चितवन विशेष

चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु

Banner

भरतपुर, पुस १०-

चितवनको पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८० मंगलबारदेखि सुरु भएको छ । महोत्सवको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री महतले देशमा अर्थतन्त्रका सूचकहरु सकरात्मक रहेको भन्दै पर्यटकको संख्यामा बृद्धि हुँदै गएको बताउनुभयो । उहाँले अबको बर्ष पर्यटन क्षेत्रका लागि सुखद हुने बताउनुभयो । २०२९ सालमा जारी भएको निकुञ्ज ऐन परिर्वतन गर्ने बेला भएको उहाँको भनाई छ । पुरानो निकुञ्ज ऐनले निकुञ्ज र जनताबीचको दूरी बढाउने काम गरेकाले समय अनुसार यसको परिर्वतन आवश्यक रहेको उहाँले बताउनुभयो । अर्थमन्त्री महतले निकुञ्ज ऐन परिर्वतनको लागि सरकारी पहल सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा चितवन क्षेत्र नं १ का सांसद हरि ढकालले सरकारले स्रोत बाँडफाँडमा पूर्वी चितवनलाई विभेद गरेको बताउनुभयो । उहाँले आवश्यकता भन्दा पनि पहुँचका आधारमा बजेट बिनियोजन गर्ने परिपार्टीको अन्त्य हुनुपर्ने बताउनुभयो । प्रदेश सांसद कृष्णप्रसाद खनालले आर्थिक मन्दीका कारण धरासायी बनेको नेपालको व्यवसायलाई पुनःजीवन दिन नयाँ आर्थिक नीति ल्याउन अर्थमन्त्री महतलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका पूर्व उपमहानिर्देशक युवराज रेग्मी, चितवन निकुञ्जका पशु प्राविधिक किरणराज रिजाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका वरिष्ठ रेन्जर ऋषिराम सुवेदीलाई संरक्षण पुरस्कार प्रदान गरिएको छ ।

कोरोना महामारी पछि स्थगित भएको महोत्सव चारवर्ष पछि फेरि आयोजना गरिएको हो । मङ्गलबारबाट सुरु भएको हात्ती तथा पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता र हात्ती वनभोज रहेको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले बताउनुभयो । महोत्सव अन्तर्गत हात्तीसँग सम्बन्धित गतिविधि बुधबारबाट सुरु हुनेछ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>