क्रिकेट

आईपीएल अक्सनः सबैभन्दा महँगोमा बिक्री भए स्टार्क

Banner

काठमाडौँ, पुस ०३-
आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क कीर्तिमानी मूल्यमा बिक्री भएका छन् । उनलाई कोलकाता नाइट राइडर्सले कीर्तिमानी मूल्यमा खरिद गरेको हो ।

स्टार्कलाई कोलकाताले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गर्‍यो । आईपीएलको हालसम्मको इतिहासमा यसअघि कुनै पनि खेलाडी यति धेरै मूल्यमा बिक्री भएका थिएनन् । स्टार्कको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो ।

मिचेल स्टार्कभन्दा केही समयअघि अर्का अस्ट्रेलियन खेलाडी प्याट कमिन्सले सबैभन्दा महँगा खेलाडीको कीर्तिमान बनाएका थिए । कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । त्यसअघि आईपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी साम करन थिए । उनलाई पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो ।

कमिन्सले उनकै कीर्तिमान तोडेका थिए । कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने कप्तान पनि हुन् । उनकै कप्तानीमा अस्ट्रेलियाले हालै आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो । कमिन्सले इतिहास रचेको केही समयपछि नै उनको कीर्तिमान स्टार्कले तोडेका हुन् ।

यसैगरी वेस्ट इन्डिजका अल्जारी जोसेफलाई रोयल च्यालेन्जर्स बैंगलोरले ठूलो रकममा खरिद गर्‍यो । उनलाई बैंगलोरले ११ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको हो । उनको न्यूनतम मूल्य एक करोड भारतीय रुपैयाँ ताकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>