चितवन विशेष
चितवनले पहिलो पटक मुख्यमन्त्री पाउँदै, बहुमत जुटाउन भने चुनौती

भरतपुर, साउन १६-
चितवनले पहिलो पटक मुख्यमन्त्री पाउने भएको छ । बागमती प्रदेश सरकारको आगामी नेतृत्व चितवन १(क)बाट निर्वाचित जगन्नाथ थपलियाले गर्ने पक्कापक्की भएको छ ।
लामो आन्तरिक कसरत, शक्ति परीक्षण र नेतृत्व विवादपछि एमालेले अन्ततः बागमती प्रदेश सरकारको नेतृत्व वर्तमान संसदीय दलका नेता थपलियालाई नै सुम्पिने निर्णय गरेको छ । थपलियासहितका नेताहरुले शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । ओलीले थपलियालाई नै मुख्यमन्त्री बनाउने बचन दिएका हुन् ।
केन्द्रमा नेकपा र एमालेबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएपछि दलभित्र मुख्यमन्त्रीको प्रतिस्पर्धा चर्किएको थियो । संसदीय अभ्यासअनुसार संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने परम्परा रहे पनि दलभित्रको ठूलो समूहले नेतृत्व परिवर्तनको माग गरेपछि केही दिनयता एमालेभित्र शक्ति संघर्ष देखिएको थियो ।
गत साउन ९ गते एमाले–नेकपाबीच बागमती सरकारको नेतृत्व एमालेले लिने सहमति भएपछि संसदीय दलको नेतृत्व परिवर्तनको अभियान सुरु भएको थियो । वर्तमान नेता थपलियाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सचिव महेश बस्नेत निकट समूहले नेतृत्व परिवर्तनका लागि हस्ताक्षर अभियान नै चलाएको थियो । स्रोतका अनुसार २५ सदस्यीय एमाले संसदीय दलमध्ये १९ सांसदले किरण थापा मगरलाई नयाँ संसदीय दलको नेता बनाउन हस्ताक्षर गरेका थिए ।
अर्कोतर्फ, एमाले उपाध्यक्ष ईश्वर पोखरेल निकट समूहले केशव पोखरेललाई दलको नेता बनाउने प्रयास गरिरहेको थियो । यसले एमालेभित्र तीन नेताबीच त्रिकोणात्मक प्रतिस्पर्धा सिर्जना भएको थियो ।
नेतृत्व परिवर्तनको पक्षमा बहुमत सांसद खुलेपछि थपलियाको राजनीतिक भविष्य अन्योलमा परेको विश्लेषण भइरहेको थियो । तर अन्तिम समयमा केन्द्र नेतृत्वले दल विभाजन हुने जोखिम नलिने निष्कर्ष निकाल्दै वर्तमान दलका नेता थपलियालाई नै मुख्यमन्त्री बनाउने निर्णय गरेको एमाले स्रोतले जनाएको छ ।
एमालेभित्रको विवाद निर्वाचनसम्म पुगे दल विभाजित हुने र नयाँ सरकार गठनमै असर पर्ने निष्कर्ष शीर्ष नेतृत्वले निकालेको बताइएको छ । सत्ता साझेदार नेकपासँग भएको सहमति कार्यान्वयनलाई प्राथमिकता दिँदै तत्काल सरकार गठन गर्ने रणनीतिअनुसार संसदीय दलको नेतृत्व यथावत् राख्ने निर्णय गरिएको स्रोतको भनाइ छ ।
दलको नेता परिवर्तन गर्दा संसदीय दलभित्र थप ध्रुवीकरण हुने, सरकार गठन प्रक्रिया लम्बिने र नयाँ गठबन्धनमै नकारात्मक सन्देश जाने आकलनपछि थपलियालाई निरन्तरता दिने निर्णय भएको बुझिएको छ ।
संघीयता कार्यान्वयनपछि गठन भएको बागमती प्रदेशमा जगन्नाथ थपलिया सातौँ मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । उनी यसअघि दुई पटक आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
थपलिया २०७९ मा एमाले संसदीय दलको नेता बनेका थिए । पहिलो कार्यकालमा माओवादी केन्द्र, राप्रपा र एमालेको गठबन्धन सरकारमा तथा दोस्रो पटक नेकपा, एमाले र हाम्रो नेपाली पार्टीको गठबन्धन सरकारमा अर्थ मन्त्रालय सम्हालेका थिए ।
एमाले नेतृत्वमा सरकार गठन निश्चित भए पनि नयाँ सरकारका लागि प्रदेशसभामा बहुमत जुटाउनु अर्को चुनौती कायमै छ । हाल प्रदेशसभामा ११० मध्ये ६ पद रिक्त रहेकाले १०४ सदस्य कायम छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५ र नेकपाका २६ सांसद गरी ५१ मत मात्रै पुग्ने भएकाले बहुमतका लागि कम्तीमा दुई सांसदको थप समर्थन आवश्यक छ ।
यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), हाम्रो नेपाली पार्टी वा अन्य दलको समर्थन निर्णायक बन्ने देखिएको छ । नयाँ सत्ता गठबन्धनले आवश्यक समर्थन जुटाएपछि थपलियाले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भइरहेको एमाले स्रोतले जनाएको छ ।

























