चितवन विशेष

सांसद लामिछानेको सचिवालयले दियो चितवनमा ३० जनालाई निःशुल्क कानुनी परामर्श

Banner

निरुता विक

चितवन, असोज ६–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सचिवालयले दुई दिनसम्म निःशुल्क कानुनी परामर्श दिएको छ ।

सांसद लामिछानेको सचिवालयबाट रास्वपाको केन्द्रीय कानुन विभागका सल्लाहकार वरिष्ठ अधिवक्ता डा नारायण घिमिरेले ३० जनालाई निःशुल्क कानुनी परामर्श दिएका हुन् ।

भरतपुर महानगरपालिका–११ बसेनीमा पर्ने सचिवालयमा भएको परामर्श कार्यक्रममा ३० जनाले कानुनी परामर्श लिएका छन् । पार्टीका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालका अनुसार दुई दिने परामर्शमा धेरै जसो नागरिकको समस्या कानुनसँग सम्बन्धित रहेका छन् । उनले भने, ‘धेरैजसो नागरिकको समस्या कानुनसँग सम्बन्धित रहेका छन् । जग्गा लेनदेन, वैदेशिक रोजगारीमा ठगिएका, कतिपय अदालतमा मुद्दा चलिरहेका र फैसला भइसकेर न्याय नपाएका नागरिकहरु सचिवालयमा परामर्श लिन आएका छन् ।’

यस परामर्श कार्यक्रम नियमित सेवाअन्तर्गत नपर्ने उनले नारायणी अनलाइनलाई जानकारी दिए । उनले सम्भव भएसम्म महिनाको दुई पटक र सम्भव नभए महिनाको एक पटक परामर्श कार्यक्रम गर्ने बताएका छन् ।

आफूलाई परेका कानुनी समस्या र विभिन्न झमेला भोगेको नागरिकले सचिवालयमा सम्पर्क गर्न सक्ने अधिकृत बरालले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरेले नागरिकले आफ्नो निजी, कानुनी, प्रशासनिक समस्या झेलिरहेको र यसको उपचार के हुन्छ भन्ने विषयमा अन्यौलमा परिहेको भन्ने थाहा पाएपछि रास्वपाले परामर्श कार्यक्रम गरेको बताए । उनले भने, ‘नागरिको के समस्या हो ? गर्नुपर्ने उपचारको बाटो के हो ? कानुनी प्रक्रियामा के सुझाव दिन सकिन्छ त भनेर दुई दिने परामर्श कार्यक्रम गरिएको हो ।’

उनले धेरैजसो नागरिकलाई घटना भइसकेपछि कानुनी पक्रियामा कसरी जानी भन्ने कुरा नै थाहा नभएको बताए । उनले भने, ‘मलाई अन्याय पर्यो भनेर मात्र हुँदैन । अन्यायमा परेको विषयवस्तुको व्यहोरा के हो ? त्यसको कानुनी उपचार के छ ? कुन प्रक्रियाबाट जाँदा सहज हुन्छ ? यो कुरामा सजग सतर्क हुनुहोस् भनी उहाँहरुलाई सल्लाह सुझाव दिएका छौँ ।’ उनले आम चितवनबासीलाई आधारभूत कानुनी ज्ञानको बारेमा सचेतनामूलक कार्यक्रम चलाउनुपर्ने बताएका छन् । उनले स्थानीय सरकारले फरक फरक ढंगबाट आधारभूत कानुनी ज्ञानको बारेमा सचेतनामूलक कार्यक्रम गर्नुपर्ने सुझाव दिएका छन् ।

भरतपुर–१४ सुन्दर बस्ती घर भएकी पीडित हिमा विकले ६ महिना अगाडि १० धुर जग्गा बैँकमा राखेर बोलेरो किनिन् । उनको श्रीमान् वैदेशिक रोजगारीको लागि विदेश गए । बोलेरो चालक राजकुमार तमाङलाई चलाउन दिइन् । उक्त चालकले रातिको समयमाअवैध रुपमा काठ दाउरा चोरी गरी ल्याइरहेको अवस्थामा वन विभागले बोलेरो बरामद गर्यो । चालक भने फरार भए । उक्त बोलेरो वन विभागको नियन्त्रणमा छ । उनले भनिन्, ‘श्रीमान् साउदीमा उपचाररत हुनुहुन्छ । यहाँ म एक्लै छु । ६ महिना भइसक्यो । धेरै समस्या भएको छ । धेरै स्थानीय निकायहरुमा गएँ । मैलै न्याय पाइन ।’ उनले रवि लामिछाने सबैलाई सहयोग गर्नुभएको छ । मलाई नी सहयोग गर्नुहुन्छ की भन्ने ठूलो आशले परामर्श लिन आएको बताइन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>