समाचार

रुसी सेनामा कार्यरत कैलालीका भरत शाहको मृत्यु

०
Banner

धनगढी,पुस १-

रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ। युक्रेन र रुसबीचको लडाइँमा रुसका तर्फबाट लडिरहेका टीकापुरका युवकको मृत्यु भएको हो। टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको युक्रेन र रुसको सीमामा मृत्यु भएको बताइएको छ। उनको मृत्यु नोभेम्बर २० मा भए पनि परिवारले भने शुक्रवार मात्र मृत्युको खवर पाएका थिए।

लडाइँमा गोली लागेर घाइते भएका शाहको समयमा उपचार नपाउँदा मृत्यु भएको उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका युवाले शुक्रवार शाहको परिवारलाई मेसेज गरेर जानकारी गराएका थिए। दुबइको रोयल गार्डका रुपमा कार्यरत शाह तीन महिनाअघि त्यहीबाट रुसी सेनामा भर्ना भएको उनका परिवारका सदस्य मंगल शाहले बताए। रुसी सेनाले भने शाहको परिवारलाई आधिकारिक रुपमा यसको जानकारी गराएको छैन।शाहसँगै युक्रेनका बिरुद्ध रुसका तर्फबाट लडिरहेका कञ्चनपुरका युवाले आफू पनि युद्ध मैदानमा रहेको र फर्किने सम्भावना नरहेको पीडादायी मेसेज पठाएका छन्।

युद्ध लडिहरेकाहरुसँग मोवाइल र अन्य सञ्चारसुबिधा नरहेको र लडाइँको मैदानबाट भाग्ने वा जोगिने सम्भावना नरहेको पनि कञ्चनपुरका युवाले युक्रेन र रुसको सीमाबाट मेसेज पठाएका छन्। शाहको मृत्यु भएको जानकारी पाएपछि परिवारजनले आज टीकापुरमा कर्णाली नदीको दौलत घाटमा कुशको शव बनाएर शाहको दाहसंस्कार गरेका छन्। मृतक शाहकी पत्नी एक छोरा र अढाई महिनाकी एक छोरी छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>