Breaking News

एमालेको बागमती प्रदेश अधिवेशन लम्बियो, चितवनका पोखरेलले अध्यक्षको आकांक्षा छाडे

Banner

चितवन, असोज १०-

दुई दिनमा सक्नेगरी सोमबार सुरु भएको नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिदै गएको छ ।

अधिवेशनको तेस्रो दिन पनि निर्धारित तालिका अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्न नसकेपछि अधिवेशन लम्बिएको हो ।

पहिलो दिन उद्घाटन र दोस्रो दिन राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल भएको अधिवेशनको तेस्रो दिन बिहानैबाट नेतृत्व चयन प्रक्रिया सुरु गर्ने संशोधित तालिका तय भएको थियो । संशोधित तालिका अनुसार, बिहान साढे ९ बजे मनोनयन दर्ता हुनुपर्ने थियो । तर सर्वसम्मत नेतृत्व चयन गर्न भनेर निर्वाचन समितिले निर्धारित तालिका अनुसार अधिवेशनको प्रक्रिया अगाडि बढाएको छैन ।

सर्वसम्मत नेतृत्व चयन गर्न अध्यक्ष मण्डलका अध्यक्ष रहेका गुरु बराल आफैं लागेका छन् । उनले बुधबार बिहान अध्यक्षका आकांक्षीहरुसँग छलफल गरेका थिए । आकांक्षी नेताहरु अडानमै रहेपछि सर्वसम्मत गर्नकै लागि मतदानको समय भोलि, बिहीबार दिउँसो ११ बजे तोकिएको छ । अधिवेशनको तेस्रो दिनसम्म आइपुग्दा अध्यक्षका आकांक्षी संख्या पाँच जनामा झरेपनि मुख्य प्रतिस्पर्धा कृष्ण दाहाल र कैलाश ढुंगेलबीच हुने देखिएको छ ।

चितवनका एमाले नेता कृष्णभक्त पोखरेलले अध्यक्ष पदको आकांक्षी धेरै भएपछि सर्वसम्मत नेतृत्व चयनको लागि आफूले अध्यक्ष पदको आकांक्षा छाडेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ धेरै जना अध्यक्ष पदमा कति लड्ने भनेर आकांक्षा छाडेँ । म सर्वसम्मत नेतृत्व बनाउने पक्षमा छु । पार्टीले पछि केही जिम्मेवारी दिने अपेक्षा गरेको छु ।’

चितवनबाट पटकपटक प्रत्यक्षरुपमा निर्वाचन लडेर सांसद जितेका पोखरेल पार्टीको पूर्वजिल्ला अध्यक्ष पनि हुन् । कानुनको ज्ञाता रहेका उनको संविधान निर्माणमा महत्वपूर्ण भूमिका रहेको थियो । बागमती प्रदेश कमिटीका सदस्य रहेका उनले चितवन अध्यक्ष हुँदा एमाले पार्टी संगठनलाई निकै मजबुद र प्रभावशाली बनाएका थिए ।

पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन हुने यो अधिवेशनमा एक हजार १७४ मतदाता (प्रतिनिधि) सहभागी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>