नवलपरासी

भत्किएको नारायणगढ–बुटवल सडकका कारण नवलपरासीका होटेल व्यवसायमा समस्या

Banner

नवलपरासी, असोज २१-

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ चोरमारा बजारमा सुवास ज्ञवालीले होटेल सञ्चालन गर्न थालेको १७ वर्षभन्दा बढी भयो । पूर्व–पश्चिम राजमार्ग छेउमा रहेको उहाँको होटेलमा कुनै समय गाह्रकलाई खाना, खाना दिन फुर्सदै हुदैन थियो तर अहिले ग्राहक कुर्नुपर्ने अवस्था छ । कारण हो भत्किएको नारायणगढ–बुटवल सडकखण्ड । ज्ञवालीले भन्नुभयो, “विगतमा दिनमै रु ७०/८० हजार सम्मको व्यापार हुन्थ्यो तर अहिले रु १२–१५ हजारसम्मको कारोबार हुन पनि गाह्रो भएको छ ।

कोही आउँछन् कि भनेर हेर्नुपर्छ । बाटो यस्तो धूलो छ । मान्छेलाई पनि कतिबेला गन्तव्यमा पुगौँ भन्ने हतार हुन्छ ।” गैँडाकोट नगरपालिका–१६का होटेल व्यवसायी नारायणप्रसाद गौतमको गुनासो पनि उस्तै थियो । छ वर्ष विदेश बसेर नेपाल फर्किनुभएका उहाँले स्वदेशमै उद्यम गर्ने सोचले होटेल सञ्चालन गर्नुभएको थियो तर अहिले अवस्था सोचेजस्तो भएन।

“रु १२ लाखबाट सुरु गरेको व्यवसायमा अहिले लगानी उठाउन पनि मुस्किल परेको छ”,व्यवसयी गौतमले भन्नुभयो,“यो सडकको अवस्थासँगसँगै हरेक दिन बढ्ने महङ्गीले पनि थप समस्या नित्याएको छ ।”नारायणगढ–बुटवल सडकखण्ड जहाँ दिनहुँ हजारौँको सङ्ख्यामा सानादेखि ठूला सवारीसाधन ओहोरदोहोर गर्छन् । छ लेनको सडक बनाउन सडक भत्काएको चार वर्ष पूरा भयो । सम्झौताअनुरूप समयमै सडक नबन्दा धुलोले यात्रुलाई मात्र होइन, सडक नजिकै रहेका होटेल व्यवसायलाई समेत असर गरेको छ । कोरोनाका कारण सुस्ताएका जिल्लाको होटेल व्यवसाय, अहिले पूर्व–पश्चिम राजमार्गका कारण झन् सुस्ताएका छन् ।

सडकमा उड्ने धुलो र धुँवाका कारण होटेलमा ग्राहकको सङ्ख्या घट्न थालेका छन् । समयमै सडक निर्माण नहुनु, रोजगारीका लागि युवा पुस्ता विदेिशनुलगायत कारणले पनि होटेल व्यवसायी मारमा परेको नवलपुर होटेल व्यवसायी सङ्घका उपाध्यक्ष यमप्रसाद न्यौपानले बताउनुभयो । कावासोती नगरपालिका–८ मा होटेल नयाँ थाली सञ्चालन गर्नु भएका उहाँले आर्थिक वर्ष २०७८/७९ मा भन्दा २०७९/८० मा ४५ प्रतिशत व्यापार घटेको गुनासो गर्नुभयो ।

“धुलोका कारण मोटरमा हिँड्ने पर्यटक जहाजमा हिँड्न थालेका छन् । कमाउने र रमाउने युवा विदेशमा छन् । अनि हाम्रो होटेल कसरी चल्छ । हामीजस्तो मारमा अहिले कोही छैन् होला”, न्यौपानेले भन्नुभयो । कुनै समय ग्राहकले भरिभराउ देखिने राजमार्ग आसपासका होटल पछिल्लो समय शून्यजस्तै देखिएका छन् । जिल्ला सदरमुकामसमेत रहेको कावासोती बजार क्षेत्रमा लाखौँ लगानीमा खुलेका होटल धमाधम बन्द हुने क्रम बढेको उहाँको गुनासो थियो ।

भत्किएको सडकमा गाडी गुड्दा उड्ने धुलो र धुवाँले यात्रा गर्न सकस हुँदा होटेलमा पाहुना नआउने अवस्था सिर्जना भएको नवलपुर होटेल व्यवसायी संघका जिल्ला अध्यक्ष सन्तोष रानाले बताउनुभयो । “नारायणगढबाट बुटवलको दूरी एक सय १४ किलोमिटर छ” उहाँले भन्नुभयो,“यो सडकमा राम्रो सडक कहीँ पनि भेटिँदैन, सडकमा यात्रा गर्दा धुलो खानुपर्छ भनेर जिल्लामा पर्यटकनै आउँदैनन् ।”

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा धेरै पर्यटकीयस्थल तथा भौगोलिक विविधता भए पनि सडकका कारण पर्यटक आउन छाडेका छन् । जिल्लामा होटेल व्यवसायी पलायन हुने क्रम बढेको अध्यक्ष रानाले बताउनुभयो ।“सञ्चालनमा रहेका होटेलको अवस्था पनि चिन्ताजनक छ”,उहाँको गुनासो थियो,“सुस्ताएको होटेल व्यवसायलाई उकास्न स्थानीय सरोकारवालाले चासो दिएको पनि पाएका छैनौँ ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>