समाचार

आज स्वदेश फर्किँदै प्रधानमन्त्री दाहाल

Banner

काठमाडौं, असोज १३–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आठदिने चीनभ्रमण पूरा गरी शनिबार स्वदेश फर्किँदै छन्। दाहाल बिहान ११ बजे त्रिभुवन विमानस्थल उत्रिने उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

शर्माका अनुसार अमेरिका र चीन भ्रमणका उपलब्धिबारे जानकारी दिन उनले विमानस्थलमा पत्रकारसँग भेट्ने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गत भदौ ३० गते न्यूयोर्क गएका दाहाल उतैबाट सिधै चीन आएका हुन्।

संयुक्त राष्ट्रसंघको महासभामा आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरे। न्यूयोर्कमा रहँदा प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गरे।

गत शनिबार चीन आइपुगेका उनी एसियाडको उद्घाटन कार्यक्रममा सहभागी भए। चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङलगायत चिनियाँ उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरे। यस क्रममा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

त्यसलगत्तै दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए । त्यसपछि ल्हासा पुगेका उनले शुक्रबार छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुका साथै साँझ चिनिया कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग दुईपक्षीय भेटवार्ता गरे।

चीन भ्रमणका क्रममा औपचारिक कार्यक्रममा भन्दा घुमघाममा बढी समय बिताएको भन्दै नेपालमा दाहालको आलोचना भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>