समाचार
चिनी उद्योग संचालन गर्न नसकिने बताएपछि किसानहरुले लिए जमिन फिर्ता गर्नुपर्ने अडान

रौतहट, मंसिर २५-
गरुडास्थित श्रीराम सुगर मिल्स चलाउन नसकिने संचालकहरुले बताएका छन् । उद्योगपतिले उद्योग संचालन गर्न नसके किसानहरुको जमिन फिर्ता गर्नुपर्ने अडान किसानहरुले लिएका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहट, गौरमा आज सोमवार साँझसम्म भएको सर्वपक्षीय वार्तामा उद्योगपति तथा किसानहरुले आ–आफ्नो अडानमा कायम रहँदा वार्ता असफल भएको छ।
करिब चार वर्षदेखि बन्द रहेको चिनी मिलको मेसिनरी सामानलाई टेन्डर प्रक्रियाद्वारा उद्योगले बिक्री गरिसकेको छ।विभिन्न बैंकको ऋण रहेको र ऋणको ब्याजसमेत असुल गर्ने गरी नेपाल बैंक लिमिटेडसहितका बैंकहरुले आवश्यक प्रक्रिया पूरा गरी मेसिनरी तथा अन्य सामग्री लिलाम गरिसकेको छ । लिलाम सकार गरेको सरोकारवालाले सामग्रीहरु उठाएर लैजान खोज्दा किसानहरुले रोकेका थिए।
उद्योगको सामान लिलाम गरेर सकार गर्ने शिवशक्ति समूहका राजकुमार अग्रवालले आफूले बैंकिङ प्रक्रियामार्फत सकार गरेको सामग्री लिएर जानुपर्ने माग गर्दै सर्वपक्षीय सहजीकरणका लागि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अगुवाइमा बैठक बोलाएका थिए।
सर्वपक्षीय बैठकमा श्रीराम सुगर मिल्सका उद्योगपतिद्वय हितेश गोल्छा र विशाल अग्रवाल, सामग्री सकार गर्ने रिलायन्स चिनी उद्योग बाराका मालिक समेत रहेका राजकुमार अग्रवाल, नेपाल बैंक लिमिटेडका केन्द्रीय प्रतिनिधि, राष्ट्रिय वाणिज्य बैंकका मधेश प्रदेश प्रतिनिधिसहित उद्योगमा लगानी गरेका विभिन्न बैंकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।























