Breaking News

टिकौली चौरमा भोलिबाट रत्ननगर महोत्सव, ४५० स्टलबाट २५ करोड बढी कारोबार हुने अपेक्षा

Banner

चितवन, पुस २५–

रत्ननगरको टिकौली चौरमा भोलिबाट रत्ननगर महोत्सव सुरु हुने भएको छ ।

चितवनको कृषि र पर्यटनलाई प्राथमिकता दिइने महोत्सवको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा मकैको उत्पादनलाई जोड दिँदै बजारीकरणलाई समेत ध्यान दिइएको छ । मकै बालीको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव स्थलमा मकै बाली स्थापना तथा मकैको स्टाच्यु निर्माण गरिएको छ । महोत्सवमा रामपुर मकै बाली अनुसन्धान केन्द्रबाट २० प्रजातिका मकैको बारेमा जानकारी गराइने छ । महोत्सव स्थलमा मकै बाली, केरा बगान, च्याउको टनेल र माछा पोखरी निर्माण गरिएको छ । पर्यटन विकासअन्तर्गत खगेरी खोलामा मोटरबोट सञ्चालन गरिने भएको छ । रत्ननगर भएर बग्ने खगेरी खोलामा दीर्घकालीनरुपमा मोटरबोट सञ्चालन गरेर पर्यटक भि¥याउने लक्ष्यअनुसार महोत्सवको अवधिभर मोटरबोट सञ्चालनमा ल्याइएको हो । महोत्सवमा २०० रूपैयाँ तिरेर साढे दुई किलोमिटर मोटरबोटको आनन्द लिन सकिने व्यवस्था गरिएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सव माघ ८ गतेसम्म चल्ने छ । विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिइएको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।

महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहने छन् । यसपटकको महोत्सवमा तीन लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।
रत्ननगर महोत्सवअन्तर्गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म सौराहा चोक र टाँडी चोकको बीचमा रहेको बसपार्कको खाली चौरमा खाना महोत्सव हुँदै छ । ३२ वटा स्टल रहने खाना महोत्सवमा दैनिकरुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>