चितवन विशेष
रत्ननगर नगरपालिकालाई दलको भर्ती केन्द्र बनाउन खोजिएको अनेरास्ववियुको आरोप

चितवन, पुस ५-
रत्ननगर नगरपालिकालाई दलको भर्ती केन्द्र बनाउन खोजेको भन्दै एमाले निकट अनेरास्ववियु चितवनले विरोध गरेको छ ।
अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले आज एक विज्ञप्ति जारी गर्दै नगरकार्यपालिकाले स्वयंसेवक शिक्षक पदमा केही संख्या भनेर स्पष्ट संख्या उल्लेख नगरी माग गरिएको भन्दै आफ्ना कार्यकर्ता भर्ती गर्न खोजिएको आरोप लगाएको हो ।
विज्ञप्तिमा नगर कार्यपालिकाको पुस ३ गतेको पत्रमा संख्या नतोकी स्वयंसेवक शिक्षक केही भनेर मागिएको प्रति संगठनको ध्यानाकर्षण भएको जनाइएको छ । नगर शिक्षा अधिकारीको यस प्रकारको त्रुटिले कार्यक्षमता र कार्यकुशलतामाथि नै प्रश्न चिन्ह खडा गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘ नगर शिक्षा अधिकारीबाट भएको नियोजित, गैरजिम्मेवारीपन र निवेदन दिन इच्छुकप्रति हुने चरम अन्यायको अनेरास्ववियु जिल्ला कमिटी खेद प्रकट गर्छ । राजनीतिक अभिष्ट पूरा गर्न राजनीतिक आस्थाको आधारमा कार्यकर्ता भर्ती केन्द्र बनाउने दुस्साहस तथा दुष्प्रयास नगर्न र तत्कालै प्रष्टरुपमा संख्या खुलाएर निष्पक्षरुपमा पुन ः सूचना जारी गर्न अनुरोध गर्दछौं ।’
विज्ञप्तिमा तत्काल गल्ती सच्याएर समस्या समाधान नगरी शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेमा अनेरास्ववियुले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ । आन्दोलनबाट सिर्जित परिस्थितिबारे नगर कार्यपालिका र नगर शिक्षा अधिकारी नै जिम्मेबार रहने विज्ञप्तिमा अनेरास्ववियुको चेतावनी छ ।

























