Breaking News

भरतपुरमा घरजग्गाको कारोबारमा अझै मन्दी, उत्साहित छैनन् व्यवसायी

Banner

चितवन, माघ ४-

सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा संशोधन गरे पनि कारोबारमा भने सुधार हुन सकेको छैन । मालपोत कार्यालय भरतपुरको तथ्यांकले चालु आर्थिक वर्ष पुस मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिए पनि कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्वमा भने खासै सुधार नभएको पाइएको हो ।

मालपोत कार्यालय भरतपुरमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल २३ हजार ५५९ वटा घरजग्गासँग सम्बन्धित विभिन्न शीर्षकका कारोबार भएको थियो । जसमा चार हजार ७० वटा लिखत पारित भएका थिए । सबैभन्दा धेरै कारोबार गत असोज महिनामा र सबैभन्दा कम कात्तिक महिनामा भएको छ । पुस महिनापछि समग्र कारोबार कात्तिक र मंसिर महिनाको भन्दा सुधार भएको देखिन्छ । मंसिर महिनामा ७४६ वटा लिखत पारित भएकोमा पुस महिनामा सो संख्या बढेर ७८२ पुगेको छ ।

त्यसैगरी मालपोत कार्यालय भरतपुरले मंसिर महिनामा आठ करोड ८६ लाख ५४८ रुपैयाँ राजश्व आम्दानी गरेको छ भने पुस महिनामा सो आम्दानी बढेर १० करोड ३३ लाख ३७ हजार २२९ रुपैयाँ पुगेको छ । यो तथ्यांकले मालपोतमा पुस महिनामा घरजग्गाको कारोबार केही बढेको देखिन्छ । मालपोत कार्यालयका अनुसार बढी मूल्यांकन भएका जग्गा कारोबार बढी हुँदा पूँजीगत लाभकर र रजिस्ट्रेसन दस्तुर पनि बढी उठ्ने गर्छ । अंशबण्डा, धितोबन्धक जस्ता कारोबार वृद्धि हुँदा राजस्व कम हुन्छ ।

नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सहज बनाउने भन्दै चालु आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत ५० लाखसम्मको आवासीय घर कर्जाको कर्जा आम्दानी अनुपात बढाएको छ । आम्दानीको ५० प्रतिशत मासिक किस्ता हुने गरी मात्रै कर्जा लगानी गर्न पाइने व्यवस्थालाई ६० प्रतिशत बनाइएको छ । यस्तै धितो मूल्यांकन आधारमा कर्जा पाउने सीमा (लोन टु भ्यालु रेसियो) पनि उपत्यकाभित्र ३० प्रतिशतम्म झारेकोमा त्यसलाई बढाउँदै लगेर ५० प्रतिशत कायम गरिएको छ । तर, यस क्षेत्रका व्यवसायीमा खासै उत्साह थपिएको छैन ।

यता भूउपयोग नियमावलीले जग्गा कित्ताकाटमा गरेको कडाइ र जग्गा वर्गीकरणलगायत समस्या पनि नियमावली संशोधनमार्फत सरकारले सहजीकरण गरिसकेको छ । त्यही पनि जग्गा कारोबारमा भने सकारात्मक प्रभाव पर्न नसकेको तथ्यांकले देखाउँछ ।

नीतिगत सुधारले व्यवसायी आशावादी भए पनि उत्साहित भने बन्न सकेका छैनन् । आर्थिक मन्दीमा सुधार नभएकोले पनि व्यवसायी उत्साहित बन्न नसकेका हुन् । नारायणी घरजग्गा व्यवसायी संघका उपाध्यक्ष जयराम खत्रीले भरतपुरको घरजग्गा व्यवसाय क्षेत्रमा सुधार हुँदै जाने आशा व्यक्त गरे । उनले भने, ‘ सुधार हुने हो कि भन्ने संकेत देखिएको छ । बैँकको महंगो व्याजदर र लगानीका कारणले समस्या हुने गरेको हो ।’ पहिले जस्तो चलायमान भने हुन नसक्ने उनले बताए ।

अर्का व्यवसायी गणेशबहादुर गुरुङले अन्य महिनाको तुलनामा पुसमा अलीअली कारोबार हुन थालेको बताए । उनले भने, ‘ मानिससँग पैसा छैन । सबै विदेश जाने मात्र भन्छन् । घरजग्गामा खासै मानिसले लगानी खर्न चाहेको देखिँदैन ।’ अब बैँकको व्याजदर घट्दै गएकोले कारोबार बढ्छ कि भन्ने आशावादी भने बन्न सकिने उनले बताए । यो व्यवसायमा ठूलो लगानी गरेर धेरै मुनाफा गर्ने सोचमा भने व्यवसायी देखिँदैनन् । गरेको लगानी उठाउने सुरमा मात्र अधिकांश व्यवसायी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>