कावासोती
नारायणगढ-बुटवल सडक खण्ड: दुई पटक म्याद थप्दा पनि ४४ प्रतिशत मात्रै प्रगती

नवलपरासी पुस ०५=
बुटवल नारायणगढ सडक विस्तारको काम ५ वर्ष हुन लाग्दा जम्मा ४४ प्रतिशत मात्र प्रगति भएको छ । ठेकेदार कम्पनी चाइना स्टेट कम्पनीले कोरोना कहर र निर्माण सामग्री अभावको बहाना बनाउँदै काममा ढिलाई गरेको हो । सडक विस्तारको काम ढिलो हुँदा यस क्षेत्रका स्थानीय वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्न बाध्य छन् ।
२०७५ माघमा काम सुरु गरेर तीन वर्षमा निर्माण सम्पन्न हुनुपर्ने सम्झौता थियो । तर, दुई पटक म्याद थप्दासमेत ५० प्रतिशत काम हुन सकेको छैन । ठेकेदार कम्पनीले भने २०८१ को असारसम्म ८५ प्रतिशत र २०८१ के चैत महिनासम्ममा काम सम्पन्न गर्ने लक्ष्य लिएको चाइना स्टेट कर्पोरेसनका इन्जिनियर राकेश झाले बताए ।
१६ अर्ब ९९ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको सडक २०८१ को असार मसान्तसम्म मात्र म्याद छ । यस अवधिमा ७० प्रतिशत मात्र काम सकिने ठेकेदार कम्पनीको भनाइ छ ।
सरकारले लगातार दबाब दिइरहेको भए पनि ठेकेदार कम्पनीले सम्झौता समयअनुसार काम नगरेर आफ्नो अनुकूल समय निर्धारण गरेर काम गरिरहेको छ । सोहीअनुसार तेस्रो पटक म्याद थप गर्ने ठेकेदार पक्षको तयारी छ ।
नारायणगण–दाउन्ने ६५ किमि र दाउन्नेरबुटवल खण्ड ४९ किमि सडक विस्तारको काम भइरहेको छ । पूर्वी र पश्चिम खण्डमा ४० प्रतिशतको हाराहारीमा मात्र काम सकिएको छ ।























