देश/प्रदेश

बुट्टेनली जोगाउन पुस्तान्तरणको प्रयास

Banner

गलकोट, मंसिर १८-

बागलुङको पहिचान रहेको बुट्टेनली जोगाउन १२ वर्षपछि पुस्तान्तरणको पहल थालिएको छ । दुई सय वर्ष पुरानो बुट्टेनली संरक्षण तथा पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई यसको महत्त्व जगाउन सीप प्रदान गर्न थालिएको हो ।

निगालोलाई कुँदेर तयार पारिने बुट्टेनलीप्रति युवा पुस्ताको चासो नहुँदा बागलुङको पहिचानसँग जोडिएको कला लोप हुन थालेको स्थानीय बुढापाका बताउँछन् । यसको संरक्षण गर्ने उद्देश्यले युवा तथा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने सीप प्रदान गर्न थालिएको जिल्लास्थित हस्तकला सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष ज्योती श्रेष्ठका अनुसार बाँसको नलीमा विभिन्न खाले ऐतिहासिक तथा राजनीतिक व्यक्तिका चित्र, जङ्गली जनावर, मयुर, फूल, दृश्य, पौराणिककालदेखि आधुनिककालसम्मका सांस्कृतिक दृश्य र प्राकृतिक सुन्दरतालाई कलात्मक तरिकाले कुँदेर तयार पारिएको बाँसलाई बुट्टेनलीको रूपमा लिइँदै आइएको छ । बुट्टेनली कुँद्ने कलाकारकोसमेत बागलुङमा अभाव रहेको उहाँको भनाइ थियो ।

पछिल्लो समय बागलुङ बजारका नेवार समुदायको एक जनासँग मात्रै उक्त सीप रहेको भन्दै युवापुस्तामा लैजनाका लागि १२ वर्षपछि विद्यार्थीलाई तालिम दिन थालिएको श्रेष्ठले जानकारी दिनुभयो । निकै खर्चिलो र निगालो बाँसको समेत अभाव हुने भएकाले मायाको चिनोस्वरुप प्रदान गर्ने बुट्टेनली हराउन थालेको भन्दै हस्तकला सङ्घले यहाँका २० विद्यार्थीलाई २० दिने तालिम दिन थालिएको उहाँको भनाइ थियो ।

श्रेष्ठका अनुसार बागलुङमा बुट्टेनली निर्माण गर्न जान्ने एक मात्र बसन्तजङग राजभण्डारीले विद्यार्थीलाई २० दिनसम्म तालिम दिनुहुनेछ । “हस्तकला महासङ्घको सहयोगमा विद्यार्थीलाई तालिम दिन थालिएको हो । उनीहरुले तालिम पश्चात सीप पुस्तान्तरण हुने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो, “सीप हस्तान्तरण नुहँदा एक जनाको भरमा बुट्टेनलीको जगेर्ना हुँदैन । यसको संरक्षणका लागि विशेष गरी युवा पुस्ताले सीप सिक्न जरुरी छ ।”

बुट्टेनली निर्माण तालिममा जिल्लास्थित विद्यामन्दिर माध्यामिक, कालीगण्डकी आवसीय माध्यामिक र कालिका कन्या माध्यामिक विद्यालयका २० विद्यार्थीलाई सहभागी गराइएको छ ।

बागलुङ जिल्लाको पहिचानमध्येको एक बुट्टेनली पाल्पाको ढाका टोपी भनेजस्तै भए पनि लोप हुन थालेपछि १२ वर्षपछि तालिम दिन थालिएको हस्तकला सङ्घका संरक्षण तथा साहित्यकार प्राज्ञ प्रेम छोटाले बताउनुभयो । उहाँले १२ वर्षअघि बागलुङ उद्योग वाणिज्य सङ्घ र हस्तकला सङ्घले बुट्टेनली निर्माण गर्ने तालिम दिएको स्मरण गर्दै अहिले आएर पुनः तालिम दिन थालिएको जानकारी दिनुभयो । तालिममार्फत बुट्टेनली निर्माण कार्यलाई व्यावसायीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बागलुङ भित्रिने पाहुँनाले बुट्टेनलीका बारेमा चासो राखेर खरिद गर्न खोजेपनि पाइनै छोडेपछि यसको उत्पादन गर्न तालिम दिन थालिएको हो । संस्कृति र परम्परागत हिसाबले महत्त्वपूर्ण मानिएको हस्तकला कौशलद्वारा बनाइने बुट्टेनली यहाँको पहिचानका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रख्यात रहे पनि पुस्ता हस्तान्तरण नहुँदा दुई सय वर्ष पुरानो कला लोप हुने अवस्थामा पुगेको हो ।

बुट्टेनली बनाउन स्थानीय युवा र अन्य व्यक्ति आकर्षित नहुनु, कच्चापदार्थको अभावलगायतका कारणले लोप हुन थालेको स्थानीय अगुवा बताउँछन् । बुट्टेनली बनाउने कला कौशल भएका बागलुङ बजारका वसन्तजङ राजभण्डारीले विद्यार्थीलाई तालिम दिन थाल्नुभएको छ ।

अन्य मानिसले सीप सिक्न नदिँदा बुट्टेनली लोप हुन थालेको भन्दै कला संरक्षणका लागि यसवालाई तालिम दिन थालिएको उहाँको भनाइ थियो । “बुट्टेनली जोगाउन स्थानीय सरकार नै लाग्नु पर्दछ । नभए बागलुङको पहिचान लोप भएर जान्छ”, राजभण्डारीले भन्नुभयो, “तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर यसको निर्माण गरी स्थानीय सरकारले बजारीकरणको जिम्मा लिए कलाको संरक्षणका साथै आयआर्जन समेत हुने थियो ।” एउटा बुट्टेनली बनाउन चारदेखि पाँच दिनसम्म समय लाग्ने गरेकाले निकै खर्चिलो रहेको उहाँको भनाइ थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area