Breaking News

शिक्षकको आन्दोलन टुंगिए लगत्तै फेरि स्थानीय तहका कर्मचारी सडकमा

Banner

काठमाडौं, असोज १७-

शिक्षक महासंघको संयोजनमा भएको शिक्षहरुको आन्दोलन सकिएसँगै संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू आन्दोलनका लागि काठमाडौं आएका छन् ।

काठमाडौँको सडक एकपछि अर्काे पेसागत संघसंगठनको आन्दोलनको अखडा बन्दा आमनागरिक भने कर्मचारीको सेवाबाट बञ्चित बनेका छन् ।

देशभरका ७५३ स्थानीय तहका कर्मचारी काठमाडौं आइरहेको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका महासचिव विजय देवकोटाले बताए । ‘३३ जिल्ला स्थानीय तहका कर्मचारीहरू मुग्लिनको जाममा रहेका छन्, नत्र आजै आन्दोलन ठूलो हुन्थ्यो’ महासचिव देवकोटाले भने ।

संघीय निजामती विधेयकमा स्थानीय सेवामा काम गर्नेलाई कर्मचारी नै स्वीकार नगरिएकाले आन्दोलन गर्नुपरेको संघर्ष समितिले जनाएको छ । उनीहरूले स्थानीय तहमा स्थानीय सेवाकै प्रमुख प्रशासकीय अधिकृत हुनुपर्नेमा संघको कर्मचारी पठाउने प्रस्ताव विधेयकमा गरिएकाले आन्दोलन गर्न बाध्य भएको दाबी गरेका छन् ।

साथै, स्थानीय सेवामा कार्यरत कर्मचारीलाई समेटेर एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवाका कर्मचारीको सेवाको सुरक्षा हुनुपर्ने, समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन हुनुपर्ने, करारका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्ने, तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समेट्नुपर्ने माग रहेका छन् ।

यस्तै कर्मचारी कल्याण कोषको व्यवस्था स्थानीय सेवाका कर्मचारीलाई हुनुपर्ने, स्थानीय कर्मचारीलाई ट्रेड युनियन अधिकार दिनुपर्ने, अन्तरप्रदेश सरुवा लागू गर्नुपर्ने माग उनीहरूले गरेका छन् ।

कर्मचारी समायोजन ऐन अनुसार संघबाट समायोजन भएका, साविक जिल्ला विकास समिति, गाउँ विकास समितिबाट स्थानीय सेवामा समायोजन भएका कर्मचारी, लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगले नियुक्त गरेर स्थानीय तहमा खटाएको करिब ३५ हजार कर्मचारी स्थानीय सेवामा कार्यरत रहेको देवकोटाले जानकारी दिए । ‘हामी माग पूरा नभएसम्म सडक छोड्दैनौं’, देवकोटाले भने ।

संघर्ष समितिले प्रधानमन्त्री कार्यालय, सामान्य प्रशासन मन्त्रालयमा ज्ञापनपत्र बुझाए पनि सरकारले वास्ता नगरेको बताएको छ । सरकारले वार्तामा नबोलाए आन्दोलन झन् सशक्त हुने समेत उनले बताए । एक स्थानीय तहबाट ३ जनाको दरले अहिले कर्मचारी काठमाडौं आउँदैछन् । पहिलो चरणमा बुधबार र बिहीबार सडकमा आन्दोलन गर्ने पर्सीबाट कार्यक्रम घोषणा गरेर आन्दोलन अगाडि बढाउने उनले बताए । देवकोटाका अनुसार स्थानीय सेवामा कार्यरत खरिदारदेखि अधिकृतसम्म आन्दोलित छन् ।

स्थानीय तहका कर्मचारीले काठमाडौं मात्रै नभई आ–आफ्ना स्थानीय तहका जनप्रतिनिधिलाई पनि ज्ञापनपत्र बुझाएर कालोपट्टी बाँधेर काम गरिरहेको जानकारी उनले दिए । हरेक कर्मचारीबाट १ हजारका दरले सहयोग उठाएर काठमाडौंकेन्द्रित आन्दोलन गरिएको उनीहरूले बताएका छन् ।
यसअघि कर्मचारीहरूले ७ असोजमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएर आधा दिन पेन डाउन गरेका थिए । ११ गतेसम्म संघर्ष समितिले देशका ठूला राजनीतिक दलका नेता, संसदीय दलाका सचेतकहरूलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए । त्यसपछि कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा जम्मा भएर केन्द्रीय संघर्ष समिति गठन गरेर कर्मचारी आन्दोलनमा आएका छन् ।

स्थानीय तहका कर्मचारी आन्दोलित हुँदा दैनिक सेवा प्रवाहमा भने असर देखिन थालेको छ । सरकारी सेवा लिनुपर्ने पहिलो खुट्किलोको रूपमा रहेको स्थानीय तहमै कर्मचारी आन्दोलित हुँदा घटना दर्ता, सिफारिसदेखि प्रशासनिक कामहरू प्रभावित भएका छन् । कर्मचारीको आन्दोलनले दैनिक सेवा प्रवाहमा असर देखिन थालेको नेपाली नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>