राजनीति
खगेन्द्र सुनारमाथि छानबिन सुरु भइसकेको छः कवीन्द्र बुर्लाकोटी

काठमाडौं,असोज २७-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले सांसद खगेन्द्र सुनारमाथि छानबिन भइरहेको बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको अनुशासन आयोगमा सुनारको विषय गइसकेको र काम अघि बढाइसकेको जानकारी दिए। उनले भने, ‘यो विषयमा केही प्रमाणसहित कुरा बाहिर आएको छ। ती प्रमाण सही हुन् वा होइनन् भन्ने यकिन गर्नुपर्ने भएकाले पार्टीको छानबिन गर्ने निकाय अनुशासन आयोगमा पठाइएको छ। अनुशासन आयोगले यस विषयमा छानबिन गर्नेछ।’
यस्तै, उनले यसमा राज्यका निकायले पनि आवश्यक कदम चाल्नुपर्ने बताए। उनले भने,‘राज्यको कानुन कहाँ आकर्षित हुन्छ भन्ने विषयलाई ध्यानमा राख्दै आवश्यक अनुसन्धान गर्नुपर्छ। त्यसमा पार्टीका तर्फबाट सहयोग रहनेछ भन्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।’ यस्तै, अनुशासन आयोगले छानबिन कहिले सक्छ भन्ने प्रश्नमा उनले भने,‘ अनुसन्धान गर्दै जाँदा विषय कति गहिरो छ वा सतही मात्रै हो भन्ने थाहा हुन्छ। विषय सामान्य रहेछ भने छिट्टै टुंगिन सक्छ। तर, विस्तृत अनुसन्धान गर्नुपर्ने अवस्था भए सम्बन्धित ठाउँ र व्यक्तिसम्म पुग्नुपर्ने हुन सक्छ। त्यसैले यस्ता विषयमा निश्चित समयसीमा तोक्न सकिँदैन।’
अनुसन्धानपछि मात्रै योबारे स्पष्ट कुरा आउने बताउँदै उनले भने,‘ यो विषयको छानबिन हुनुपर्छ। आरोप सही हो वा गलत, कुनै समस्या छ वा छैन, बाहिर फैलिएका कुरा अफवाह हुन् वा भिडियो तथा अडियो सामग्री नक्कली हुन् वा वास्तविक हुन् भन्ने कुरा अनुसन्धानबाट स्पष्ट हुनुपर्छ।’ यस्तै, उनले पार्टीले गरेको अनुसन्धान सरकारलाई बुझाइन्छ कि बुझाइँदैन भन्ने प्रश्नमा पार्टीले गरेको अनुसन्धान पार्टीले नै हेर्ने बताए।
उनले भने,‘सरकारी निकायलाई आवश्यक लागेमा उसले पनि अनुसन्धान गर्नुपर्छ। त्यसका लागि सम्बन्धित सरकारी निकायमा उजुरी पर्नुपर्ने हुन सक्छ। तर, पार्टीमा भने छुट्टै उजुरी पर्नैपर्छ भन्ने छैन। कुनै विषय बाहिर आएपछि पार्टीको ध्यानाकर्षण भएको अवस्थामा पार्टीले त्यसमा आवश्यक काम अघि बढाउँछ।’























