देश/प्रदेश

इटहरीमा छोराको मृत्यु भएपछि सासूले गरिदिइन् बुहारीको विवाह

Banner

विराटनगर, मंसिर २१-

वैदिक परम्परा अनुसार सुनसरीको इटहरीमा सासुले बुहारीको विवाह गरिदिएकी छन् ।

इटहरी उपमहानगरपालिका–२ का पुण्य पौडेल र उनकी आमा जानुकाले बुहारीको विवाह गरिदिएका हुन् । बिहीबार ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार कन्यादान गरी विवाह गरिएको हो ।

२०६९ सालमा पौडेल परिवारले झापाको बैगुन्धुराबाट सूजालाई बुहारी बनाएर भित्र्र्याएको थियो । जानुकाले भनिन्, “मेरी कान्छी बुहारीको रूपमा भित्र्याएकी उनलाई आज छोरीको रूपमा विवाहदान गरेर बिदाइ गरेँ ।”

जानुकाका कान्छा छोरा फडिन्द्र र सूजाबीच मागीविवाह भएको थियो । फडिन्द्रको २०७१ सालमा मृत्यु भएको थियो ।

सुनसरीको डुम्राहाका रमेश रेग्मीले प्रस्ताव गरेपछि आफूहरूले राजीखुसी विवाह गराइदिएको पुण्यले बताए । ‘बुहारीको माइती पक्षसँग पनि यस विषयमा छलफल भयो’, उनले भने, ‘पारिवारिक सहमतिमै विवाह गर्ने निर्णयमा पुगेका हौँ । भनेजस्तो परिवार र उस्तै विगत भएका जोडीले राम्रो गरिखान सक्छन् भन्ने अपेक्षासहित बुहारीको विवाह गरिदिएका हौँ ।’

रेग्मीको पहिलो श्रीमतीको पनि दुई वर्षअघि मृत्यु भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् । रेग्मी सरकारी कर्मचारी हुन् । सूजा एनआईसी एसिया लघुवित्तमा कार्यरत छिन् । सूजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका निम्ति उदाहरण भएको बताए । कर्मघरबाट छोरीका रूपमा बेहुली बनेर बिदाइ हुन पाउँदा गर्व लागेको सूजाले बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>