खैरहनी

चितवनको खिचरा महोत्सवमा दर्शकको मुख्य रोजाइमा थारुको मौलिक संस्कृति

Banner

पुजा ढकाल

चितवन, माघ ३-

आदिवासी थारु समुदायको कला संस्कार, संस्कृति र परिकारलाई प्रबद्र्धन गर्न चितवनको खैरहनीमा खिचरा महोत्सव गरिएको छ ।

खिचरा पर्वको अवसर पारेर गत शनिबारदेखि चितवनको खैरहनीमा ‘नवौं खिचरा महोत्सव’ सुरु भएको हो ।

आदिवासी थारु सुमदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ भनेर मनाउने गर्छन् । खिचराको अवसरमा हरेक वर्ष थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले महोत्सव गर्दै आएको छ । यसवर्ष पनि खैरहनी नगरपालिका वडा नम्बर ५ को गौचरनमा महोत्सव आयोजना गरिएको छ । थारु संस्कृतिलाई बुझ्न रहर गर्ने जोकोही महोत्सवमा पुग्ने गरेका छन् ।

महोत्सव स्थलमा थारु समुदायको हस्तकलाका सामग्री, घोँगी र चिच्चर पोकाको मुर्तीहरु प्रदर्शनीमा राखिएको छ । माडी नगरपालिका–१ का अमृत चौधरीले माघी थारुहरुको नयाँ वर्ष भएको बताए । उनी भन्छन् नयाँ वर्षको अवसर पारेर हरेक वर्ष खैरहनीमा ‘खिचरा महोत्सव’ लाग्ने गर्छ । जहाँ प्रदर्शनको लागि हरेक वर्ष स्थानीय रुपमा थारुले बनाएका हस्तकलाका सामग्री राखिन्छ । यस वर्षको महोत्सवमा पनि थारुहरुको घरमा माछा राख्न प्रयोग हुने ‘डेली’, थारुहरुको परम्परागत बाजा ‘झाली, हलो, आकाशे बत्ती, खाद्यान्न राख्न प्रयोग हुने डोहोरी, चुलोलगायतका सामगीहरु राखिएको छ ।’

पछिल्लो समय युवालाई आफूहरुको संस्कार तथा संस्कृतिबारे ज्ञान नभएकोले मेला महोत्सवमा यस्ता सामग्रीहरुको प्रदर्शनमा जोड दिन आवस्यक रहेको चौधरीको भनाइ छ । उनका अनुसार यस कामबारे जानकारी गराउँदै युवा वर्गलाई सामग्री बनाउन पनि सिकाउन अति आवश्यक छ । त्यस्तै महोत्सव स्थलमा राखिएको सामग्री स्थानीयले रुचाएर हेर्ने गरेको र सामग्रीको काम बारे ज्ञान नभएकाले पनि हेरेर थारु समुदायमा यसको महत्व के छ ? यसको काम के हो ? भनेर सोध्ने गरेको उनले नारायणी अनलाइनलाई जानकारी दिए । तर, पछिल्लो समय थारुले प्रयोग गर्ने हस्तकलाका सामग्रीहरु लोप हुँदै गएकोमा दुःख व्यक्त गर्दै उनले भने, ‘ हाम्रा बाजेहरुले प्रयोग गर्ने मौलिक सामग्रीलाई प्लास्टिक तथा फलामबाट बनेका सामग्रीले क्रमिकरुपमा बिस्तापित गर्दा र हराउँदै जाँदा युवालाई मुख्यतया यस्ता सामग्री बनाउन सिकाउन पर्छ ।’

आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रबद्र्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पूर्वजिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताए । महोत्सवमा थारु संस्कार संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, व्यपार, कृषि र पर्यटनसँग सम्बन्धित १५० वटा स्टलहरु राखिएको मूल आयोजक समितिका संयोजक रामेश्वर चोधरीले जानकारी दिए ।

थारु समुदायका मौलिक गीत र नाँचहरु महोत्सवमा प्रस्तुत भइरहेका छन् । पछिल्लो समय हराउँदै जान लागेका ठेकरा, झमटा, झुमरा, रसधारी, झर्रा, लाठी नाँच जस्ता सांस्कृतिक नृत्यहरु महोत्सव अवधि भर प्रस्तुत हुने संयोजक रामेश्वर चौधरीले बताए ।

यस्तै माघ १० गतेसम्म चल्ने महोत्सवमा थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार ‘चिँचर’ र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् । यी सबै परिकार र सांस्कृतिक प्रस्तुतिले खिचरा महोत्सव एउटा जिवित सङ्ग्रहालय जस्तो बनेको छ । चितवनका विभिन्न ठाउँबाट सबै समुदायका मानिसहरु थारु संस्कृतिबारे बुझ्न महोत्सवस्थल पुग्ने गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>