Breaking News

रत्ननगर महोत्सवमा दैनिक हजारौं दर्शकको भीड, परम्परागत शैलीका घरहरु रोजाइमा

Banner

निरुता बिक

चितवन, माघ ३–

चितवनको टिकौली चौरमा जारी रत्ननगर महोत्सवमा परम्परागत शैलीमा निर्माण गरिएका घरहरु अवलोकनकर्ताको रोजाइमा परेका छन् ।

निकै आकर्षक शैलीमा निर्माण गरिएका घरहरु महोत्सवमा पुग्नेहरुले निकै रोचक मानेर हेर्ने र तस्विर खिच्ने गरेका छन् । आज मात्र १५ हजार बढी दर्शकले अवलोकन गरेको टिकट व्यवस्थापन समितिका संयोजक विनोद घिमिरेले नारायणी अनलाइनलाई जानकारी दिए । माघ १ गते ३५ हजार दर्शक र माघ २ गते २० हजार बढी दर्शकले अवलोकन गरेको उनले बताए । उनको अनुसार महोत्सव अपेक्षा गरे भन्दा बढीले अवलोकन गरेका छन् । घिमिरेले महोत्सवमा रहेका जनजातिका सांस्कृतिक घरहरु धेरै दर्शकहरुले रुचाउने गरेको जानकारी दिए । उनले भने, ‘ ती घरमा फोटो, भिडियो खिच्नेको भीड लाग्ने गर्छ । हरेक घरमा उनीहरुको संस्कृतिअनुसारको सामग्री राखिएकोले दर्शकको रोजाइमा परेको छ । यसबाट अहिलेको पुस्ताले पुरानो जातजाति र संस्कृतिको बारेमा जान्ने अवसर पाएका छन् ।’

नेपालको मैलिकता झल्काउने चार वटा घरमा परम्परागत रुपमा नेपाली समाजमा प्रयोग हुँदै आएका सामानहरु राखिएको छ । जसमा हलो, जुवा, जातो, ढिकी, लाल्टिन, ढोको, नाम्लो, गुन्द्री बुन्ने तानलगायतका सामग्री प्रर्दशनमा राखिएको छ । यहाँ थारु,गुरुङ, मगर,तामाङ जातिको संस्कृति झल्कने घर निर्माण गरिएको छ ।

थारु कल्याण कमिटी क्षेत्र नं ८ का क्षेत्रीय अध्यक्ष रामेश्वर महतोले थारु संस्कृति संरक्षण र प्रवद्र्धनका लागि थारु घर बनाएर प्रर्दशनमा राखिएको बताए । थारु घरमा टुकी, लाल्टिन, आँगनमा देउतालगायत सामग्री राखिएको अध्यक्ष महतोले सुनाए । उनले भने, ‘घरको छानोमा टुकी झुन्ड्याएर राखिएको छ । जसलाई थारु भषामा डिबरी भन्ने गरिन्छ । डिबरीबाट बिस्तारै विकास हुँदै लाल्टिन र लाल्टिनबाट बिजुली बत्ती बाल्न थालिएको छ ।’ घरको आगनमा देउता राखिएको उनको भनाइ छ । जसलाई भ्रह्मस्थान भनिन्छ । धान मकै तोरीलगायतको अन्नबाली उत्पादन गरी ब्रह्मस्थानमा चढाउने उनले जानकारी दिए । उनले थारु घर निर्माण गर्न उद्योग वाणिज्य संघले ७० हजार रुपैँया दिएको बताए ।

यस्तै गुरुङ जातिको संस्कृति झल्काउने घरमा गुरुङ पहिरनमा रहेकी कुमारी गुरुङले आफनो संस्कार संस्कृति जोगाउन महोत्सवमा परम्परागत शैलीको घर निर्माण गरिएको बताइन् । उनले गुरुङ घरमा ढिँकी, जाँतो, गुन्द्री बुन्ने तान, हलो जुवा, मौरीको घारलगायत सामग्री प्रर्दशनमा राखिएका सुनाइन् । उनले गुरुङको रीतिरिवाजमा यी नै सामग्री प्रयोग हुने बताइन् । उनले भनिन्, ‘अहिले कतिपय मानिसलेआफ्नो चालचलन रीतिरिवाज के हो भन्ने बिर्सिसकेका छन् । जसकारण महोत्सवमा यसरी गुरुङ समुदायको घर निर्माण गर्दा धेरैलाई थाहा हुन्छ । गुरुङ समुदायको घर यस्तो हुदो रहेछ ।’ घर प्रदर्शनमा राख्दा यस्तो पो हुँदो रहेछ हाम्रो संस्कृतिका घर सामग्रीहरु भनी अहिलेको बालबालिकालाई थाहा हुने उनको भनाइ छ ।

नेपाल मगर संघ नगर समितिका अध्यक्ष भुवनसिहं मगरले मगरको संस्कृति झल्कने घरमा जाँतो, झ्याल, रक्सी पार्ने चुलो, ढिकी र गुन्द्री बुन्ने तान राखिएको बताए । अध्यक्ष मगरले रत्ननगर उद्योग वाणिज्य संघले नेपाल मगर संघ नगर समितिलाई मगर घर निर्माण गर्ने जिम्मेवारी दिएको बताए । उनले संघले जिम्मेवारी दिएसँगै नौँ दिन लगाएर घर निर्माण गरिएको सुनाए । उनले पुर्खाहरुले प्रयोग गर्दै आएको परम्परागतशैलीको घर सामाग्रीप्रदर्शनमाराखिएको बताए । उनले भने, ‘पुर्खाहरुले प्रयोग गर्दै आएको परम्परागत शैलीको घर सामाग्रीप्रदर्शनमा राखिएको छ । अब आउने नयाँ पिढीले आफ्नो रीतिरिवाज, संस्कृति बिर्सिन्छन् कि भनेर मगर घर निर्माण गरी प्रदर्शनमा राखिएको छ । उनले अहिलेको पिँढीले आफ्नो रीतिरिवाज, संस्कृतिजोगाउनको लागि र पुस्ता हस्तान्तरण गर्नको लागि मगर समुदायको घर निर्माण गरि प्रर्दशनमा राखिएको सुनाए । उनले प्रदर्शनमा राखिएको सामाग्री रत्ननगर–११ मङगलपुरमा रहेको सङ्ग्रहालयबाट ल्याएको र महोत्सव सकिएपछि फेरि त्यही सङ्ग्रहालयमा राखिने जानकारी दिए ।

महोत्सवमा चितवनको कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ । महोत्सवमा मकैको उत्पादनलाई जोड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएको छ । मकै बालीको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव स्थलमा मकै बाली स्थापना तथा मकैको स्टाच्यु निर्माण गरिएको छ ।

महोत्सवमा रामपुर मकै बाली अनुसन्धान केन्द्रबाट २० प्रजातिका मकैको बारेमा जानकारी दिइएको छ । महोत्सव स्थलमा मकै बाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिएको छ । माघ ८ गतेसम्म चल्ने महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीयकला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहेका छन् । यसपटकको महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षागरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>