चितवन विशेष

नारायणगढमा कविताका पारखीहरुको खचाखच भीडमा भूपिनका कवितामाथि शल्यक्रिया

Banner

चितवन, मंसिर १६-

नारायणगढमा चितवन साहित्य परिषद्को प्रेक्षालयमा बेग्लै खालको दृश्य देखिन्थ्यो । अघिपछि हुने साहित्यिक कार्यक्रममा आधा कुर्ची पनि नभरिने हलमा शनिबार आयोजकलाई प्लास्टिकका कुर्ची ओसार्न नै हतार थियो । चितवसहित तनहुँ, मकवानपुर, काठमाडौँ, पोखरा र बागलुङदेखि आएका कविताका पारखीहरुले प्रेक्षालय भरिँदा आयोजकलाई बेवस्थापन गर्न नै हम्मे हम्मे पर्न गयो । शिक्षा मन्त्रालयका पूर्वसल्लाहकार रमाकान्त सापकोटासहित भरतपुर अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेण्ट डा. कृष्ण पौडेल,समालोचक डा धनेश्वर भट्टराई, समालोचक डा होमनाथ सापकोटा, गजलकार धनराज गिरी, विश्लेषक प्रेम रिमालसमेत दर्शक दिर्घामा कविता सुन्न बसेका थिए । झण्डै १०० जना कविता पारखीको माझमा समालोचकहरुले भूपिनका कवितामाथि शल्य क्रिया गरेका छन् ।

कवि भूपिन खड्काको नयाँ कृति ‘भूपिनका कविता’ को विमोचनसहित सुरु भएको कविता उत्सवमा डा एकनारायण पौडेल र हेटौंडाका कवि निमेष निखिलले चर्चा गरे भने अन्य आधा दर्जन साहित्यकारहरुले उनलाई शुभकामना दिए । उनीहरुले समकालिन नेपाली साहित्यमा भूपिन अब्बल र प्रतिनिधि कवि भएको बताएका छन् ।

अक्षर समूह चितवनको आयोजनामा भएको कविता उत्सवमा डा पौडेलले भूपिन नयाँ कवि नभएकोले उनको बारेमा धेरै चर्चा गरिरहनु नै नपर्ने बताएका छन् । उनले भने, ‘ भूपिनले आफ्ना कविताहरुमा सामान्य र विशिष्ट विषयवस्तु कलात्मकरुपमा उठाएका छन् । शीर्षकहरु पनि व्यङ्ग्यात्मक छन् ।’ उनले ‘भूपिनका कविता’ मा कतिपय कविता श्रृंखला कविता र कतिपयमा प्रश्नात्मकसहित निबन्धको शैली प्रयोग गरेकाले प्रत्येकमा फरक स्वाद पाइने विचार राखे ।

त्यस्तै अर्का समालोचक कवि निमेष निखिलले भूपिनको कविताबारे बोल्नुनै जोखिमपूर्ण कदम रहेको भन्दै कवि श्यामल, एलबी क्षेत्री, तीर्थ श्रेष्ठ, श्रमण मुकारुङ, राजेन्द्र भण्डारी र समालोचक उदय अधिकारीलगायतका कवि तथा समालोचकहरुको भूपिनका कविताप्रतिको दृष्टिकोण प्रस्तुत गरे । निमेषले भूपिनका कविता राम्रा कविताहरु मध्ये पनि उत्कृष्ट रहेको विचार राखे । उनले भने, ‘ भूपिन प्रकृति प्रेमी राम्रा कवि हुन् । ’

कार्यक्रममा चितवनका अग्रज कवि, निबन्धकार तथा उपन्यासकार रेशम विरहीले भूपिनको कविता उत्सवमा प्रमुख अतिथि भएर उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्दै उनी एउटा अब्बल कवि भएको बताए । कार्यक्रममा कवि अनिल श्रेष्ठ, गण्डकी साहित्य प्रतिष्ठान दमौलीका कवि सागर उदास, कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री, प्रकाशकको तर्फबाट भूपेन्द्र खड्का, भरतपुर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलिया, साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाइँ, साहित्य संगम मकनावनपुरका अध्यक्ष डीबी बर्ताेलाले शुभकामना मन्तव्य राख्दै भूपिनको नयाँ कृतिले राष्ट्रियस्तरमा तहल्का पिट्ने विचार राखे । उनीहरुले भूपिन कवि होइन आफैँ कविता हो भन्दै भूपिनका कविताप्रतिको क्रेज कार्यक्रमको उपस्थितिले पनि जनाएको बताएका छन् ।

अक्षर समूहका संस्थापक सदस्य उदय अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै अक्षर समूहका पूर्वअध्यक्ष ईश्वर कँडेलले भूपिन सरल कविता लेख्ने साधारण मानिसहरुको कवि भएको विचार राखे । प्रकाशकको तर्फबाट खड्काले कवि भूपिन भूपि शेरचन हिडेको बाटोमा हिडिरहेको कवि भएको बताएका छन् । उनले भने, ‘ कविता कोर्न जसले पनि सक्छ । तर कवितामा प्रभावशाली पन र बौद्धिकता चाहिन्छ । त्यो दुवै भूपिनका कवितामा छ । उनी अन्य साहित्यकार भन्दा कविता, निबन्ध र उपन्यासमा कलम चलाउने अन्य साहित्यकार भन्दा उपल्लो दर्जाका साहित्यकार हुन् । ’ उनले विद्यालयको पाठ्यक्रममा भूपिनको कविता राखिएको छ नयाँ पुस्तालाई भूपिनका कविताबारे अझ धेरै बुझाउन नयाँ कृति प्रकाशन गरिएको विचार राखे ।

कार्यक्रममा कवि भूपिनले कविताको लागि जे पनि गर्ने पागल भएमा कविताको क्लिनिकमा जाने गरेको अनुभव सुनाए । कार्यक्रममा निकै भावुक हुँदै भूपिनले भने, ‘ कविता मेरो लागि मनोचिकित्सक हो । बिरामी भएमा म कविताको क्लिनिकमा जान्छु । कविताको विकल्पमा अरु केही रोज्न सक्दिन । ’ उनले कविताको कारणले आर्थिकरुपमा फाइदा हुने अमेरिका छाडेर नेपाल आएको अनुभव सुनाए । उनले भने, ‘ अमेरिका छाडेर आए पनि मलाई पश्चाताप छैन । अन्य जे पनि छाड्न तयार छु तर कविता लेख्न छाड्दिन ।’ कार्यक्रममा ‘कुरुप’ कविताबाट वाचन सुरु गरेर उनले ‘नोटको जीवनी’ सम्म ६ वटा कविता वाचन गरे । कार्यक्रमको संयोजन र सञ्चालन अक्षर समूहका अध्यक्ष रमेश प्रभातले गरेका थिए ।

 

बाग्लुङमा जन्मिएर चितवनलाई कर्मथलो बनाउँदै आएका अब्बल कवि भूपिन तीन दशक बढी समयदेखि कविता लेखनमा सक्रिय छन् । भूपिनको उत्कृष्ट कविताहरुलाई छानेर बुक हिल प्रकाशन गृहले ‘भूपिनका कविता’ दसैँको अवसरमा बजारमा ल्याएको हो । उनको दुई कविता संग्रह ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाइजहाज’ बाट पाठकहरुले अत्यधिक रुचाएका ५६ वटा कविता समावेश गरेर नयाँ संग्रह प्रकाशन गरिएकोले यसलाई जुम्ली कविता संग्रह भनिएको छ ।

एक दर्जन बढी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका कवि भूपिनको २०५३ सालमा ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’कविता संग्रह, २०६६ सालमा ‘हजार वर्षको निद्रा’ कविता संग्रह, २०६९ सालमा निबन्ध संग्रह चौबिस रिल, २०७२ सालमा ‘सुप्लाको हवाइजहाज’ कविता संग्रह र २०७५ सालमा मैदारो उपन्यास प्रकाशित भइसकेका छन् । अहिले बजारमा आएको कविता संग्रह ‘भूपिनका कविता’ उनको छैठौं कृति हो । यसै वर्ष उनको निबन्ध संग्रह ‘चौबिस रिल’ को तेस्रो संस्करण र नयाँ निबन्ध संग्रह प्रकाशनको तयारीमा कवि भूपिन लागेका छन् ।

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको उपप्राध्यापकसमेत रहेका कवि भूपिनले अमेरिकाबाट नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार, उत्तम शान्ति पुरस्कार, अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कारसहित एक दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरेका छन् । संरक्षण कविता आन्दोलनका संस्थापकसमेत रहेका भूपिन अक्षर समूह चितवनका निवर्तमान अध्यक्ष हुन् । अहिले उनले अफ द बिट जेनेरेशन संस्थाको नेतृत्व गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>