समाचार
ट्रम्प राष्ट्रपति चुनाव लड्न नपाउने

काठमाण्डौँ, पुस ०४-
अमेरिकास्थित कोलोराडोको सर्वोच्च अदालतले रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न अयोग्य ठहर गरेको छ ।
बिबिसीका अनुसार अमेरिकी संविधानमा रहेको विद्रोहसम्बन्धी धारालाई उद्धृत गर्दै कोलोराडो अदालतले ट्रम्पलाई २०२४ को राष्ट्रपति निर्वाचनको मतपत्रमा अटाउन नसक्ने ठहर गरेको हो ।
सात सदस्यीय इजलासमा ४–३ को बहुमतबाट यस्तो फैसला आएको हो । समाचार संस्थाहरूका अनुसार अमेरिकी संविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गरी कुनै पनि नागरिकलाई राष्ट्रपति उम्मेदवार बन्न अयोग्य ठहर गरिएको यो पहिलोपटक हो ।
धारा ३ ले संविधानविरुद्ध विद्रोह वा विद्रोहमा संलग्न व्यक्तिहरूलाई अयोग्य ठहराउँछ । यसअघि अमेरिकाका थुप्रै राज्यमा ट्रम्पमाथि चुनाव लड्न रोक लगाउन माग गर्दै मुद्दा परेका थिए । र, ती मुद्दामा ट्रम्प विजयी हुँदै आएका थिए ।
कोलोराडोमा ‘जनवरी ६ मा भएको दंगा’ अघिका कारबाहीका कारण ट्रम्पले राष्ट्रपतिको उम्मेदवार हुन नसक्ने अदालतले फैसला गरेको हो । अदालतको फैसलामा ट्रम्प राज्यको रिपब्लिकन प्राइमरी चुनावमा उम्मेदवारको रूपमा अयोग्य रहेको उल्लेख गरिएको छ ।
अदालतको फैसलापछि ट्रम्पले आफूले अमेरिकी सर्वोच्च अदालतमा अपिल गर्ने प्रतिक्रिया दिएका छन् । पूर्वराष्ट्रपति ट्रम्प आगामी निर्वाचनमा पुनः राष्ट्रपतिका उम्मेदवार बन्ने दौडमा छन् ।























