समाचार
कोरियाकै नियमअनुसार एक वर्षमा एक क्षेत्रमा मात्र दिन पाइन्छ इपिएस परीक्षा

काठमाडौं, पुस १३-
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस अन्तर्गत पानीजहाज निर्माण (शीप बिल्डिङ) क्षेत्रमा आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको बताएको छ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल एक वर्ष अवधिमा एकभन्दा बढी क्षेत्रमा कोरिया जान आवेदन दिन नसकिने व्यवस्था कोरियाले नै गरेको समेत जनाएको छ। त्यसैकारण यसअघि जहाज निर्माण (शीप बिल्डिङ) क्षेत्रमा जान आवेदन दिएर परीक्षा दिएकाहरूलाई हाल सामेल गर्न नसकिएको मन्त्रालयले पत्रमा उल्लेख गरेको छ।
यस्तो नियम कोरियामा आप्रवासी कामदार जाने १६ मुलुकलाई नै लाग्ने गरेको मन्त्रालयले स्पष्ट पारेको छ। तर पनि जहाज निर्माण (शीप बिल्डिङ) क्षेत्रमा जान आवेदन दिएर परीक्षा दिएकालाई अब उत्पादनमूलक क्षेत्रमा आवेदन दिन सकिने व्यवस्थाका लागि तयारी भइरहेको मन्त्रालयले बताएको छ।
यस विषयमा भइरहेको आन्दोलनका क्रममा शुक्रबार दुखद घटना भएको भन्दै मन्त्रालयले समवेदना पनि प्रकट गरेको छ। उसले आन्दोलन फिर्ता लिन पनि आग्रह गरेको छ।
यसअघि कोरियाले कृषि र उत्पादन क्षेत्रको परीक्षा आवेदन एकैपटक जस्तो खुलाउँथ्यो। युवाहरूले जुन क्षेत्र ठीक लाग्छ, एउटा छानेर फारम भर्थे।























