कृषि
भरतपुर–२ मा रहेको अद्वेत संस्थाको बाँझो एक बिघा जग्गामा आदर्श गृहले गर्यो खेती

चितवन, असोज १८-
भरतपुर महानगरपालिका वडा नम्बर २ मा रहेको अद्वेत संस्थाको एक बिघा जग्गामा आदर्श गृहले खेती गरेको छ ।
वडा भित्र जग्गा बाँझो राख्न नपाइने नीति अनुसार अद्वैत संस्थाको बाँझो जग्गालाई आदर्श गृहले प्रयोगमा ल्याएको हो ।
करिब एक बिघा क्षेत्रफलमा आदर्श गृहले फूल र कोदो खेती गरेको छ । १२ कठ्ठा जग्गामा फूल खेती गरिएको छ । गृहकी अध्यक्ष मीना खरेलका अनुसार गृहमा बस्दै आएका बहिनीहरुले खेती गरेको र यसका लागि सहजीकरणको काम आफूहरुले गरेको बताइन् । गृहमा संरक्षणमा रहेकाहरुलाई सहयोग र आत्मनिर्भर बनाउनका लागि फूल खेती गरिएको उनले बताइन् । उनका अनुसार पाए र अनुकुलता मिले यस्तो व्यवसाय अझै गर्ने गृहको योजना रहेको छ । यस गृहमा अहिले २७ जना महिला तथा बालिबालिका आश्रित रहेका छन् ।
वडा अध्यक्ष मनोज रानाभाटले वडा भित्रको जग्गा बाँझो राख्न नपाउने कार्यबिधि बनाएको बताए । उनले भने ‘खेत बाँझो रहँदा झाडी बढ्ने र अपराधिक क्रियाकलापहरु हुने भएकाले अभियान सञ्चालनमा ल्याई कार्यान्वयन गरिएको हो ।’ यसले गर्दा वडा सफा र हराभरा हुने उनले बताए । वडाले बाँझो जग्गालाई झाडी नबनाई सरसफाई गरेर राख्न गरेको आग्रह अनुसार आदर्श गृहलाई जग्गा उपलव्ध गराइएको हो ।
संस्थागत रुपमा जग्गा लिएर व्यवसाय गर्न चाहनेहरुलाई वडालेनै वजारको व्यवस्था गर्ने र अन्य सहकार्य समेत गर्ने उनले बताए । रानाभाटले भने ‘हामी हाम्रो तर्फबाट बाँझो जग्गा रहन दिँदैनौ ।’ यहाँ उत्पादित फूलको बजारीकरणका लागि महानगर फलफूल तथा तरकारी थोक व्यवसायी संघसँग सहकार्य गरिएको छ । संघले बजारीकरणसहित आवश्यक मल समेत सहयोग गर्ने कार्यवहाक अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।
























