देश/प्रदेश

आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छः मन्त्री आले

Banner

तनहुँ, पुस २-

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित माहेन्द्री माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्णमहोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले समयसापेक्षरुपमा शिक्षा नीति परिवर्तन हुनुपर्ने बताउनुभयो ।

पुरानै ढाँचामा चलेका सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न नसकेको बताउदै मन्त्री आलेले भन्नुभयो, “आवश्यकता अनुसार शिक्षा नीति परिमार्जन हुनुपर्छ । देशभरका समुदायिक विद्यालयको अवस्था कमजोर बन्दै गइरहेकाले समयको माग अनुसार नै शैक्षिक तथा भौतिक पूर्वाधार बनाउनुपर्छ ।” उहाँले प्रदेश सरकारले स्रोत, साधनको अधिकतम परिचालन गरी जनताका आवश्यकता पूर्तिका लागि योजना ल्याएको बताउनुभयो ।

“विगतका बजेटमा भएका फजुल खर्च कटौती गरी अहिलेको बजेट प्रतिफल र उत्पादकत्व वृद्धि गराउने क्षेत्रमा बढी परिचालन गरेका छौँ”, मन्त्री आलेले भन्नुभयो, “आगामी बजेटमा यसलाई अझै व्यवस्थित बनाउँदै लैजाने तयारी गरिरहेका छौँ ।” उहाँले ‘योजना बैङ्क’ बनाएर सङ्घ, प्रदेश र स्थानीय तहले सम्पन्न गर्ने योजना नदोहोरिने गरी काम अगाडि बढाइने जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभाका पूर्व सदस्य सरिता गुरुङले माहेन्द्रीमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र सकारात्मक शैक्षिक वातावरण बनाउन सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले माहेन्द्री यस क्षेत्रको अग्रणी शैक्षिक संस्था भएकाले यसको भौतिक संरचनासँगै शैक्षिक गुणस्तरका लागि सबैको एकता आवश्यक रहेको बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भौतिक सुधारमा उल्लेखनीय काम भएको बताउनुभयो । अबका दिनमा शैक्षिक गुणस्तर हासिल गर्न सक्नु विद्यालयको प्रमुख चुनौतीका रुपमा देखिएको उहाँको भनाइ थियो ।

‘स्वर्ण जयन्ती वर्ष’का रुपमा मनाउँदै एक वर्षसम्म विभिन्न कार्यक्रम आयोजना गरिने जनाइएको छ । आज प्रारम्भ भएको स्वर्ण जयन्तीको कार्यक्रम विसं २०८१ पुस १ गते विशेष समारोहको आयोजना गरी सम्पन्न गरिने विद्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area