खेलकुद

चितवनमा अन्तरविद्यालयस्तरी ‘पीएफसी इमर्जिङ कप’ को उपाधि सैनिक महाविद्यालयलाई

Banner

चितवन, पुस १६-

‘पिएफसी इमर्जिङ कप—२०८०’को उपाधि सैनिक महाविद्यालय चैनपुरले हात पारेको छ ।

आइतबार भरतपुर– १४ को सुन्दरबस्ती खेलमैदानमा भएको फाइनल खेलमा वाल्मीकि शिक्षा सदनलाई १—० ले पराजित गर्दै सैनिक महाविद्यालयले उपाधि हात पारेको हो ।

क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगितामा प्रथम हुने सैनिक महाविद्यालयले २० हजार नगदसहित २० हजार रुपैयाँबराबरको खेलकुद सामग्री, उपविजेता वाल्मीकि शिक्षा सदनले १० हजार नगदसहित १५ हजार रुपैयाँबराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा अनुशासित टिमको पुरस्कार आदिकवि भानुभक्त माध्यामिक विद्यालयले प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडी तर्फ सैनिक महाविद्यालयका सन्तोष न्यौपाने घोषित भए । यस्तै सैनिककै कुशलथापा मगर उत्कृष्ट मिडफिल्डर, पारिजात बोर्डिङ स्कुलका किशोर श्रेष्ठ उत्कृष्ट स्ट्राइकर, आदिकवि भानुभक्त माविका किसन कार्की उत्कृष्ट रक्षक र वाल्मीकि शिक्षा सदनका चेसन लोप्चन उत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।

विजयीहरुलाई भरतपुर १४ का वडाअध्यक्ष राजेन्द्र शाखीले पुरस्कार प्रदान गर्दै खेलकुदको विकासमा स्थानीय युवा क्लब र युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले वडाले युवा र खेलकुद मैत्री गतिविधिलाई सधै प्राथमिकतामा राख्ने गरेको समेत सुनाए । यस प्रतियोगिताको प्रवद्र्धकको रुपमा भरतपुर १४ र २२ रहेका थिए ।

शिक्षासँगै खेलकुद भन्ने नारासहित चितवनको पटिहानी फुटबल क्लबले गत सालबाट सुरु गरेको यस प्रतियोगितामा यसपटक जिल्लाका १६ माध्यमिक विद्यालयहरु सहभागी थिए । क्लबका अध्यक्ष पोष्टराज तिमिल्सिनाका अनुसार विद्यालयस्तरबाट नै फुटबल खेलको विकास गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो । उनले भने, ‘सानै उमेरबाट खेलप्रति मोह जगाउँदै यसलाई व्यवसायिक बनाउनका लागि नियमित रुपमा प्रतियोगिता आयोजना गरेका हौं । जुन कार्य प्रभावकारी हुदैँ आएको छ । ’ २०७७ सालमा स्थापना भएको पटिहानी फुटबल क्लबले खेल प्रशिक्षक प्रशिक्षण तालिमसहित विद्यालयमा खेलकुदको विकास र नयाँ खेलाडी उत्पादनका लागि विभिन्न गतिविधि गर्दै आएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>