देश/प्रदेश

कुमाललाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ

Banner

धनुषा, कात्तिक २४-

दसैँ पर्व सकेर यतिबेला यहाँका कुमाल समुदाय (माटाका भाडा बनाउने जाति) तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् । उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गरिसकेको अवस्थामा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ । अघिपछिको समयमा फुर्सदिला बनेका कुमाल जाति दीपावली, छठ पर्व आएपछि व्यस्त हुने गरेका छन् ।

चाडपर्वको विधि र प्रयोगको अभ्यासले दसैँभन्दा तिहार र छठमा माटाका भाँडाको माग बढ्ने भएकाले दसैँ सकेलगत्तै भाँडा बनाउन दिनरात नभनी जुटेका उनीहरु बताउँछन् । चाडपर्वका बेला बढी खपत हुने माटोका भाँडा माग अनुसार पूरा गर्न यतिबेला कुमालेलाई भ्याइनभ्याइ देखिएको हो ।

दीपावली ९तिहार० र छठ पर्वमा कलश, दियो, घडा ९गाग्रो० र छ्याँची ९दही जमाउने भाडा०, तौला ९माटोको डेक्ची० र ढकना ९बिर्को० सहित नयाँ भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार धनुषासहित तराईका जिल्लाका गाउँ, नगर, बस्तीमा माटाको माग बढ्ने गरेको छ । यसै बेलालाई आफ्नो कमाईको मुख्य अवसर ठानेका कुमाले अहिले भाडा बनाउन व्यस्त भएका हुन् ।

“दसैँमा त हाम्रो सीपको खासै माग हुँदैन । खोजमेल गरेर नै दसैँ टारियो”, कुमाले टोलका सुरेन्द्र पण्डित कुमालले भन्नुभयो, “दीपावली र छठमा भने अनिवार्य विधिमै माटाका भाँडाको प्रयोजन जोडिएकाले हाम्रो माग बढ्छ । दसैँपछिको तिहार र छठअघिको समय नै आफूहरुको वर्षभरिको खर्चको जोहो गर्ने उपयुक्त समय हो ।” अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्व विशेषमा मिथिला परम्परामा अनिवार्यजस्तै मानिँदै आइएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको उहाँको भनाइ थियो ।

कुमाल जातिले परम्परादेखि माटोको भाँडा बनाउँदै आए पनि अहिलेका युवा पुस्ताले परम्परागत पेसालाई नअपनाएपछि बजारको मागअनुसार धान्न गाह्रो भएको उनीहरु बताउँछन् ।

दीपावली र छठपर्वमा बत्ती माटोकै दियोमा बालिने, छठपर्वमा सूर्यदेवलाई चढाइने दही माटोकै छ्याँचीमा जमाउनुपर्ने, लक्ष्मीपूजा र छठ आराधनाका बेला माटोकै कलश स्थापना गरिने र अन्य पूजा सामग्री पनि माटोका नयाँ भाँडामा राखिनुपर्ने परम्परागतले भाँडाको कारोबार बढ्ने गरेको सुरेन्द्रले जानकारी दिनुभयो । यसै परम्पराका अवसरमा दीपावली र छठअघि माटाका भाँडाको बजार जम्ने गरेका कुमालहरु बताउँछन् ।

माटोको दियो तथा अन्य भाँडा बनाउन धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयामा बसोबास गर्ने कुमालेहरु यतिबेला व्यस्त देखिन्छन् । उनीहरुले बनाएका भाँडाहरु सखुवा बजार, महेन्द्रनगर, ढल्केवर, जनकपुरधामदेखि महोत्तरीको बर्दिवाससम्म बिक्री वितरण हुने गरेको छ ।

दीपावली र छठ मिथिला क्षेत्रको साझा पर्वजस्तै भएकाले धनुषाका सबैजसो गाउँ, नगर बस्तीका हटियामा माटाका भाँडाका छुट्टै बजार लाग्ने गरेको छ । साप्ताहिक हाट बजार बाहेक नगर, गाउँ, बस्तीका चोकचोकमा कुमालेले माटाका भाँडाको बजार लगाउन सुरु गरिसकेका क्षीरेश्वरनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेश यादवले बताउनुभयो । उहाँले मिथिला क्षेत्रमा माटाका नयाँ भाडा शुभकार्य गर्न उत्तम हुने सामाजिक, सांस्कृतिक र धार्मिक मान्यताले दीपावली र छठ पर्वमा यसको माग बढ्ने गरेको बताउनुभयो ।

विष्णु पण्डित कुमालेले माटाका भाँडा बनाउन थालेको ४५ वर्ष भएको बताउनुभयो । हजुरबुबाबाट आफूले यो सीप सिकेर भाँडा बनाउँदै बिक्री वितरण गरिरहेको उहाँले बताउनुभयो । उहाँले एक दिनमा पाँच सय जति माटोको दिया बनाउने गरेको जानकारी दिनुभयो । चिने जानेकाले घरमा आएर खरिद गर्ने गरेको उहाँले बताउनुभयो । बढी जसो होलसेल पसलमा माटाका भाँडा बिक्री गर्ने गरेका पण्डितले बताउनुभयो । अहिले आफूसँग भए जतिको माटाका दियाहरु सबै बिक्री वितरण गरिसकेको उहाँको भनाइ थियो ।

यसपालि दसैँ सकिएलगत्तै जमेको माटाका भाँडाको बजार छठसम्म रहने भएकाले र मूल्य वृद्धि समेत भएकाले छठसम्म करिब १५ लाखभन्दा बढीको कारोबार हुने जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो ।

कुमालेहरुको मुख्य पेसा माटाका भाँडा बनाउने रहे पनि थोरै आम्दानी हुने भन्दै नयाँ युवा पुस्ताले परम्परागत पेसालाई अवमूल्यन गरेकाले चाडपर्वको बेला बढेको माग पूरा गर्न हम्मेहम्मे परेको क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवाबजारका ५५ वर्षीय लक्ष्मण पण्डित कुमालेले बताउनुभयो । सरकारले माटोको भाँडा बनाउने व्यवसायको बजार प्रवद्र्धनमा सहयोग गरेमा नयाँ पुस्ताको आकर्षण बढ्ने र परम्परा पनि कायम रहने उहाँको भनाइ थियो ।

सखुवाबजार नयाँटोल बस्ने ६० वर्षीय जयनारायण पण्डितले माटोको भाँडाकुँडा बनाउँदा अरू बेलामा भने जस्तो आम्दानी नहुने हुँदा जीविकोपार्जनमै समस्या हुने गरेको बताउनुभयो । पुर्खाले अँगाल्दै आएको पेसालाई आफूहरुले छोड्न नसकिएको उहाँको भनाइ छ । “माटाका भाँडाको सट्टा प्लास्टिकका भाडाँको प्रयोग बढेकाले चाडपर्वमा मात्रै बढी बिक्री हुन्छ”, उहाँले भननुभयो ।

प्लास्टिकका सामानहरु सस्तोमा पाउने भन्दै माटोका भाँडा बनाउन प्रयोग गर्ने माटो, दाउरा र रङ्गरोगनका सामग्रीको मूल्य बढेकाले पेसालाई निरन्तरता दिन कठिनाइ भएको शान्तिपुरका दशरथ प्रसाद पण्डितले बताउनुभयो । आफूहरुले ३६ किसिमका माटाका भाँडाहरु बनाउने गरेको उहाँको भनाइ छ ।

अहिले माटोलगायत बनाइएको सामग्रीहरु आगोमा पकाउनका लागि आवश्यक सबै सामग्रीहरु खरिद गर्नुपर्ने भएकाले पनि युवा पुस्ताको आकर्षण हुन नसकेको दशरथ पण्डितले बताउनुभयो । अहिलेसम्म पुख्र्यौली पेसालाई आफूहरुले जसोतसो धाने पनि नयाँ पुस्ताले देखाएको उदासीनताका कारण भविष्यमा माटोको भाँडाको विकल्पमा अन्य भाँडाले ठाउँ लिने उहाँको भनाइ थियो ।

यमपञ्चकमा लक्ष्मीपूजाको दिन घरमा दीपावली गर्नका लागि माटोको पालामा दीप राखेर प्रज्वलित गर्ने चलन रहेकाले पछिल्लो समय माटोको पालामा दीप र तेलबाट जलाउने दीपकभन्दा पनि बिजुलीबाट जल्ने झिलीमिली बत्तीको प्रचलन बढ्दो छ । “पहिला पाला धेरै प्रयोग गरिन्थ्यो,” स्थानीय रामदेव पण्डितले भन्नुभयोे, “अहिले प्लास्टिकका बत्तीबाट जल्ने दियोको आकृतिका सामग्री बनेपछि पाला कम बिक्री हुन थोलका छन् ।” केही वर्षपहिला सम्म तिहारमा मात्र एक लाख पाला बेच्ने गरेको अनुभव रामदेवले सुनाउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>