समाचार

सरकारी सवारीको दुरुपयोग बढ्दो

Banner

बागलुङ, १३ कात्तिक-
बागलुङ जिल्लामा सरकारी सवारीको दुरुपयोग बढ्न थालेको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङले सरकारी सवारीको दुरुपयोग बढेपछि धमाधम कारबाहीको दायरामा ल्याउन थालेको हो ।

जिल्लामा सार्वजनिक बिदाको दिन सम्बन्धित निकायबाट अनुमति नलिई सरकारी सवारीसधान प्रयोग हुन थालेपछि ट्राफिक प्रहरीले सक्रियताका साथ कारबाही गर्न थालेको छ । असोजभर परेको तीन दिनको सार्वजनिक बिदाको समयमा १६ सरकारी सवारीसधान कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ । जिल्लामा असोज महिनादेखि सरकारी सवारीको जाँचमा कडाइ गरिएको हो ।

सरकारी सवारी लिएर पर्यटकीयस्थल हिँडेको, घुम्न हिँडेको र विना काममा सरकारी सवारीको प्रयोग बढेपछि कारबाही गर्न थालिएको छ । स्थानीय तहका सरकारी सवारी बढी दुरुपयोग भएको प्रहरीको भनाइ छ ।

असोज महिनाको तीन दिनमा मात्रै १६ सरकारी सवारी मोटरसाईकल र जीपलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक मीनबहादुर खड्काले जानकारी दिनुभयो । खड्काले असोजको ३ गते, असोजको ६ गते र असोजको २० गते मात्रै १६ वटा सरकारी सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको बताउनुभयो । जसमध्ये तीन वटा जीप र १४ वटा मोटरसाइकल रहेका छन् । तीन दिनको सार्वजनिक बिदाको दिनमा सरकारी सवारीको कारबाहीबाट तीन दिनमै रु १६ हजार राजस्व सङ्कलन भएको छ । “सरकारी सवारी दुरुपायोग बढ्न थालेपछि सार्वजनिक बिदाको समयमा ठाउँ–ठाउँमा सरकारी सवारीको जाँच गर्दै आएका छौँ, खासगरी दसैँ सुरु भएपछि बढी सरकारी सवारीको दुरुपयोग भएको भन्ने गुनासो आएपछि होल्ड गर्न थालिएको छ”, ट्राफिक प्रहरी प्रमुख खड्काले भन्नुभयो, “जिल्ला प्रशासनको अनुमति विना सञ्चालनमा आएका सरकारी सवारीलाई होल्ड गरेर रु एक हजार जरिवाना गरिएको छ, यो अभियानले आगामी दिनमा निरन्तरता पाउनेछ ।”

खड्काका अनुसार अन्य समयमा सार्वजनिक र निजी सवारीको जाँच बढाएपनि सार्वजनिक बिदाको समयमा सरकारी साधन लक्षित जाँच गरिदै आइएको छ । बागलुङ बजारको मुख्य प्रवेशद्वारमा सार्वजनिक बिदाको दिन अनुमतिविनै प्रवेश गर्न खोजेका दर्जनौँ सवारीलाई गन्तव्यमा पुग्न रोक लगाएर फकाईएको छ । अनुमतिविना जिल्लामा सरकारी सवारी प्रवेश गर्न नदिएपछि प्रवेशद्वारबाटै फर्काइएको ट्राफिक प्रहरीको भनाइ छ । पछिल्लो समय धार्मिक पर्यटकीयस्थल, होटल तथा रेष्टुरामा बिदाको समयमा सरकारी सवारी देखिन थालेपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीब्रता दिन थालेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>