देश/प्रदेश

रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै

Banner

नवलपरासी, पुस २१-

पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ । पर्यटकीय मार्गका रुपमा विकास गर्ने गरी पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट उत्तर घिनाहा जोड्ने दुई लेनको सडक स्तरोन्नति सुरु भएको हो ।

रामग्राम नगरपालिका–६ पोखरापालीबाट वडा नं १५ घिनाहा चोकसम्म दुई लेनमा सडक विस्तारको काम सुरु भएको नगर प्रमुख धनपत यादवले बताउनुभयो । उहाँका अनुसार बुद्धकालीन पुरातात्विक तथा ऐतिहासिक स्थल पण्डितपुरसम्म जोड्ने गरी रु ४१ करोड ८६ लाखको लागतमा सडक विस्तारको काम सुरु भएको छ ।

विश्व बैङ्कको ऋण सहयोग र सङ्घीय सरकारको अनुदानमा विस्तार हुन लागेको पाँच दशमलव ७८ किलोमिटरको उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको नगर प्रमुख यादवले जानकारी दिनुभयो । ठूलो लगानीमा सुरु भएको पण्डितपुरबाट परासीसम्म सडक विस्तारले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

यादवले सो क्षेत्रमा धेरै किसानको बसोबास रहेकाले सडक विस्तार भएसँगै कृषि उपजको बिक्री वितरणमा सहज हुने बताउनुभयो । सडक क्षेत्रमा पर्ने अलपत्र पुल निर्माणका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण हुन लागेको सडकको दुवै छेउमा नाला, फुटपाथसहित साढे १२ मिटर चौडाइको हुनेछ । हाल जीर्ण अवस्थामा रहेको उक्त सडक निर्माणपछि सदरमुकाम परासीसँग सुविधासम्पन्न सडकको सिधा सम्पर्क स्थापित हुनाका साथै पुरातात्विक स्थलको प्रवद्र्धनमा पनि सहयोगी हुने अपेक्षा गरिएको छ ।

पुरातात्विकस्थल पण्डितपुरको विकास र प्रवद्र्धनका लागि सडक उपयोगी हुने र रामग्राम आउने पर्यटकलाई पण्डितपुरसम्म पु¥याउन सकिने नगर प्रमुख यादवले बताउनुभयो । पण्डितपुर बुद्धको मावलीका रुपमा परिचित छ ।

सो स्थानमा केही हप्ताअगाडि पुरातत्व विभागले गरेको जियोफिजिक्स सर्भेका क्रममा बुद्धकालीन सहरको ठूलो संरचना जमिनमुनि फेला परेको थियो । पण्डितपुरसम्म पुग्न करिब तीन किमी विस्तार गर्नुपर्ने जनाउँदै नगर प्रमुख यादवले बाँकी सडक अर्को चरणमा निर्माण गरिने उल्लेख गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>