समाचार

बागलुङको ढोरपाटनमा पर्यटक लोभ्याउँदै लोपोन्मुख झाँक्री नाच

Banner

बागलुङ, असोज २७
बागलुङ ढोरपाटनका दलित समुदायमा परम्परादेखि चल्दै आएको झाँक्री नाच कुनै समय बिरामी निको पार्ने माध्यम थियो । तर अहिले त्यो समय छैन । मानिसहरु बिरामी हुँदा स्वास्थ्य चौकी र अस्पताल जान थालेपछि झाँक्री नाचको माग कम हुन थाल्यो । यसैको आम्दानीबाट जीविकोपार्जन गर्नेलाई समस्या हुन थाल्यो ।

अहिले पनि मानिसहरु बिरामी हुँदा झाँक्रीकहाँ नआउने होइन तर त्यो सङ्ख्या निकै कम छ । यद्यपि आफूकहाँ आउने बिरामीहरुलाई झारफूक गर्ने भन्दा पनि अस्पतालमै जान सुझाव दिने गरेको उनीहरुको भनाइ छ । उनीहरु भने यो नाचलाई परिमार्जन गर्दै लगेका छन् । लोपोन्मुख झाँक्री नाचलाई जोगाउन र आम्दानीसमेत गर्ने उद्देश्यले यहाँका झाँक्रीहरू यतिबेला झाँक्री नाचलाई विभिन्न चाडपर्व, मेला–महोत्सव तथा पर्यटकको स्वागतमा प्रदर्शन गर्न थालेका छन् ।

ढोरपाटन नगरपालिका–९ ढोरका सुन्दर विक आफूहरु यतिबेला झाँक्री नाच पर्यटकलाई देखाएर आम्दानी गर्न थालेको बताउनुहुन्छ । बाजे र जिजुबाजेले दिएका गरगहनामा सजिएर र पशुपक्षीका छाला ओढेर डम्फु र ढोल बजाउँदै नाच्ने झाँक्री नाच अन्यत्रभन्दा फरक भएकाले ढोरपाटन घुम्न आउने पाहुना पनि यसैमा झुम्न थालेको उहाँको भनाइ छ ।

“यो बिरामी निको पार्ने नाच हो, पछिल्लो समय हामीले यसलाई मेला तथा महोत्सवमा देखाउँदै आएका छौँ, कहिलेकाँही ढोरपाटनमा आउने पाहुनाको स्वागतमा पनि देखाउँछौँ”, उहाँले भन्नुभयो ।

झाँक्री मोतीलाल विकले आफू कहाँ आउने बिरामीलाई सामान्य झारफुक गरे पनि अस्पताल जान नै सुझाव दिने गरेको बताउनुभयो । “ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ, उनीहरूको स्वागतका लागि यहाँका होटल तथा सामुदायिक घरबासले हामीलाई बोलाउँछन्”, उहाँले भन्नुभयो, “त्यसबाहेक ढोरपाटनमा लाग्ने मेला तथा महोत्सव पनि आयस्रोतको माध्यम बनेको छ ।”

झाँक्री भुपिल विकले आफूले सामान्य आयुर्वेद उपचार गरे पनि बिरामीलाई भने अस्पताल जान सुझाव दिने गरेको बताउनुभयो । “अस्पताल गएर थाकेर फर्केकालाई पनि उपचार गर्छौँ तर सिकिस्त बिरामीलाई भने पहिले अस्पताल जान भन्छौँ”, उहाँले भन्नुभयो ।

ढोरपाटन सामुदायिक घरबासका सञ्चालक रामबहादुर घर्तीले घरबासमा आउने पाहुनाको मनोरञ्जनका लागि झाँक्री नाच देखाउने गरेको बताउनुभयो । झाँक्रीले देखाउने नाचबाट पाहुना प्रभावित हुन थालेपछि झाँक्रीको माग बढ्न थालेको उहाँको भनाइ छ ।

बागलुङको पश्चिम क्षेत्रको निसी, बोबाङ, अधिकारीचौर र ढोरपाटन उपत्यका क्षेत्रमा प्रचलित झाँक्री नाचको अहिले अन्यत्र पनि प्रचार–प्रसारसमेत हुन थालेको छ । झाँक्री नाच देखाउनकै लागि बुर्तिवाङबाट बागलुङ बजारसम्म आउने गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>