समाचार

पार्टी विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्छः महामन्त्री थापा

०
Banner

दमौली, पुस २-
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी विधानबमोजिम चल्नुपर्छ भन्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ । दण्डको व्यवस्था भएमात्रै पार्टी विधानबमोजिम चल्न सक्छ । त्यसमा हामीले छलफल चलाइराखेका छौँ ।” महामन्त्री थापाले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने जनाउँदै अहिलेको पद्धतिका कारण गुट बनाउनैपर्ने बाध्यता रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पार्टीभित्र जुन पद्धति छ त्यसका आधारमा गुट बनाउनैपर्ने बाध्यता सबैलाई भयो । हामी सबैले गुटको अन्त्य हुनुपर्छ भने पनि भित्रभित्र गुटमै रमाइराखेका छौँ ।”

संसद्मा निर्वाचन कानुनका विषयमा छलफल अगाडि बढाउन लागिएको जनाउँदै महामन्त्री थापाले एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने पार्टी राष्ट्रिय पार्टी नबन्ने उल्लेख गर्न सकिने चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “यसो भएमात्रै एक पार्टीले अर्को पार्टीसँग गठबन्धन गर्न पाउँदैन । त्यस्तो हुँदा कांग्रेस एमालेसँग डराउनु पर्दैन, एमाले कांग्रेस वा अरू पार्टीसँग डराउनु पर्दैन ।”

महामन्त्री थापाले पार्टीभित्रको निर्वाचन पद्धतिसमेत परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले जसरी टिकट बाँडिएको छ त्यो ठीक छ वा उम्मेदवार छान्दा जुन तहको सदस्य हो त्यहाँका सदस्यले छान्ने परिपाटीका विषयमा छलफल अगाडि बढाएका छौँ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>