Breaking News
यातायात कार्यालय भरतपुरमा सांसद लामिछानेको छड्के, कुनै हालतमा नागरिकलाई लुट्न नदिने प्रतिबद्धता

चितवन, असोज १०
चितवन-२ का सांसद रवि लामिछानेले यातायात कार्यालय भरतपुरको अनुगमन गरेका छन् । कार्यालयमा मनपरी बढेको भन्ने जनगुनासो बढेपछि सांसद लामिछानेले आज छड्के अनुगमन गरेका हुन् ।
अनुगमनमा उनले देशभर सवारी लाइसेन्स लिँदा गर्नुपर्ने आँखा परीक्षणमा अन्य कार्यालयमा अधिकतम् १२० रुपैयाँ मात्र लिदा भरतपुर यातायात कार्यालयमा भने ३५० रुपैयाँ लिने गरेको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिएका छन् । कार्यालयले कुनै टेन्डर नै नगरी मनपरी आँखा परीक्षण गर्ने गरेको पाइएको छ । देशका अन्य यातायात कार्यालयमा यो सेवा निःशुल्क पनि गरिएको छ तर भरतपुरमा मात्र मनपरी शुल्क लिइएको भन्दै सेवाग्राहीले आपत्ति जनाएका छन् ।
त्यस्तै अनुगमनमा सांसद लामिछानेले यातायात कार्यालयका कर्मचारी र सेवाग्राहीकै अगाडि के कति कारणले, कुन टेन्डर प्रक्रियाबाट सो शुल्क लिइएको हो कागज देखाउन माग गरेका छन् । कार्यालयले भने डाक्टरको लागि शुल्क लिइएको भन्दै अनाकानी गर्दै आएको छ । अस्पताल र डाक्टरको दर रेटअनुसार भन्दै यातायात कार्यालय पन्छिने गरेको छ ।
कार्यालयका पूर्वकर्मचारीहरु टेन्डरको सार्वजनिक सूचना ननिकाली सबैको मिलोमतोमा मनपरी गरिरहेको बताएका छन् । दुई महिना अघि सरुवा भएका पूर्वप्रमुख कालिबहादुर भुजेलले पनि कार्यालयमा केही गडबढी गरेको हुनसक्ने बताए । सांसद लामिछाले अनुगमनमा भने, ‘अहिले भर्खरै टेन्डर प्रक्रियाबाट लिएको अधिकतम् पैसा कति हो । त्यती मात्र लिनुहोस् । अहिले मात्र रोकिहाल्नुहोस् । अहिले जिल्ला प्रशासनलाई बोलाउनुहोस् । जनतालाई लुट्न कुनै हालतमा दिने छैन । कतै ५० छ कतै १० छ, यहाँ ५०० रुपैयाँ वा हजार लिन पाइँदैन ।’ सांसद लामिछानेले आफू कार्यालयमा घाम ताप्न र चिया खान नआई नागरिकको सूचनाका आधारमा अनुगमनमा आएको बताएका छन् ।
यातायात कार्यालयका प्रमुख पदमप्रसाद बजगाईले आफू भर्खर कार्यालय प्रमुख भएर आएकोले अझ धेरै बुझ्न बाँकी नै रहेको नारायणी अनलाइनलाई बताए । मन्त्रालयको काममा काठमाडौँमा रहेका उनले आज सांसद रवि लामिछानेले कार्यालयमा छड्के अनुगमन गरेर आफूलाई काम गर्न सजिलो बनाइदिएको विचार राखे । उनले भने, ‘यो विषयको उजुरी अख्तियारमा पनि परेको छ । टेन्डर प्रक्रियामा गएर सबैभन्दा कम शूल्क लिएर परीक्षण गर्नुपर्नेमा यो प्रक्रियामा जान ढिलाइ भएकोले यो समस्या आएको हो । अब म आइतबार कार्यालय आएपछि समस्याको समाधान हुन्छ ।’
























