देश/प्रदेश
बस चालकले भनेः बसको सापट बिग्रिएर चक्का नघुम्दा दुर्घटना भएको हो

दाङ, पुस २८-
बाँकेको नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस राप्तीमा खसेको छ । गएराती दाङको राप्ति गाउँपालिकास्थित राप्ती नदीको पुलबाट बस नदीमा खसेको थियो ।
नदीमा खसेको बसका चालकले टायर नमोडिएपछि बस नदीमा खसेको बताएका छन्। बसचालक सल्यान त्रिवेणी गाउँपालिका- ४ का २८ वर्षीय लाल बहादुर नेपालीले प्रहरीसमक्ष बसको सापट बिग्रिएर चक्का नघुमेपछि बस पुलबाट राप्ती नदीमा खसेको बयान दिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले बस चालक लालबहादुरले ‘ड्राइभ शाफ्ट’ बिग्रिएर चक्का नघुमेपछि बस नदीमा खसेको बयान दिएको बताए । यद्यपि दुर्घटनाको प्राविधिक जाँच भने हुन बाँकी रहेको उनले बताए । दुर्घटनामा सामान्य घाइते भएका चालकलाई हाल नियन्त्रणमा लिएर सोधपुछ गरिदैँ छ ।
भालुबाङको ट्राफिक बिट पार गरेको बस पुलको रेलिङ भत्काएर नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।



























