिक्नका लागि निरन्तर प्रयास गर्नुपर्ने बताए ।
तालिमको उद्घाटन शत्रको समापन गर्दै उद्योग वाणिज्य संघ–चितवनका तृतीय उपाध्यक्ष नारायण प्रधानले उद्योग वाणिज्य संघ–चितवनले उद्यमशिल विकासका विभिन्न तालिमहरु दिँदै आईरहेको बताउँदैँ आत्मनिर्भर बनाउन संघ सधै लागिरहने बताए ।
तालिमको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका द्वितीय उपाध्यक्ष अशोक अधिकारी, कार्यकारी निर्देशक निलबहादुर केसी, कार्यसमिति सदस्य दिपा शाही, सन्तोषजनक भुसाल, दाताराम घिमिरे, सुनिता कर्मचार्य, भरतपुर महानगरपालिका वडा नं १ वडा सदस्य रमा परियार, वडा सचिव शिवजी अधिकारीलगायत प्रशिक्षार्थीको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गरेका छन् । ३०जना प्रशिक्षार्थीहरु सहभागिता रहने उक्त तालिम४५ दिन सम्म चल्ने छ ।
























