समाज

भारी बोकेरै घरखर्चको जोहो

Banner
पिथौरागढ (भारत), पुस १२-
बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा  भारी बोक्दै आउनुभएको छ । उहाँ भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आउनुभएको छ । पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दैआउनुभएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउनुहुन्छ ।
“नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ”, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दैआउनुभएका बोहराले भन्नुभयो । उहाँले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गर्नुभयो ।
पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन् । उहाँले जस्तै सुदूरपश्चिम र कर्णली प्रदेशका सयौँ नेपाली भारतीय सहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन् । “यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्”, बोहराले भन्नुभयो । नेपालमै  पसिना बगाउने आफ्नो रहर भए पनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो गर्नुभयो ।
“गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदुरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ”, बोहराले भन्नुभयो । भारतमा पनि मजदुरी गर्न सहज नभएको उहाँको भनाइ छ । “कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ”, उहाँले भन्नुभयो–“यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको सङ्ख्या अत्यधिक छ ।”
बोहरासँगै रोजगारीका लागि आएका तीन जना मिलेर रु दुई हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आउनुभएको छ । मजदुरी गर्न आउने जाने क्रम चलिरहन्छ । उनीहरुले घरको खेतीपाती पनि आफैले गर्नुपर्ने बाध्यता छ । “यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौँ”, बोहराले भन्नुभयो, “पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन ।”
बैतडीको पुर्चौडी नगरपालिका–८ मल्लादेहीका परमानन्द जोशी पनि रोजगारीका लागि पिथौरागढ पुग्नुभएको छ । उहाँ खेतीपातीको काम सकेर रोजागरी खोज्दै पिथौरागढ पुग्नुभएको हो । “मजदुरी गरेबापत दैनिक रु छ सय पाइन्छ”, जोशीले भन्नुभयो, “घरबाट आएको केही दिनमात्रै भयो ।” उहाँले ४० वर्षदेखि भारतमा मजदुरी  गर्दै आएको बताउनुभयो । स्वदेशमा परिवार पाल्नका लागि कुनै सीप नचलेपछि बाध्य भएर विदेशिनुपरेको उहाँले गुनासो गर्नुभयो ।
जोशीका तीन छोरा छन् । आर्थिक अभावकै कारण उनीहरुलाई  पढाउन नसकेको उहाँ बताउनुहुन्छ । “एउटा छोरा रोजगारीका लागि भारतकै बैङ्लुरु गएको छ । दुई छोरा घरमै छन्”, जोशीले भन्नुभयो, “छोराले पनि नेपालमा रोजगारी पाउन सकेनन् ।”
पिथौरागढको बजार पस्दा घरदेश छाडेर मजदुरी गरिरहेका सयौँ  नेपाली भेटिन्छन् । तीस वर्षअघि सुदूरपहाडका नेपाली पिथौरागढ पुगेर घिउ बेच्थे । घिउ बेचेर नुन र लत्ताकपडा किन्थे । पहिले वस्तु र बस्त्रको व्यापार हुन्थ्यो । अहिले पसिनाको व्यापार चलेको छ ।
बैतडीको पुर्चौडीका उत्तमसिंह धामीको पनि उही बाध्यता छ । “यहाँ मजदुरी गरेर घरखर्चको जोहो गर्न थालेको ३५ वर्ष भयो”, धामीले भन्नुभयो, “छ महिना स्वदेशमा घरखेतको काम गरेर छ महिना यहाँ मजदुरी गर्न आउँछौँ ।” बैतडीमा रहेको फलाम खानी उत्खनन गरे आफूहरुले घर नजिकै रोजगारी पाउन सक्ने उहाँको भनाइ छ ।
“हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन । मेरो जिल्ला बैतडीमा फलाम खानी छ । सरकारले उत्खनन त गर्नुप¥यो”, उहाँले भन्नुभयो, “सरकारीस्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुनेछन् ।”
पिथौरागढको पुरानो नाम ‘सोर’ हो । कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए । अहिले पनि उपचार र किनमेलका लागि उनीहरु पिथौरागढ धाउँछन् । पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौँ नेपाली भारी बोक्दै गरेका भेटिन्छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>