चितवन विशेष
कात्तिक २५ गते देवघाटमा ७ औँ देवपुर सांस्कृतिक महोत्सव हुने

चितवन, कात्तिक २३–
तनहुँको देवघाटमा कात्तिक २५ गते सांस्कृतिक महोत्सव हुने भएको छ । लोक कला संस्कृति संरक्षण भन्ने मुल नाराको साथ श्रीगाँउ सुधार समितिको आयोजनामा ७ औँ देवपुर सांस्कृतिक महोत्सव–२०८० हुन लागेको हो ।
देवघाट गाउँ सुधार समितिका अध्यक्ष सुकु गुरुङ अनुसार देवघाट गाँउपालिका–५ देउपुरचोक (डबली पार्क) मा हुने कार्यक्रममा राष्ट्रिय कलाकार ज्योति मगर, राजन गुरुङ, निर्जला गुरुङ, कुहल बेलबासे, बराम सरकारसँगै स्थानीय कलाकारको प्रस्तुति रहने छन् । त्यस्तै, महोत्सवमा लोप हुन लागेको विविध जातको, समुदायको नचरी, घाँटु, कौराह, झउरे, तामाङ शेलो, भजनसमेत प्रस्तुत हुने कार्यक्रम संयोजक आशिक रानाले जानकारी दिनुभयो ।
चितवन, नवलपुर, तनहुँलगायत अन्य जिल्लाको समेत सहभागिता रहने अपेक्षा गरिएको यस महोत्सव सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।
देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवपुर सांस्कृतिक महोत्सवले देवघाटको पहिचान झल्काउने बताउनुभयो । उहाँले यो महोत्सवमा भरतपुर भ्रमण बर्षको समेत प्रचारप्रसार गरिने जानकारी दिनुभयो ।
























